Trending
सरकारले दूधको मूल्य बढाउने तयारी गरेको छ । राष्ट्रिय दुग्ध विकास बोर्डले महँगीलाई कारण देखाउँदै दूधको मूल्य प्रतिलिटर १० रुपैयाँले बढाउने प्रस्ताव कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा गरेसँगै सरकारले मूल्य बढाउने तयारी गरेको हो ।
गत २ फाुगनमा बोर्डले मन्त्रालयलाई मूल्य विश्लेषण प्रपितवेदन बुझाएको थियो । जसअनुसार लिटरमा १४ रुपैयाँसम्म लागत महँगिएको भए पनि १० रुपैयाँ मात्रै बढाउन सिफारिस गरिएको राष्ट्रिय दुग्ध विकास बोर्डले जनाएको छ । ‘ब्याजदर, इन्धनमा भएको मूल्यवृद्धि र दाना चोकरको मूल्यका कारण किसानहरु नोक्सानीमा गएको देखियो,’ बोर्डका निमित्त कार्यकारी निर्देशक बालक चौधरीले भन्नुभयो, ‘किसान बचाउनका लागि १० रुपैयाँसम्म मूल्य बढाउनु पर्ने देखियो ।’
चौधरीका अनुसार किसानको दुग्ध उत्पादन लागतबारे बोर्डले सातै प्रदेशमा अध्ययन गरेको थियो । जसअनुसार मूल्य बढाउनै पर्ने देखिएको उहाँले बताउनुभयो ।
बोर्डले गत २ फागुनमा मूल्य बढाउनेबारेको अध्ययन प्रतिवेदन मन्त्रालयका सचिवलाई बुझाएको थियो । मूल्य बढ्न प्रतिवेदनबारे मन्त्रालयले थप छलफल गरेर मन्त्रिपरिषद्मा मूल्य सिफारिस गर्नेछ । सरकारले मूल्य बढाउनेबारे निर्णय लिनु पर्छ ।
तर, कृषि मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलले दूधको मूल्यबारे जानकारी नभएको बताउनुभयो । ‘मैले पनि बाहिरबाट कुरा सुनें, प्रक्रियामै रहेको कुरा थाहा हुन्न, निर्णय भएर आएपछि मात्रै जानकारी हुन्छ ।’
गत वर्ष २८ माघमा पनि सरकारले सबै प्रकारका दूधको उपभोक्ता मूल्य लिटरमा ९ देखि १४ रुपैयाँसम्मले बढाएको थियो ।