Trending
बिश्वमा जलवायु परिवर्तनको असर बढ्दै जाँदा बिश्व समुदायले चिन्ता व्यक्त गरेको छ । आदिवासी, जनजाति, सामुदायिक वन र स्थानीय समुदायलाई जलवायु परिवर्तनबाट हुने प्रभाव, चुनौति, पूर्वतयारी, भूमिका र सिपबारे चेतना अभिबृद्धि गर्ने उद्धेश्यले ग्लोबल डिजिएमको अन्तराष्ट्रिय कार्यान्वयन समिति र कन्र्जभेसन इन्टरनेशनल वासिङ्टन डिसीले गरेको कार्यक्रममा पछिल्लो समयमा जलवायु परिवर्तनको असर बिश्व व्यापी रुपमा देखिएको भन्दै चिन्ता व्यक्त गरेका हुन् ।
ग्लोबल डिजिएम मेक्सीकोका मेनियल अल्ड्रेटले पर्यावरण र जलवायु परिवर्तनको प्रभाव नेपालमा पनि पर्न थालेको भन्दै सामुहिक सहकार्यबाट चुनौतिको सामना गर्नु पर्नेमा जोड दिनुभयो । उहाँले पृथ्वीको तापमान बढ्नु चुनौतिको रुपमा रहेको भन्दै जलवायु परिवर्तनबाट निम्तिन सक्ने प्राकृतिक बिपत्तीबारे जनचेतना र पूर्वतयारी आवश्यक रहेकोमा जोड दिनुभयो ।
डिजिएम नेपाल कार्यान्वयन समितिका अध्यक्ष डा.अर्जुन कार्कीले जलवायु परिर्वतनको प्रभाव नेपाल जस्तो सानो देशमा बढी परेको भन्दै जलवायु परिर्वतन न्यूनिकरणकालागि आदिवासी, जनजाति, महिला र स्थानीय समुदायको भूमिका महत्वपूर्ण हुनेमा जोड दिनुभयो । उहाँले नेपाल जस्तो सानो देशले वातावरणमा उल्लेखनिय रुपमा असर नपारे पनि त्यसको प्रभावको दृष्टिकोणले भागिदार बढी हुनु परेको दुःखेसो गर्नुभयो ।
समुन्द्रको सतह बढ्दै जानु र हिमाल ढुंगामा परिणत हुदै जाँदा चुनौति थपिएको उहाँको भनाई थियो । बिश्व समुदायबाट नेपालले धेरै सिक्ने अवसर प्राप्त गरेको भन्दै नेपालको सामुदायिक बनको राम्रो व्यवस्थापनबाट अन्तराष्ट्रिय जगतले पनि सिकी रहेको बताउनुभयो । आदिवासी जनजाति र स्थानीय समुदायकालागि समर्पित अनुदान कार्यक्रमका बिज्ञ डा. सुरेश तामाङले जलवायु परिवर्तनकै कारण अहिले नेपालमा मौसम परिर्वतनको असर देखिएको भन्दै बिश्व समुदायसंग हातेमालो गरेर अगाडी बढ्नु पर्ने बताउनुभयो ।
बिश्व बैंकको सहयोगमा भएको कार्यक्रममा ब्राजिल, घाना, इण्डोनेसिया, पेरु, मेक्सीको, बुर्कीनाफासो, कोटे डि आवर, मोजाम्बिक, पोर्चुगिजलायतदेशका जलवायु बिज्ञहरुको सहभागिता थियो । आदिवासी जनजाति महासंघ, सामुदायिक बनका प्रतिनिधि, तामाङ, गुरुङ, राई ,लिम्बु, सुनुवारलगायत १४ वटा भन्दा बढी जनजाति संघ संस्थाको सहभागिता रहेको कार्यक्रमा समुदायले आ–आफ्ना संस्कृतिक नृत्य, परम्परा र संस्कृति प्रस्तुत गरेका थिए ।
पाँच दिनसम्म चल्ने कार्यक्रममा महिला नेतृत्व, बिकासबारे अवधारणा, क्षमता अभिवृद्धि र भूमिकाका बारेमा गहन छलफल हुने र नेपालको जलवायु न्यूनिकरण गर्न थपिदै गएका चुनौति चिर्न सम्मेलनले ठोस निर्णय लिने छ ।