Trending
अझै पनि महिलाहरू घरायसी काममा मात्र सीमित हुनुपर्छ भन्ने गलत परम्परा हाम्रो समाजमा छ । यही गलत परम्पराका कारण पुरुषले बाहिरको काम गर्ने र महिला चुलोचौकामै सीमित हुनुपर्ने बाध्यता कायमै छ ।
यस्तै गलत परम्परा बोक्ने हजारौँको भीडबाट बाहिर निस्कनुभएको छ गुल्मीको रेसुङ्गा नगरपालिका–८ की शारदा भुसाल । उहाँ विसं २०६३ देखि न्यूमैत्री डेरी उद्योग सञ्चालन गरेर उदाहरणीय बन्नुभएको छ ।
उहाँ आफैँले सुरु गरेको डेरी उद्योगबाट अहिले दूध खरिद, प्रशोधन र बिक्री हुने गर्छ । उहाँले दैनिक तीन सय लिटर दूध बजारमा पु¥याउनुहुन्छ । गुल्मीको चौरासी र अर्घाखाँचीको ढिकुरा, काउलेलगायतका स्थानबाट डेरीमा दूध आउने गर्दछ । शारदाले भैँसीको दूधमात्र खरिद, प्रशोधन र बिक्री गर्नुहुन्छ । बजारमा आवश्यक पर्ने दूध पर्याप्त मात्रामा आफूसँग उपलब्ध नभएको उहाँले बताउनुभयो ।
गुणस्तरका आधारमा किसानसँग बढीमा प्रतिलिटर रु ९५ सम्म डेरी उद्योगले दिन्छ । यसलाई लिएर प्रशोधन गरेर प्रतिलिटर रु एक सय १० मा बिक्री हुन्छ । दूधबाट अन्य परिकार पनि बनाउन गरेको शारदाले बताउनुभयो । दूधबाट दही, पनिर, कुराउनी, छुर्पी र अन्य परिकार शारदा आफैँले बनाउने गर्नुहुन्छ ।
डेरीबाट मासिक रु नौदेखि १० लाखसम्म कारोबार गर्ने उहाँले मासिक रु एक लाख बचत गर्ने गरेको बताउनुहुन्छ । “जन्मपूर्वदेखि मृत्युपश्चात पनि दूध नै चाहिन्छ”, उहाँले भन्नुभयो, “महिलाले आफैँ व्यवसाय गर्नुपर्छ भनेर निरन्तर मेहेनत गरेँ ।” व्यापार र व्यवसायको सन्दर्भमा पनि पुरुषमात्र अगाडि सर्ने र महिला अरुकै भर पर्ने बाध्यताको अन्त्यका लागि अगाडि बढेको शारदाले बताउनुभयो ।
किसानसँग जोडिने व्यवसाय गर्नका लागि दुग्ध डेरी सञ्चालन गरेको तर पछिल्लो समय दूध उत्पादनमा कमी आएको शारदाको अनुभव छ । आफूसँगै सदरमुकाम तम्घासका दुग्ध व्यवसायी मिलेर सञ्चालन गरेको रेसुङ्गा दुग्ध डेरी प्रालिले १२ हजार लिटर दूध खपत गर्ने क्षमता छ । तर जिल्लाभर अहिले तीन हजार लिटर दूधमात्र उत्पादन हुने गरेको छ ।
स्थानीय पालिकाले किसानलाई दूध उत्पादनमा उत्साहित गराएमा जिल्लाका १२ पालिकाबाट एक हजार लिटर दूध आफुले खपत गर्न सक्ने भन्दै शारदाले किसान त्यसतर्फ उन्मुख हुनुपर्ने बताउनुहुन्छ । जिल्लामा दूध उत्पादन कम भएसँगै गुल्मीमा अर्घाखाँची, पाल्पा र कपिलवस्तुबाट आयात गर्नुपर्ने बाध्यता रहेको न्यूमैत्री डेरी उद्योगका सञ्चालक उहाँले गुनासो गर्नुभयो ।
शारदाले आफूले सञ्चालन गरेको डेरी उद्योगबाट अहिले प्रत्यक्षरूपमा चार जनाले रोजगार पाउनुभएको छ । दूध सङ्कलन, ढुवानी, प्रशोधन र बिक्री गरी चार जनालाई रोजगार प्रदान गरिएको उहाँले जानकारी दिनुभयो । दुग्ध डेरीबाट आम्दानी भएको रकम अन्य व्यवसायमा लगानी गर्दै जानुभएको छ ।