Trending
सोलुखुम्बुमा निर्माणा सम्पन्न ८६ मेगावट क्षमताको सोलु दूधकोशी जलविद्युत आयोजनाले विद्युत परीक्षण सुरु गरेको छ।
निजी ऊर्जा उत्पादकले निर्माण गरेको अहिलेसम्मकै सबैभन्दा ठूलो ८६ मेगावाटको सोलु दूधकोसी जलविद्युत आयोजनाले आज (बुधबार)देखि परीक्षण उत्पादन थालेको हो। थुलुङ दूधकोशी गाउँपालिका ३ पञ्चनमा मुख्य विद्युत गृह रहेको उक्त विद्युतले देखि केही दिनसम्म परीक्षण उत्पादन गर्ने सहास उर्जा कम्पनी लिमिटेडका जनसम्पर्क अधिकृत कैलाश निरौलाले बताउनुभयो।
यो आयोजना निजी क्षेत्रले निर्माण सम्पन्न गरेको सबैभन्दा ठूलो र देशको तेस्रो ठूलो आयोजना हो। आयोजनाको विद्युत १३२ केभी सोलु कोरिडोर प्रसारण लाइनको तिङ्ला स्थित लाम्माने सबस्टेसनमा जोडिनेछ।
विद्युतगृहदेखि सबस्टेसनसम्मको आवश्यक १२ किलोमिटर लामो प्रसारण लाइन कम्पनी आफैले निर्माण गरेको छ। आयोजनाबाट वार्षिक ५२० गिागावाट घन्टा (५२ करोड युनिट) विद्युत उत्पादन हुनेछ। कम्पनीका अनुसार हिउँदमा १००.२७ गिगावाट घन्टा (१० करोड २ लाख ७० हजार युनिट) र वर्षामा ४१९.९३ गिगावाट घन्टा (४१ करोड ९९ लाख ३० हजार युनिट) विद्युत उत्पादन हुनेछ।
आयोजनाबाट यसअघि २०७८ चैतबाट नै विद्युत उत्पादन सुरु गर्ने तालिका भएपनि कोभिड-१९ महामारीको प्रभाव, प्रसारण लाइन निर्माणमा भएको ढिलाई, उपकरण ढुवानी समस्यालगायतले तालिका सरेको कम्पनीले जनाएको छ। यो आयोजना सम्पन्न गर्न करिब ११ अर्ब ८६ करोड रुपैयाँ लागत अनुमान गरिएको छ।
आयोजनामा नेपाल इन्भेष्टमेन्ट बैंकसहित ९ बैंकले ८ अर्ब ६५ करोड रुपैयाँ लगानी गरेका छन् । बाँकी २ अर्ब ४५ करोड रुपैयाँ संस्थापक र १ अर्ब ५ करोड रुपैयाँ साधारण सेयरबाट जुटाइएको छ ।