Trending
नेपालमा सुख्खायाम सुरु भएसँगै बिजुलीको माग र आपूर्तिको चक्र मिलाउनै समस्या पर्न थालेको छ । भारतबाट दैनिक ४५० मेगावाटभन्दा धेरै बिजुली ल्याउँदा समेत बिजुलीको माग धान्न हम्मे हम्मे पर्न थालेको विद्युत् प्राधिकरणले जनाएको छ । सुख्खा याममा हिमाली क्षेत्रमा हिउँ नपर्दा थप यस्तो सिर्जना भएको हो । सुख्खा तथा हिमपातकाे अबस्था यथावत् रहे नेपालमा धेरै विजुली खपत हुने सहरहरूमा लाेडसेडिङकाे सम्भावना बढेकाे विज्ञहरुले बताउन थालेका छन् ।
यो वर्ष सुख्खा याममा पानी परेको छैन । यस्तै, हिमाली भेगमा अघिल्ला वर्षहरूको जस्तो हिउँ समेत परेको छैन । पानी र हिउँ नपर्दा सुख्खा याममा सुक्ने हिमनदीहरू सुक्दा बिजुली उत्पादनमा समस्या परेको प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ बताउँछन् ।
राष्ट्रिय प्रसारणलाइनमा २२ सय मेगावाट क्षमताको बिजुली जोडिइसकेको छ । तर, वर्षायाममा मात्रै पूर्ण क्षमतामा बिजुली उत्पादन हुँदै आइरहेको छ । जबकि, सुख्खा याममा बिजुली उत्पादनको तथ्याङ्क ह्वात्तै घट्ने गर्छ । नेपाली जलविद्युत आयोजनाहरू नदी प्रवाहमा आधारित (आरओआर) भएकाले सुख्खा याममा उत्पादन खुम्चिन्छ ।
सुख्खा याममा नदीको प्रवाह घट्ने भएकाले आरओआर आयोजनाबाट ८० प्रतिशतसम्म उत्पादन खुम्चिन्छ । यही कारण, राष्ट्रिय प्रसारणलाइनमा जोडिएको बिजुली उत्पादनको तथ्याङ्क २२ सय मेगावाट पुगेपनि हाल स्वदेशी उत्पादन मुस्किलले ७५० मेगावाट छ । जबकि, बजारको माग कम्तीमा १४ सय मेगावाटसम्म छ ।