Trending
साथ साथ नामक सामाजिक संस्थाले सडकसँग आबद्ध बालबालिकाको शैक्षिक स्तर उकास्न मोबाइल स्कुल सञ्चालनमा ल्याउने भएको छ। संस्थाले आफ्नो २५ औँ वार्षिक उत्सवको अवसरमा मोबाइल स्कुल सञ्चालन गर्न लागेको साथ साथका कार्यकारी निर्देशक विश्वराज बज्राचार्यले बताउनुभयो।
कार्यकारी निर्देशक बज्राचार्यका अनुसार यो मोबाइल स्कुलमा अध्ययनबाट वञ्चित बालबालिका, कारणवश स्कुल छोडेर बसेका बालबालिकाहरूको हितका लागि अनौपचारिक शिक्षा प्रदान गर्ने शैक्षिक उपकरण भएको जानकारी दिनुभयो।
यसका साथै मोबाइल स्कुलले बालबालिकाको माझमा गुणस्तरीय शिक्षामा पहुँच बनाउन प्रोत्साहन गर्ने र सम्भावनाको प्रवर्द्धन गर्ने लक्ष्य लिएको उहाँले बताउनुभयो।
‘मोबाइल स्कुलमा धेरै तरिकाबाट शिक्षा प्रदान गरिन्छ, खेलकुद, कला र सीप गतिविधि, बाल पुस्तकालय, बालबालिकालाई विद्यालयमा उपयुक्त तहसम्म भर्ना गराउन बहुस्तर शिक्षण विधिहरू प्रयोग गरिन्छ। बालबालिकाहरूको समग्र विकासलाई प्रवर्द्धन गर्न, बालबालिकाको आत्मबल बढाउने, जीवन उपयोगी सीप शिक्षाको नियमित सूत्रहरू प्रदान गरिन्छ’‚ उहाँले भन्नुभयो।
साथ साथका कार्यकारी निर्देशक बज्राचार्यका अनुसार सडकसँग आबद्ध बालबालिका, विद्यालय बाहिर रहेका बालबालिका, आप्रवासी र गैरआप्रवासी सबैलाई उनीहरूकै स्थानमा गई शिक्षासम्मको पहुँचमा पुर्याउन यो ल्याइएको हो।
बालबालिकालाई शिक्षाको महत्त्व र त्यसको उपयोगिताबारे जानकारी गराउँदै शैक्षिक रूपमा बालबालिकाको क्षमताको विकास गर्नु, बालबालिका तथा उनीहरूका अभिभावकहरूसँग सम्बन्ध विस्तार गर्दै बालबालिकालाई विद्यालय जान उत्प्रेरित गर्न यो मोबाइल स्कुल सञ्चालन ल्याएको उहाँले बताउनुभयो।
नेपालमा सडक बालबालिकाको संख्या ५ हजार रहेको छ। सामाजिक तथा आर्थिक कारणले सडकसम्म आइपुग्ने बालबालिकाहरू नैसर्गिक अधिकारबाट वञ्चित भएको उहाँले बताउनुभयो।