हाडको शिरमा पुर्खादेखि मिलेर बसेको सानो गाउँ । घरछेउको भिरालो बारी । रहनसहन र चालचलनमा गाउँले झझल्को दिने परिवेशमा ढकमक्क फुलेका फूल । झट्ट हेर्दा कुनै तराईका फाँटमा गन्यमान्यले घर सजाउन रोपेका फूलका बगैँचाजस्तै लाग्छ ।

तर यो त विगत १५ वर्षदेखि व्यावसायिक पुष्पखेती गर्दै आउनुभएका कृषक कमानसिंह दर्लामीको व्यवसाय हो । उमेरले ६३ वर्ष कट्नुभएका दर्लामीले कुनै चलनचल्तीको व्यवसाय भने गर्नुभएको होइन । सुन्दा अच्चम लाग्ने तर दाम, नाम र इज्जत कमाएरै फूलखेतीबाट दैनिकी चलाउँदै आउनुभएको छ ।

तराईको फाँट कटेपछि झण्डै ३० किलोमिटर पहाड उक्लियौँ भने अर्घाखाँची शीतगङ्गा नगरपालिका ठाडाका एक किसानको घरमा फुलाएको फूलले यस्तै रमणीय दृश्य देख्न सकिन्छ । अर्घाखाँचीलगायत कपिलवस्तु, रूपन्देही, दाङ, नवलपरासीसम्म पुष्प व्यवसायका रूपमा नाम कमाउनुभएका दर्लामीले यसैबाट दैनिकी चलाउँदै आउनुभएको छ । पुष्पखेतीबाट मासिक रू. ३५ हजारसम्म आम्दानी गर्ने उहाँले बताउनुभयो । सानै उमेरदेखि फूलका सौखिन दर्लामीले कुनै बेला यसरी फूलको खेती गरिएला भन्ने सोच्नुभएको थिएन ।

“सानैदेखि आर्टको काम गर्दै आएको हुँ, आर्टको काम गर्दा थुप्रै चित्र बनाएको छु । त्यही पेसा गर्दैगर्दा पुष्पखेती गर्ने सोच पलायो । शोखले गरेको पुष्पखेती एकाएक फैलिएर व्यवसायका रूपमा परिणत भयो”, दर्लामीले भन्नुभयो । छ सन्तानका बाबु उहाँ जागिरको सिलसिलामा भारतका विभिन्न स्थानसम्म पुग्नुभएको छ । नेपालमै केही वर्ष अध्यापनको अनुभव पनि छ ।

उहाँले आफ्नो साढे छ रोपनी जग्गामा पुष्पखेती गरेको बताउनुभयो । बाह्रै महिना फुल्ने फूल लगाउनुभएका उहाँले विशेषगरी तिहारमा बढी प्रयोग गरिए पनि अघिपछि त्यति प्रयोग नगरिने अनुभव सुनाउनुभयो । फूलको व्यापार पनि मौसमअनुसार हुने उहाँको भनाइ छ । उहाँ भन्नुहुन्छ, “बाह्रै महिना मेरो माग बढ्दो छ । फूलमात्रै नभएर फूलका बिरुवा पनि उत्पादन गर्ने गरेको छु । मैले उत्पादन गरेका फूलका बिरुवा ठूला नर्सरीमा लगाउँछन् ।”

अहिले उहाँ यिनै फूल लिएर कपिलवस्तु झर्नुभएको छ । यही माघ १७ गतेदेखि जारी कपिलवस्तु महोत्सवमा उहाँले फूलको स्टल राख्नुभएको छ । केही वर्षयता कपिलवस्तु महोत्सवमा स्टल राख्दै आउनुभएका उहाँले यस वर्ष पनि निरन्तरता दिएको बताउनुभयो । महोत्सव अवलोकन गर्न आउने सर्वसाधारणलाई उहाँले फूलखेती लगाउने तरिका पनि सिकाउने गर्नुभएको छ । कतिपयले महोत्सवबाट घरमा शोभाका लागि फूलका बिरुवा किनेर लैजाने गरेको उहाँले सुनाउनुभयो ।

कृषि तथा पर्यटन महोत्सवमा आयोजकले आफूलाई स्टल ल्याउन आग्रह गरेकाले यहाँ आएको उहाँले सुनाउनुभयो । कपिलवस्तुका विभिन्न स्थानमा लाग्ने महोत्सवमा आफूले स्टल लैजाने गरेको उहाँले बताउनुभयो ।

पुष्प व्यवसायी दर्लामीले लालुपाते, गजेनियाँ, हेसराज, बेगुनिया, जिरेनियम, डगफ्लावर, सयपत्री, टिकुमा, कृष्णकली, सालविया, गोदावरीलगायत दुई दर्जनभन्दा बढी जातका फूल लगाउने गर्नुभएको छ । उहाँले तीन जनालाई प्रत्यक्ष रोजगारी दिनुभएको छ भने अन्य चार–पाँच जनालाई सिजनअनुसार जागिर दिँदै आएको उहाँले बताउनुभयो ।रासस

आइतवार, २२ माघ, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा