Trending
चितवनमा यसवर्ष महको उत्पादन आधाले घट्ने प्रक्षेपण गरिएको छ । जलवायु परिवर्तनको असरले मौरीले मह उत्पादन गर्न सकेको छैन । लगातार चिसो बढेको र बिहान शीतलहर पनि लगातार परिरहेको कारणले मौरीले उत्पादन दिन नसकेको किसानहरु बताउँछन् ।
नेपाल मौरीपालक महासंघका निवर्तमान अध्यक्ष शिवप्रसाद शर्मा यसवर्ष चितवनमा मह उत्पादन आधाले घट्ने बताउँनुहुन्छ । उहाँ भन्नुहुन्छ जलवायु परिवर्तनले यसपटक मौरी किसानहरु मारमा परेका छन्, हरेक किसानको मह घटिरहेको छ ।’
उहाँका अनुसार चितवनको पहाडी क्षेत्रमा पनि चिउरीको मह पनि आधाले घटिरहेको छ । समथल फाँटमा तोरीमा राखिएको मौरीका घारमा पनि आधाले उत्पादनमा कमी आइरहेको छ । उहाँले भन्नुभयो, ‘तोरी र चिउरी दुवैको मह उत्पादन बढ्ने अपेक्षा गरिएको थियो, तर चिसोले उल्टो घटायो ।’
चितवनको राप्ती र कालिका नगरपालिकाका पहाडी क्षेत्रमा चिउरीको मह उत्पादनका लागि ५० भन्दा बढी किसान घारसहितको मौरी लिएर पुगेका नेपाल मौरीपालक महासंघले जनाएको छ । सबै किसानले गत वर्षको तुलनामा आधा पनि मह उत्पादन हुन नसकेको निवर्तमान अध्यक्ष शर्मा बताउँनुहुन्छ ।
एकातिर मह उत्पादन घटिरहेको र अर्कोतिर भारतबाट गुणस्तरहीन आयातित महले किसान मारमा परेको उहाँ बताउँनुहुन्छ । उहाँले भन्नुभयो, ‘स्वदेशी शुद्ध महले बजार पाउन सकेको छैन, गुणस्तरहीन आयातित महले बजार खाइरहेको छ । किसान दोहोरो मारमा परेका छन् ।’ महको नाममा अनेकौँ गुलिया पदार्थहरु आयातित भइरहेका र उपभोक्ताहरुलाई झुक्काइएको उहाँले बताउनुभयो ।
गत वर्ष चितवनमा चिउरी र तोरीको गरी ९ सय मेट्रिक टन मह उत्पादन भएको थियो । यसवर्ष चिउरी र तोरी दुवैको उत्पादन घटिरहेको छ । गत वर्ष यतिबेला तीनचोटि तोरीको मह काढ्नेले यसपटक मुस्किलले एकपटक मात्र मह काढेका छन् । चिउरी फूल फुल्ने ठाउँमा घार लगेर राखेको एक महिना भइसक्यो, एकचोटि पनि मह काढ्न नपाइएको किसानहरुको दुखेसो छ ।
किसानहरुका अनुसार यसवर्ष चितवनमा ४०० मेट्रिक टन मह उत्पादन पनि हुन नसक्ने अवस्था देखिएको छ । नेपाल मौरीपालक महासंघका अध्यक्ष सुभाषचन्द्र घिमिरेले चिउरीबाट रस कम निस्केको हुनाले मौरीले मह जम्मा गर्न नसकेको बताउनुभयो ।
उहाँ भन्नुहुन्छ, ‘चिउरी फुलेको भए पनि रस छैन, कसरी मौरीले मह जम्मा गर्न सक्छन् रु एकातिर रस निस्केको छैन, अर्कोतिर घाम नलाग्दा मौरी चिसोका कारण चर्न जान सकेका छैनन् ।’
उहाँका अनुसार तोरीको मह पनि चिसोका कारण मौरीले जम्मा गर्न सकेनन् । ‘काढ्ने बेलामा घारमा मह नै छैन, शीतलहरले मौरीले मह जम्मा गर्न सकेनन्’, अध्यक्ष घिमिरेले भन्नुहुन्छ, ‘एकातिर आयातित महका कारण स्वदेशी महले मूल्य पाएका छैनन्, अर्कोतिर मह उत्पादन कम हुँदा किसान मारमा परेका छन् ।’ उहाँ भन्नुहुन्छ, गत वर्षकै मह किसानले आयातित महका कारण बेच्न नसकेको बताउँनुहुन्छ ।
पुरानै मह स्टकमा राखेर भए पनि किसानले थोरै परिमाणमा तोरीको मह निकालेका छन्, तर महले बजार पाउन नसकेको उहाँको भनाइ छ । बजारमा अब नयाँ मह आउन थालिसकेको छ, तर किसानले गत वर्षकै मह बिक्री गर्न सकेका छैनन् । चितवनमा करिब ५०० किसानले यतिबेला मह उत्पादन गरिरहेका छन् । नेपालभर ५ हजार किसानले मौरीपालन गरेको पाइन्छ ।