Trending
फेवाताल किनारमा अव्यवस्थित रूपमा राखिएका पुराना र प्रयोगविहीन डुंगाले तालको सुन्दरता घटाएको जनगुनासो बढेपछि यसको व्यवस्थापन प्रक्रिया सुरु गरिएको छ।
फेवा डुंगा व्यवसायी संगठनको पहलमा ताल किनार र तालभित्र डुबेका डुंगालाई डुंगाधनी र चालकको पहलमा निकालेर व्यवस्थापन गर्ने कार्य सुरु गरिएको संगठनका अध्यक्ष बलराम गिरीले जानकारी दिनुभयो।
उहाँले फेवाताल धेरैको रोजीरोटीसँग जोडिएको र प्रमुख पर्यटकीयस्थल भएकाले पनि तालको सौन्दर्यमा ध्यान दिन आवश्यक रहेको बताउनुभयो। उहाँका अनुसार अहिले पुराना डुंगा व्यवस्थापनका लागि दैनिक १०र१२ जना डुंगा चालक र डुंगाधनीको सक्रियता छ। हालसम्म १५ डुंगा ताल भित्रबाट बाहिर निकाल्ने कार्य भएको छ।
उहाँले तालमा प्लास्टिकका बोतल, चाउचाउका खोल लगायतका सामग्री नफाल्न र त्यसको व्यवस्थापनका लागि पनि काम भएको जानकारी दिनुभयो। योसँगै ताल पारी रानीवनको फेदमा विभिन्न फलफूलसहित अन्य बोटबिरुवा लगाएर ताल संरक्षण र सुन्दरतामा संगठनले काम गरेको पनि उहाँको भनाइ छ।
स्थानीय डुंगा चालक एवम् संगठनका पूर्वअध्यक्ष बुद्धिबहादुर नेपालीका अनुसार फेवातालमा ७६७ डुंगा सञ्चालित छन्। आठ घाटबाट सञ्चालित डुंगामध्ये बाराही घाटबाट तालबाराही मन्दिरको दर्शन गर्न जाने भएकाले यस घाटमा दैनिक झन्डै दुई सय बढी डुंगा मन्दिर पुग्ने गर्दछन्।
पोखरा महानगरपालिका-६ का वडाध्यक्ष विष्णुबहादुर भट्टराईले फेवाताल किनारमा देखिएका पुराना डुंगा व्यवस्थापनका लागि सम्बन्धित व्यवसायीबाट व्यवस्थापन सुरु भएको जानकारी दिनुभयो। व्यवस्थापनमा समस्या आएमा वडाले पनि आवश्यक सहयोग र समन्वय गर्ने उहाँको भनाइ छ।
अध्यक्ष भट्टराईले फेवातालमा आन्तरिक तथा बाह्य पर्यटकको मुख्य आकर्षक गन्तव्य भएकाले यसको संरक्षण र सुन्दरतामा वडाले विशेष चासो दिएर सरसफाइमा ध्यान दिएको तथा योसँगै ताल छेउछाउका व्यवसायीले पनि यस विषयमा सतर्क हुनुपर्ने बताउनुभयो।
उक्त मुख्य स्थानमा सरसफाइका लागि दुई जना राखेर नियमित सफाइ कार्य गरेको र ‘हाम्रो सफा वैदाम’ अभियानमार्फत पनि ताल सरसफाइ तथा संरक्षणको पहल गरिएको उहाँको भनाइ छ।