Trending
नेत्रज्योति संघ बेनी र रेडक्रस सोसाइटीले मालिका गाउँपालिकाको केन्द्र दरबाङमा सञ्चालन गरेको निःशुल्क आँखा उपचार शिविरबाट ८२ जनाले दृष्टि पाएका छन्।
४ दिनसम्म चलेको निःशुल्क आँखा उपचार शिविर बुधबार सकिएको छ। हिमालयन आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा नेपाल नेत्रज्योति संघ म्याग्दीले सञ्चालन गरेको शिविरमा ८२ जनाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको नेत्रज्योति संघका अध्यक्ष अमर बानियाँले जानकारी दिए।
स्थानीय तहसँग समन्वय गरेर वडास्तरमा सञ्चालन गरिएको शिविरमा २ हजार २ सयको नेत्र परीक्षण गरिएको थियो। ‘गाउँमा पहिचान भएका मोतियाबिन्दुका बिरामीलाई पोखराबाट चिकित्सक ल्याएर बेनीमा निःशुल्क शल्यक्रियाको व्यवस्था मिलाएका हौँ,’ उनले भने।
रघुगंगा गाउँपालिकाको पाखापानी, मंगलाको कुहुँ, बेनी नगरपालिकाको डाँडाखेत, अन्नपूर्णको राम्चे, हिस्तान र शिखमा आँखा उपचार शिविर आयोजना गरेर मोतियाबिन्दुका बिरामी पहिचान गरिएको थियो।
हिमालयन आँखा अस्पताल पोखराका डा अञ्जु गुरुङको नेतृत्वमा शिविरका संयोजक सुवास नेपाल, अस्पतालका मीना राई, साधना मजाकोटी, गरिमा लौडारीलगायत स्वास्थ्यकर्मीले उपचार गरेका थिए।
शिविरमा आएका बेनी नगरपालिका–९ घतानका डिलबहादुर विकले दुवै आँखा देख्न छाडेको एक वर्ष भएको बताए। बेनीमा निःशुल्क आँखा उपचार शिविरमा ७७ वर्षीय विकको दुवै आँखाको मोतियाबिन्दुको शल्यक्रिया भएको छ।
‘आँखा देख्न नसक्दा घरबाट निस्कन सकेको थिइनँ, शल्यक्रियापछि दुवै आँखाले देख्ने भएँ। अब हिँडडुल गर्न तथा आफैँ खाना पकाएर खान सक्छु,’ उनले भने।
बेनी नगरपालिका–५ की ७० वर्षीया पार्वती बानियाँले देख्न छाडेको ३ वर्ष भए पनि मोतियाबिन्दुको शल्यक्रिया गरेकी थिइनन्।
‘पोखरा जाने समय र पैसा नहुँदा मोतियाबिन्दुको शल्यक्रिया गर्न सकेकी थिइनँ,’ उनले भनिन्, ‘बेनीमा मोतियाबिन्दुको शिविर सञ्चालन भएपछि गुमेको ज्योति सस्तोमा शल्यक्रिया गरेर फर्कियो।’
यसअघि गत असोजमा १९ जनाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको थियो। जिल्लामै शिविर सञ्चालन हुँदा शल्यक्रिया गर्न पोखरा जाने झन्झट अन्त्य भएको संघका सचिव राजेन्द्र श्रेष्ठले बताए।
‘एकजनाको आँखाको शल्यक्रिया गर्न २० हजार रूपैयाँ र ३ दिन लाग्छ। शिविरले आर्थिक अवस्था कमजोर भएकालाई राहत दिएको छ,’ उनले भने।
धुँवा, धुलो, आँखाको सरसफाइ र चेतनाको कमीले मोतियाबिन्दु र जलबिन्दु हुने भएकाले धुँवा, धुलोबाट आँखालाई बचाइ सरसफाइमा ध्यान दिनुपर्ने शिविरमा सहभागी चिकित्सकको सुझाव छ।