तोरीको दाना झार्न छिटो र सजिलो भएपछि अहिले रौतहटमा थ्रेसर मेसिनको प्रयोग बढ्दो छ । किसानले गोरु पाल्न छोडेपछि मेसिनको प्रयोग बढेको हो ।

यसअघि तोरीका बिटा बाँधेर खला वा खेतका गरामा नै खलो बनाई गोरुले दाइँ गर्ने गरिएकामा अहिले भने मेसिनको प्रयोगले छिटो र सहज भएको छ ।

दुई वर्षअघि थ्रेसर मेसिन खरिद गरी तोरी र धान झार्दै आउनुभएका चन्द्रपुर नगरपालिका–६ का व्यवसायी चन्द्रिका चौधरीले थ्रेसर प्रयोग गर्ने किसानको सङ्ख्या बढ्दै गएको बताउनुभयो । योसँगै किसानले गोरु पाल्न पनि छोडेका छन् ।

चार/पाँच वर्षअघिसम्म मेसिनले पनि तोरी झार्छ भन्ने प्रश्न गर्ने किसान अहिले मेसिनको प्रयोगबाट कम लागतमै छिटो काम भएको देख्दा मक्ख छन् । मेसिनकै प्रयोगबाट खेतबारी जोत्न, सम्याउन, हिल्याउन, दाना छोडाउनलगायतका काम हुने भएपछि किसानले गोरु पाल्न छोडेका गुजरा नगरपालिकाका किसान जयसिंह धामीले बताउनुभयो ।

कृषि पेसामा संलग्न श्रमशक्ति कम हुँदै गएका कारण मेसिनको प्रयोग बढेको किसान नै बताउँछन् । थ्रेसर व्यवसायी चौधरी भन्नुहुन्छ, “अघिल्लो वर्ष चन्द्रपुर नगरपालिकामा ५०/५५ जना किसानको तोरी थ्रेसर गरेकामा अहिले सिजन सुरु हुँदै सय जना किसानले मेसिन प्रयोग गरी तोरी झारिसकेका छन् । अन्त्यसम्ममा अढाई सय किसानले यसको प्रयोग गर्ने देखिएको छ ।”

थे्रसरले एक घण्टामा १५ कट्ठा क्षेत्रफलमा लगाएको तोरी झार्ने उहाँले बताउनुभयो । उहाँका अनुसार थ्रेसर गर्दा तोरीको झिक्रा एकातिर र दाना अर्कोतिर झर्ने हुँदा केलाइरहने झन्झट हुँदैन । एक घण्टा थ्रेसर चलेको दुई हजार रुपियाँ शुल्क लिइन्छ ।

आधुनिक प्रविधिको विकाससँगै विकसित कृषि प्रविधि र यसको सहज आपूर्तिले किसान परम्परागत कृषि पेसाबाट आधुनिकतातर्फ उन्मुख भएका छन् । कृषि पेसालाई व्यावसायिक बनाउन कृषि प्रविधिको महत्त्व निकै रहेको वृन्दावन नगरपालिकाका कृषक रामप्रवेश साह बताउनुहुन्छ ।

कृषि प्रविधिलाई विस्तार गरी आधुनिक तवरले खेती गर्न प्रोत्साहित गर्न सके नेपाल खाद्यान्न र तरकारीमा आत्मनिर्भर हुने कृषि ज्ञान केन्द्र रौतहटका प्रमुख हरिशङ्कर जैसवालको दाबी छ ।

मङ्लबार, २ फाल्गुन, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो