Trending
मोरङ सुन्दरहरैँचा नगरपालिका–११ स्थित शुक्रबारेका कृषक मोहनलाल श्रेष्ठले २५ वर्षदेखि निरन्तररूपमा व्यावसायिक तरकारी खेतीमा सक्रिय रहेर मनग्य आम्दानी गर्न सफल हुनुभएको छ ।
पाँच दशकअघि सामान्य किसान परिवारमा जन्मनुभएका मोहनलालले न्यू दीपा कृषि फार्म दर्ता गरेर व्यावसायिकरुपमा कृषि पेसा अपनाउनुभएको हो । उहाँले कृषि विकास बैंकबाट रु. ६० हजार ऋण गरी तरकारी खेती सुरू गर्नुभएको थियो । एक बिघा जग्गामा व्यावसायिक तरकारी खेती गर्दै आउनुभएका मोहनलालले अहिले यसै पेसाबाट सम्पूर्ण खर्च कटाएर वार्षिकरूपमा रू छ लाखसम्म आम्दानी गर्ने गर्नुभएको छ । “वर्षभरिमा करिब एक हजार स्थानीय कामदारलाई तरकारी खेतीबाट रोजगारीसमेत दिँदै आएको छु”, मोहनलालले भन्नुभयो, “कृषि पेसाअन्तर्गत तरकारी खेती हाम्रो परिवारका लागि आम्दानीको राम्रो स्रोत भएको छ ।”
हिउँदे र बर्खे यामअनुसारको तरकारी खेती गर्दै आउनुभएका मोहनलालको बारीमा अहिले लटरम्म उन्नत जातको गोलभेँडा, काउली र बन्दागोभी देख्न सकिन्छ ।
अहिले उहाँलाई तरकारी खेतीमा छोरा कृष्णकुमारले पनि सहयोग गर्नुभएको छ । तरकारी बिक्री गरेरै आफूले १५ कट्ठा जग्गासमेत जोड्न सफल भएको मोहनलालले बताउनुभयो । उहाँले तरकारी खेतीसँगै गाई फार्म सञ्चालन तथा खसी र बाखापालनसमेत गर्नुभएको छ । तरकारी खेतीसँगै गरेको गाईपालनबाट दैनिक २० लिटर दूधसमेत बिक्री गर्ने गर्नुहुन्छ । बायोग्यास जडान गरेपछि भान्छामा खाना पकाउन ग्यासको सुविधा भएको छ भने लेदोमलले खेतबारीमा राम्रो अन्न तथा तरकारी खेती पनि राम्रो भएको उहाँ बताउनुहुन्छ ।
तरकारी खेतीमा अहिलेसम्म कुनै सरकारी निकायबाट प्रोत्साहन नपाए पनि युवा लक्षित स्वरोजगार कार्यक्रमबाट चार वर्षअघि रु. ६० हजार प्राप्त गरेको मोहनलालका छोरा कृष्णलालले बताउनुभयो । चर्को व्याजमा ऋण गरी विदेशी भूमिमा तातो घामपानी सहँदै पराईको नोकर भएर काम गर्नुभन्दा आफ्नै स्वदेशमा कृषि पेशाबाटै मनग्गे आम्दानी गर्न सकिने कृष्णलाल बताउनुहुन्छ । मलेसियामा तीन वर्षसम्म रोजगारीका लागि बसेर गाउँ फर्किएपछि अहिले बुबासँगै व्यावसायिक तरकारी खेतीतर्फ क्रियाशील भएको उहाँको भनाइ छ ।
खेतीपातीका लागि विविध कुरा बुझेर अनुभव हासिल गरी मेहनतका साथमा अघि बढ्दा राम्रो फाइदा हुने उहाँको अनुभव रहेको छ । कहिलेकाहीँ घामपानी नमिल्दा तरकारी खेतीमा घाटासमेत हुने भएकाले एकपटक भएको घाटाबाट निराश हुन नहुने उहाँको सुझाव छ । स्थानीय सरकारले कृषि पेसालाई प्रोत्साहनका साथ ध्यान दिन जरूरी रहेको मोहनलाल बताउनुहुन्छ । रासस