file photo

कैलालीको चुरे गाउँपलिका–५ निङ्लाडी सुन्दर क्षेत्र हो । यहाँको हरियाली जङ्गलबीचमा चारैतिर घेराबार गरी माथिबाट नीलो र सेतो तारजालीले ढाकिएका फार्मभित्र चिरबिर–चिरबिर गर्दै धुलोमाटो खेलिरहेका कालिज हेर्दै आकर्षक देखिन्छन् । तराई क्षेत्रबाट चुरे खानीडाँडा पुग्ने धेरैजसोले कालिज फार्म अवलोकन गर्छन् ।

परिवारसहित भीमदत्त राजमार्गको छेउमै रहेको निङ्लाडीमा रहेको जङ्गलमा कालिजपालन गरेर बसेका कैलाली टीकापुरका ३२ वर्षीय विकास न्यौपाने फार्ममै व्यस्त हुन्छन् । उनी कालिजमात्र होइन, कुखुरा, लौकट र टर्की पाल्छन् । कालिजपालन गर्ने उद्देश्यले फार्ममा पुग्नेलाई सल्लाह दिन्छन् ।

कालिजपालनबाट घाटा नहुने उनको अनुभव छ । ‘कालिजपालनमा धैर्य चाहिन्छ, घाटा हुँदैन’, उहाँले भन्नुभयो, ‘मैलेमात्र महिनाको डेढदेखि दुई लाख आम्दानी गर्छु ।’ पछिल्लो समय ग्राहकको माग धान्न नसकिरहेको उहाँको भनाइ छ ।

सुप एकीकृत कृषि तथा पशुपक्षी फार्म सञ्चालन गरेका उनले सुदूरपश्चिममै कृषि व्यवसायको सम्भावना देखेर काठमाडौंबाट यता आएको सुनाए । सुरुमा ३० लाख उहाँको फार्ममा लगानी भएको छ । अहिले लगानी ६० लाख पुग्यो । फार्ममा आफ्नो परिवार, भाइ र एक अर्का कामदारसहित चार जना व्यस्त हुन्छन् । ‘दानापानी खुवाउनेदेखि रेखदेखसम्म २४ घण्टा खटिन्छौँ’, विकासले भने, ‘त्यसको प्रतिफल राम्रै छ ।’

सो फार्ममा कालिजको माग देशभर र भारतबाट पनि आउँछ । ‘नेपालमा मात्र होइन भारतको केरालासमेतबाट माग आउँछ तर पु¥याउन सकेका छैनौँ’, उहाँले भन्नुभयो ।

कालिज चर्न कुखुरालाई भन्दा फराकिलो ठाउँ चाहिन्छ । त्यसैअनुसार यहाँ फराकिलो जङ्गल छ । कालिजलाई १८ देखि २२ डिग्री तापक्रम उपयुक्त मानिन्छ । आहारामा हरियो घाँस र कुखुरालाई दिने दाना दिइन्छ ।

दश वर्षको सम्झौतामा वार्षिक एक लाख २५ हजार भाडा तिर्ने गरी ३० रोपनी जग्गा भाडामा लिएर सो व्यवसाय सुरु गरिएको हो । साढे तीन सय कालिजका चल्लाबाट सुरु भएकोमा अहिले भाले–पोथी गरी तीन हजार पुगेको छ । बिक्री पछि अहिले छ सयमात्र कालिज फार्ममा छन् । सो फार्मबाट कालिज, कुखुरा, टर्की र लौकाटको ‘होम डेलिभरी’ हुन्छ ।

सुरुमा भिरालो जमिनमा बस्ने टहरादेखि तार जालीसम्म गर्दा सो फार्ममा धेरै लगानी भएको थियो । ‘फार्म हेर्नमात्र धेरै आउँछन्’, उहाँले भन्नुभयो, ‘ग्राहकका लागि त्यहीँ बनाएर खान मिल्ने व्यवस्था गरेका छौँ ।’

फार्ममा काम गर्ने कामदारसमेत नभेटिएको उहाँको गुनासो छ । ‘कालिज, खुकुरा बिरामी भए आफै गएर औषधि ल्याउँछु । चार वर्ष अनुभव भयो’, उहाँले भन्नुभयो, ‘डेलिभरिदेखि चल्लाको रेखदेख गर्न आफैँ खटिनुपर्छ ।’ उहाँले कुखुराका लागि छुट्टै फार्म निर्माण गरेका छन् । फार्ममा एक हजार गिरिराज कुखुरा छ । सुरक्षा गर्न चारैतिर करेन्ट आपूर्ति, सिसी क्यामेरा र दुईवटा कुकुर राखिएको छ ।

