Trending
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले साना उद्योगहरुको पहुँच विस्तार गर्न आवश्यक रहेको बताउनुभएको छ । सोमबार ललितपुरमा नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको लघु, घरेलु, साना तथा मझौला उद्योग सम्मेलनलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष गोल्छाले यस्तो बताउनुभएको हो ।
उहाँले देशभित्रैका साना उद्योगलाई ठूला उद्योगसँग जोड्न नसकेको भन्दै साना उद्योगहरुको पहुँच विस्तार गरी तिनै तहका उद्योगहरुले लघु, साना र घरेलु उद्योगबाट उत्पादित वस्तु र सेवा खरिद गर्ने नीतिगत व्यवस्था गर्नुपर्ने बताउनुभयो । उहाँले गत आर्थिक वर्षमा ३०९ ठूला उद्योगहरु दर्ता भएकोमा ६५ हजार ६९ एसएमइ उद्योगहरु दर्ता भएकाले यो सङ्ख्या अझै बढ्नसक्ने विश्वास व्यक्त गर्नुभयो ।
‘‘साना उद्यमीलाई कर्जा पाउन कठिन भएको छ । सहज बनाउनुपर्छ भनेर हामीले भन्दै आएका छौँ । गत आर्थिक वर्षमा ३०९ ठूला उद्योगहरु दर्ता भएकोमा ६५ हजार ६९ एसएमइ उद्योगहरु दर्ता भएका छन्, यो सङ्ख्या अझै बढ्नसक्छ, यिनको उत्पादन क्षमता अझै बढ्नसक्छ । साना, ठूला सबै उद्योगको क्षमता अहिले करिव ६० प्रतिशतले घटेको छ ।,’’ उहाँले भन्नुभयो, ‘‘महङ्गा ब्याजले लगानी विस्तार त परको कुरा भयो, उद्यम टिकाउनसमेत चुनौति भएको छ । यस्ता उद्यमीलाई परियोजनामा आधारित कर्जा उपलब्ध गराउनुपर्छ भन्ने हाम्रो माग हो । मन्त्रीज्युको यसअघिको बजेटमा पनि र मौद्रिक नीतिमा पनि यो विषय समेटिएको छ तर कार्यविधि अहिलेसम्म पनि आएको छैन ।’’
अध्यक्ष गोल्छाले साना, ठूला सबै उद्योगको क्षमता अहिले करिव ६० प्रतिशतले घटेको बताउनु भयो । बैंकहरुको महङ्गो ब्याजले लगानी विस्तार गर्न र उद्यम टिकाउनसमेत चुनौति भइरहेको उहाँको भनाइ छ ।
साना उद्यमीलाई परियोजनामा आधारित कर्जा उपलब्ध गराउनुपर्ने उहाँले बताउनुभयो । अध्यक्ष गोल्छाले अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई ब्याजदरको स्थायित्व र सहज वित्तीय पहुँचमा थप पहल गर्न आग्रह गर्नुभयो । करिव ५० प्रतिशत उद्योगहरु दर्ता नभएकाले त्यसको वास्तविक पहिचान गर्न सरकारसँग उहाँले आग्रह गर्नुभयो ।
कतिपय उद्योगहरु झमेलामा पर्ने डरका कारण पनि दर्ता नभएको भन्दै कर बुझाउन जाँदा उल्टै दुःख पाउने परिपाटी रहेको छ । अध्यक्ष गोल्छाले आधुनिक प्रविधि प्रयोग गरेर बजारको माग अनुसार गुणस्तरीय उत्पादन गर्नसके नेपाललाई एसएमइ उद्योगबाट ठूलो आर्थिक उन्नती गर्ने सम्भावना प्रशस्त रहेको पनि बताउनुभयो ।