Trending
मायाखोला हाइड्रोपावर कम्पनीको १४.९ मेगावाट बिजुली राष्ट्रिय प्रसारणलाइनमा जोडिएको छ । संखुवासभाको मादी र धर्मदेवी नगरपालिकाको सीमामा बग्ने मायाखोलाबाट उत्पादित बिजुली कोशी करिडोर (इनरुवा–वसन्तपुर) प्रसारण लाइनमा जोडिएको हो । कोशी करिडोर भारतीय एक्जिम बैंकको सहुलियतपूर्ण ऋणमा निर्माण भएको विद्युत् प्रसारण लाइन हो ।
गत फागुन ४ गते सबस्टेसन चार्ज गरी उत्पादित विजुली राष्ट्रिय प्रसारणमा जोडिएको प्रोजेक्ट कोअर्डिनेटर भरत थापाले बताउनुभयो । ‘उत्पादित बिजुली परीक्षणका लागि राष्ट्रिय प्रसारण लाइनमा पठाएका छौं’ थापाले भन्नुभयो, ‘विद्युत् प्राधिकरणको प्राविधिक टोलीले अनुमति दिएपछि व्यवसायिक उत्पादन थाल्नेछौं ।’ यो आयोजना छिटो सम्पन्न गर्नेगरी सरकारले प्रभावकारी ठानेका ६ वटा जलविद्युत् आयोजनामध्येको एक हो ।
सरकारले मायाखोला सहित ८२ मेगावाटको तल्लो सोलुखोला, ५० मेगावाटको मेवा खोला, २४.१ मेगावाटको खारेखोला, २३.५ मेगावाटको सोलुखोला र १६ मेगावाटको सिंगटी खोलालाई ‘सुपर सिक्स’ आयोजनाको नाम दिएर प्राथमिकताका साथ निर्माण सुरु गर्न निजी क्षेत्रलाई अनुमति दिएको थियो ।
निर्माण स्थलका बाँध, सुरुङ, पेनस्टक र पावर हाउसका उपकरणको परीक्षण सफल भएपछि उत्पादित बिजुली कोशी करिडोर २ सय २० केभीए प्रसारण लाइनमा पठाइएको आयोजना कार्यालयले जनाएको छ । कोशी करिडोर प्रसारण लाइनको काम सम्पन्न हुने चरणमा रहेको र केही सबस्टेसन चार्ज भएकाले निजी क्षेत्रबाट उत्पादित बिजुलीलाई अब प्रसारण लाइनको कुनै समस्या नरहेको कोशी करिडोर प्रसारण लाइन आयोजनाका प्रमुख शुक्रराज देवकोटाले जानकारी दिनुभयो ।
सरकारले अध्ययन पूरा गरी निजी क्षेत्रलाई निर्माण गर्न अनुमति दिएको मायाखोला आयोजनाको २०७० सालमा पीपीए भएको थियो । २ अर्ब ५० करोड रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको यो आयोजनाको बिजुली पावरहाउसबाट चैनपुर नगरपालिका ८ मा रहेको बानेश्वर सबस्टेसनमा लगेर जोडिएको छ । आयोजना सार्वजनिक निजी साझेदारीको मोडेलमा निर्माण गरिएको हो । रन अफ रिभर बेसमा निर्माण भएको यो आयोजनाको बिजुली हिउँदमा प्रतियुनिट ४ रुपैयाँ ८० पैसा र बर्खायाममा ८ रुपैयाँ ४० पैसाका दरले विद्युत् प्राधिकरणले खरिद सम्झौता गरेको छ ।
विद्युत् उत्पादनका लागि ७.४ मेगावाट क्षमताका २ वटा जेनेरेटर प्रयोग गरिएको छ । सुरुमा ५ मेगावटको आयोजना भनिएपनि पछि सो कम्पनीले अपग्रेड गरी १४ दशमलव ९ मेगावाट क्षमताको बनाएको थियो । आयोजनामा प्रवर्द्धकको ७५ करोड रुपैयाँ (३० प्रतिशत) र बैंकको ऋणबाट १ अर्ब ७५ करोड रुपैयाँ (७० प्रतिशत) जुटाइएको हो ।