Trending
गत साउनदेखि पुस मशान्तसम्म नेपालबाट ५ लाख ७८ हजार ८४१ किलो छुर्पी अमेरिकामा निर्यात भएको छ । यसको मूल्य एक अर्ब १४ करोड रुपैयाँ रहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।
नेपालको छुर्पीको बजार यतिमा मात्रै सीमित छैन । मन्त्रालयका अनुसार साउनदेखि पुससम्म नेपालले एक अर्ब ३४ करोड ७१ लाख ७७ हजार रुपैयाँको छुर्पी निर्यात गरेको छ । नेपाली व्यवसायीले क्यानडा, जापान, बेलायत, हङकङ, सिंगापुर, कोरिया, ब्राजिलसहित २४ देशमा छुर्पी बिक्री गरेका छन् ।
तरकारीदेखि खाद्यान्नसम्म आयात गरेर खाने नेपालले ५ वर्षअघिसम्म ८५ करोड हाराहारीको छर्पी बेच्थ्यो । अहिले ६ महिनामै डेढ अर्ब भन्दा बढीको छुर्पी बिक्री गर्न सक्नु राम्रो भएको ब्यवसायीहरु बताउँछन् । एउटै मुलुकमा ६ महिनामै एक अर्ब हाराहारीको छुर्पी निर्यात गर्न सक्ने अवस्थामा पुगेको छ ।
आर्थिक वर्ष २०७४/७५ मा नेपालले १६ वटा मुलुकमा ८५ करोड ७९ लाख ३२ हजार रुपैयाँको छुर्पी निर्यात गरेको थियो । त्यतिबेला अमेरिकामा ७७ करोड ७१ लाख रुपैयाँको छुर्पी निर्यात भएको थियो । त्यसपछिको हरेक वर्ष बढ्दो क्रममा रहेको छुर्पीको निर्यात गत वर्ष २ अर्ब ९१ करोड १९ लाख रुपैयाँको पुग्यो ।