कालिजपालन व्यवसाय नेपालमा नयाँ हो । यहाँ त्यसका अण्डा र चल्ला नेपालको सबै ठाउँमा पाइँदैन । विकासले ह्याचरिङसमेतको व्यवस्था गरेका छन् । अन्य पक्षीभन्दा कालिजको मूल्य महँगो पर्छ । नेपालमा जहाँ पनि तौलेर नभई प्रतिगोटाका हिसाबले बिक्री गर्दै आएकाले उनले पनि गोटाको हिसाबले मूल्य तोकेर बिक्री गर्ने गरेको बताउनुभयो । उहाँका अनुसार तीन सय ५० देखि तीन हजार पाँच सयसम्ममा कालिज बिक्री हुन्छ । ‘दानापानी गरेर एउटा चल्लाकै लागत एक हजारसम्म पर्छ । छ महिना दानापानी खुवाएर हुर्काएको कालिजलाई रु तीन हजारसम्ममा बिक्री गछौँ’, व्यवसायी विकासले भन्नुभयो ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु ऐन, २०२९ अनुसार डाँफे, मुनाल, कालिजलगायतका वनजङ्गलमा पाइने पक्षी पाल्न तथा सिकार गर्न प्रतिबन्ध गरिएको छ । विदेशबाट आयात गरिएको ‘रिङनेक’ जातको कालिज पाल्न तथा सिकार गर्न पाइने भएकाले नेपालमा कालिज पाल्नेको लहर चलेको व्यवसायीको भनाइ छ ।

नेपाल सरकारले कालिजपालनलाई अनुमति दिएको लामो समय भइसकेको छैन । कालिजको मासु स्वादिष्ट र पोषणयुक्त हुने भएकाले माग हेरेर कालिजको सङ्ख्या बढाउने उहाँको लक्ष्य छ । कालिज बिक्रीका लागि बजारको कुनै अभाव नरहेको र सर्वसाधारणको भान्छामा सहजै पु¥याउने योजना उहाँको छ । ‘ठूला होटलदेखि सर्वसाधारणको भान्सामा कालिजको मासुको माग हुन्छ, उत्पादन हुनुप¥यो मासुको बजारको समस्या छैन’, उहाँले भने । कालिज छ महिनादेखि मासुका लागि तयार हुन्छ । भाले कालिजको तौल औसतमा डेढ किलोग्रामसम्म पुग्छ । पोथी भने नौ सय ग्रामदेखि एक किलोसम्म तौलको हुन्छ ।

यसले माघदेखि असारसम्म अण्डा दिने र वर्षको एक मौसममा एउटा पोथीले ५० देखि ५५ वटा अण्डा पार्छ । तीस हजार अण्डा ह्याचरिङ गर्दा २० हजारसम्म चल्ला हुर्काउन सकिए पनि चल्लाबाट राम्रो आम्दानी लिन सकिने उहाँको विश्वास छ । सानो बच्चामै एक–दुईवटा खोप दिएपछि कुनै रोग कालिजमा देखिएको छैन । विकासले कालिजमा अन्य पक्षीजस्तो रोग नदेखिने गरेको बताउनुभयो । कालिजका लागि पहाडी क्षेत्रको भू–भाग र हावापानी राम्रो हुन्छ ।

‘कुखुराभन्दा कालिजलाई प्रोटिनको मात्रा धेरै भएको दाना चाहिन्छ, घाँस पर्याप्त भए ५० प्रतिशत दाना र ५० प्रतिशत घाँस खुवाउन सकिन्छ, त्यो भयो भने लागत पनि घट्न जान्छ’, उहाँले भन्नुभयो । फार्ममा पालिएका कालिज एक–अर्कालाई ठुङ्ने, लड्ने भएकाले खेल्न र उड्न मिलोस् भनेर अग्लो गरी तार र जाली लगाएर घेरिएको छ । विकासले राजमार्गदेखि कालिज फार्मसम्म पुग्ने सडक नहुँदा सबैभन्दा बढी समस्या हुने गरेको सुनाए । विकासले मात्र होइन खानीडाँडामा कर्मचारीदेखि नेतासम्मले कालिजपालन गरेका छन् । रासस

शनिबार, २० फाल्गुन, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो