Trending
फाइजरको बुस्टर डोज बाइभ्यालेन्टको ३ लाख ४५ हजार ६०० खोप नेपाल आइ पुगेको छ ।
स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाका निर्देशक डा.सर्वेश शर्माले सोमबार पहिलो चरणअन्तर्गत ३ लाख ४५ हजार ६०० डोज खोप नेपाल आइपुगेको जानकारी दिनुभयो ।
उहाँका अनुसार १५ लाख डोज आउनुपर्नेमा पहिलो चरणमा फाइजरको बुस्टर डोज बाइभ्यालेन्ट भित्रिएको हो । फेरि केही दिनमै क्रमिक रुपमा खोप आउने पनि उहाँले बताउनुभयो ।
कोभ्याक्स सुविधानअन्तर्गत प्राप्त यो खोप नेपालका लागि पहिलो हो । ४, ८, ११ र १५ फागुनमा क्रमिक रूपमा यो खोप आउने स्वास्थ्य सेवा विभागले जनाएको छ ।
गाभीमार्फत प्राप्त खोपलाई टेकुस्थित विभागमा भण्डारण गरिएको छ । ओमिक्रोनको सबभेरिएन्टविरुद्ध यो खोप प्रभावकारी मानिएको छ ।
स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाअन्तर्गत आपूर्ति शाखाकी वरिष्ठ फार्मेसी अधिकृत निषा पराजुलीका अनुसार यो खोप बुस्टर डोजको रूपमा प्रयोग हुनेछ । बाँकी रहेको १ लाख २० हजार खोप १५ फागुनमा आइपुग्नेसमेत उहाँले बताउनुभयो ।
नयाँ बाइभ्यालेन्ट खोप ओमिक्रोन ४ र ५ मा प्रभावकारी देखिएको भन्दै नयाँ भेरियन्टमा प्रभावकारी हुने बताइएको छ । यो खोपको आपत्कालीन प्रयोगका लागि गत १२ पुसमा बसेको औषधि सल्लाहकार समितिको ५४ औँ बैठकले स्वीकृत गरेको थियो ।