राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी प्रसारण कोरिडोरअन्तर्गत कुश्मा–बुटवल खण्डको फलेवासमा भइरहेको अवरोध हट्ने भएको छ । कालीगण्डकी कोरिडोर २२० केभी प्रसारण लाइन आयोजना निर्माणमा तीन वर्षदेखि फलेवास नगरपालिका–६ मा स्थानीयले अवरोध गरेपछि काम ठप्प बनेको थियो ।

फलेवास–६ देवस्थानस्थित विद्यालय र रङ्गशालामा क्षति पुग्ने भन्दै स्थानीयले प्रसारण लाइनको रुट सार्न माग गर्दै निर्माणमा अवरोध गरेका थिए । स्थानीयको अवरोधका कारण फलेवासमा प्रसारण लाइनका चार टावर निर्माण हुन सकेका छैनन् ।

लामो समयसम्म काम अघि बढ्न नसकेपछि नेपाल विद्युत् प्राधिकरणको टोलीले पहल थालेको हो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसहित प्राधिकरण आयोजना व्यवस्थापन निर्देशनालयका उपकार्यकारी निर्देशक ताराप्रसाद प्रधान, आयोजना प्रमुख चन्दन घोषसहितको टोलीले स्थलगत निरीक्षण गरी काम अघि बढाउन पहल गरेको हो । टोलीले स्थानीयसँग छलफल गरेको थियो ।

कालीगण्डकी र यसका सहायक खोलामा निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत् प्रवाहका लागि यो लाइन महत्त्वपूर्ण रहेकाले निर्माणमा अवरोध नगरिदिन टोलीले आग्रह गरेको छ । लाइन अभावमा जलविद्युत् आयोजनाको विद्युत् मुख्यरुपमा वर्षायाममा प्रवाह गर्न नसकिएकाले यसबाट मुलुकलाई ठूलो क्षति भइरहेकाले निर्माणमा सहयोग गर्न कार्यकारी निर्देशक कुलमान घिसिङले अनुरोध गर्नुभएको छ ।

प्रसारण लाइनको टावर सार्न सम्भव भए/नभएको विषयमा प्राविधिक टोलीले चार/पाँच दिनभित्रमा सर्वेक्षण सम्पन्न गर्ने सहमति भएको छ । “प्रसारण लाइनमुनि विद्यालय पर्छ भन्ने स्थानीयको कुरा थियो । तर स्थलगत निरीक्षणका क्रममा विद्यालय नपर्ने देखिएको छ”, घिसिङले भन्नुभयो– “सर्वेक्षण सम्पन्न भएपछि विद्यालयलाई प्राथमिकतामा राखी प्राविधिकरुपमा सम्भव भएसम्म टावरलाई रङ्गशालाको डिलतर्फ च्यापेर टावर निर्माण गर्ने सहमति भएको छ ।”

विद्यालयलाई जोगाएर प्राविधिकरुपमा सम्भव भएसम्म रङ्गशालालाई पनि कम असर पर्ने गरी टावर निर्माण गरिने घिसिङको भनाइ छ । कालीगण्डकी र यसका सहायक नदीमा निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत् प्रवाहका लागि नेपाल सरकार, प्राधिकरणको लगानी र एसियाली विकास बैङ्कको सहुलियतपूर्ण ऋणमा कालीगण्डकी कोरिडोर प्रसारण लाइनको निर्माण सुरु गरिएको हो ।

आयोजनाअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाबाट पर्वतको कुश्मा नगरपालिका–२ खुर्कोटसम्मको ३९ दशमलव छ किलोमिटर खण्ड निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेको छ । खुर्कोटमा २२०/१३२ केभी र दानामा २२०/१३२/३३ केभी सवस्टेसन निर्माण गरिएको छ ।

कोरिडोरको दोस्रो खण्डअन्तर्गत कुश्माबाट नवलपरासीको सुनवल नगरपालिका–१३ भुमहीस्थित (नयाँ बुटवल सवस्टेसन) सम्मको ८८ किलोमिटर प्रसारण लाइन निर्माण अन्तिम चरणमा छ । यस खण्डमा पर्ने दुई सय ३५ टावरमध्ये फलेवासमा पर्ने चारवटाको निर्माण बाँकी छ । प्रसारण लाइन निर्माण असारभित्रमा सम्पन्न गर्ने गरी काम भइरहेको आयोजना प्रमुख चन्दन घोषले जानकारी दिनुभयो । रासस

बुधबार, २४ फाल्गुन, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो