Trending
कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हिरापुर फाँटमा स्थानान्तरण गरिएका कृष्णसारको सङ्ख्या बढ्दै गएको छ । वि.सं २०६९ मा ललितपुरको सदर चिडियाखाना र वि.सं २०७२ मा बर्दिया खैरापुरबाट ४२ कृष्णसार यहाँ स्थानान्तरण गरिएको थियो । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयका अनुसार हीरापुरमा कृष्णसारको सङ्ख्या बर्सेनि उल्लेख्य मात्रामा वृद्धि भइरहेको छ।
निकुञ्जका सहायक संरक्षण अधिकृत मनोज ऐरले गत शुक्रबार गरिएको गणनाअनुसार कृष्णसारको सङ्ख्या बढेर दुई सय ५१ पुगेको जनाए । पछिल्लो गणनाअनुसार भाले वयस्क ६५ र पोथी वयस्क ८७ वटा कृष्णसार रहेका छन् ।
पूर्ण वयस्क नभएका पोथीको सङ्ख्या २३ वटा रहेको र पूर्ण वयस्क नभएका भाले कृष्णसारको सङ्ख्या २४ वटा रहेको जनाइएको छ । साथै ५२ वटा पाठापाठी रहेका छन् । सहायक संरक्षण अधिकृत ऐरले गत फागुनमा गणना गर्दा कृष्णसारको सङ्ख्या दुई सय ३७ वटा रहेको र चैत पहिलो साता गरिएको गणनाअनुसार सङ्ख्या बढेर दुई सय ५१ पुगेको बताएका छन् ।
उहाँले हिरापुर फाँटामा कृष्णसारका लागि पर्याप्त वासस्थान रहेको बताउनुभयो । “सन् १९६० मा अन्तिम पटक हिरापुर फाँटामा कृष्णसार देखिएपछि अन्यत्रबाट यहाँ स्थानान्तरण गरी यहाँ कृष्णसार ल्याइएको हो,” उहाँले भन्नुभयो, “सात दशमलव ७५ हेक्टर क्षेत्रफलबाट सुरुआत गरेको कृष्णसारको वासस्थान अहिले करिब ५९ वर्ग किलोमिटर पुगेको छ ।”
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा कृष्णसारको सङ्ख्या बढ्न थालेपछि निकुञ्ज भित्रैकै अन्य स्थानमा पनि स्थानान्तरण गर्ने विषयमा अध्ययन भइरहेको छ । “यहाँ कृष्णसार बढ्दै छन्, यहाँबाट अन्यत्र स्थानान्तरणका लागि पनि छलफल भइरहेको छ”, उहाँले भन्नुभयो, “निकुञ्जभित्रै अन्य स्थानमा स्थानान्तरणका लागि पनि छलफल चलिरहेको छ ।” केही वर्षयता उत्साहजनक ढङ्गले कृष्णसारको सङ्ख्या वृद्धि हुन थालेपछि कृष्णसार व्यवस्थापनका लागि छलफल भइरहेको हो ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज बाह्रसिङ्गाको प्रमुख वासस्थान हो । गत वर्षको राष्ट्रिय गणनाअनुसार यहाँ बाघको सङ्ख्यामा पनि उल्लेख्य वृद्धि भएको छ । गत वर्ष गरिएको राष्ट्रिय गणनामा यहाँ बाघको सङ्ख्या ३६ पुगेको छ ।रासस