Trending
कृषि ज्ञान केन्द्र चितवनले सयपत्री फूल खेती कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
केन्द्रले चितवन र मकवानपुर जिल्लाका कृषि फर्म, कृषक समूह र कृषि सहकारीसँगको साझेदारीमा कार्यक्रम सञ्चालन गरिने जनाएको छ ।
उक्त कार्यक्रमका लागि केन्द्रले ५ लाख बजेटसमेत छुट्याएको छ । चालू आर्थिक वर्षको स्वीकृत वार्षिक कार्यक्रमअनुसार साझेदारीमा कार्यक्रम सञ्चालन गरिने कृषि ज्ञान केन्द्र चितवनले जनाएको छ । यस कार्यक्रमका लागि केन्द्रले चितवन र मकवानपुरका कृषि फर्म, कृषक समूह र कृषि सहकारीलाई आवेदनका लागि आह्वान गरेको छ ।
यसैगरी केन्द्रले सहकारीको समन्वयमा मह संकलन केन्द्रमा संकलित महको परिमाणका आधारमा प्रतिकेजी ५० रुपैयाँका दरले प्रोत्साहन कार्यक्रम पनि ल्याएको छ । जसका लागि १० लाख बजेट छ । यसमा पनि केन्द्रले कृषि फर्म, कृषक समूह र कृषि सहकारीसँग साझेदारी गर्ने जनाएको छ ।
त्यस्तै १ करोड ५० लाख रकम छुट्याएर कृषि विकासका लागि बीउ पुँजीकोष कार्यक्रम पनि ल्याइने बताइएको छ । जसमा कृषि फर्म, कृषक समूह र कृषि सहकारी तथा उद्यमीसँग साझेदारी गरिनेछ । भने १ करोड ४० लाख रकमको अर्को कार्यक्रमचाहिँ न्यूनतम् समर्थन मूल्य कार्यान्वयन कार्यक्रम हो । यो कार्यक्रम न्यूनतम् समर्थन मूल्य कार्यान्वयन कार्यविधि – २०७९ बमोजिम सञ्चालन हुनेछ ।
तर केन्द्रले विभिन्न कार्यक्रम सञ्चालनका लागि ३ करोड ५ लाख रकम छुट्याए पनि प्रत्यक्ष उत्पादनसँग जोडिएको कार्यक्रममा भने ध्यान नपुगेको देखिन्छ ।
चितवन फूलमा ६० देखि ७० प्रतिशत आत्मनिर्भर देखिन्छ । चितवनमा उत्पादन हुने फूलहरू मकवानपुर, काठमाडौँ, पोखरा, दाङलगायतका जिल्लामा पनि निर्यात हुन्छ ।