घर छोडेर सडकमा पुगेका ललितपुरको भैँसीपाटी निवासी ४९ वर्षीय राजेन्द्र रोकाले जुत्ता सिलाउने पेसामै ३५ वर्ष बिताएका छन्। कक्षा ४ सम्म परिवारसँग बसी पढ्दै आएका उनी साथीहरुको सङ्गतमा परेर सडकलाई नै आफ्नो बासस्थान बनाएको बताउँछन्।

सुरुमा ११ वर्षको उमेरमा दरबारमार्गस्थित जुत्ता सिलाउने र पालिस लागउने काम गरियो, केही समयपछि साथीहरुको लहलहैमा ठमेलको उत्से होटेल बाहिर दैनिक गुजारा चलाउन बाह्य पर्यटकसँग पैसा माग्ने क्रममा तीन वर्ष बिताइएको राजेन्द बताउँछन्।

सोही बखत उनको बाल्यकालको दिनचर्या देखेर एक स्वीस नागरिकले अध्ययनका लागि होस्टेलमा राखी ललितपुर माध्यमिक विद्यालयमा भर्ना गरिदिएका थिए। करिब दुईवर्ष सम्पूर्ण खर्च बेहोरी पढाइका लागि पहल गरे पनि राजेन्द्रले पढाइलाई निरन्तरता दिन सकेनन्।

सोह्र वर्षको उमेरमा वैवाहिक बन्धनमा बाँधिएका उनी विवाहपश्चात् पुनः सोही पेसामा सम्लग्न भए। पर्यटकको जमघट हुने वसन्तपुर क्षेत्रमा सोही काममा सम्लग्न हुदैँ आएका राजेन्द्रले बाह्य पर्यटकका लागि पथप्रर्दशकको काम पनि गरे।

पन्ध्र वर्षसम्म त्यही काम गर्दै आएका उनी विगत आठ वर्षदेखि न्यूरोडस्थित भूगोलपार्कमा बसेर त्यसैलाई निरन्तरता दिँदै आएका छन्।

दुई सन्तानका बुबा राजेन्द्रका जेठा छोराले आइटी र कान्छा छोराले व्यवस्थापनबाट स्नातक तहसम्मको अध्ययन पूरा गरिसकेका छन्। उनकी श्रीमती राधिका ललितपुर उपमहनारपालिका– १८ को जनप्रतिनिधि हुन्।

राजेन्द्र भन्छन्, “मेहनतका साथ काम गरेको छु। मेरो पेसाप्रति परिवारको साथ छ। आफ्ना लगि आफै केही गर्छु भन्ने अठोट सबैले गर्नुपर्छ।” हप्तामा एक दुई दिन फुर्सद लिएर पनि मासिक रु ३५ हजार कमाइ गरेको उनी बताउँछन्। श्रीमती र छोराले कमाइ गर्न थालेपछि आफूलाई आराम गर्न भने पनि आफ्नो पेसामा नसा बसेको राजेन्द्रका भनाइ छ।

राजेन्द्रसँगै जुत्ता सिलाउँदै आएका मीनबहादुर रम्तेल पनि ललितपुरको गोदावरी निवासी हुन्। भूगोलपार्कको पिपलबोटमै उनले सोही पेसामा ४० वर्ष बिताए। उनान्साठी वर्षीय मीनबहादुर दैनिक बिहान खाना खाएर ८ बजेतिर कामका लागि घरबाट निस्कन्छन्।

आफ्नो यो पेसाबाट के खाउ–के लाउ भनी कहिलै चिन्तित हुनु नपरेको र व्यवसाय राम्रोसँग चलेको उनी बताउँछन्। दुई छोरा र एक छोरीका बुवा मीनबहादुर आफ्ना छोराछोरीको पढाइखर्च, बिहेखर्चसम्म यही पेसाबाट आएको आम्दानीले चलाएको जानकारी दिए।

उनी भन्छन्,“काम सानो र ठूलो हुँदैन। जुत्ता सिलाउने पेसा भनेर लाज मान्न आवश्यक छैन। अर्काको चोरेर, मागेर, छलेर, झुकेर खानुभन्दा भगवान्ले दिएका हातखुट्टाले काम गरेर खानुनै बेस। भारतले नेपालमा देखेको अवसर नेपालीले भने देख्दैनन्। धेरै अवसर छन् तर नेपाली भने सानोतिनो काम भनेपछि गर्न हिचकिचाउँछन्।”

स्वर्गजस्तो जन्मभूमि र परिवार छोडेर अन्य मुलुकमा आफ्नो पसिना बगाउन बाध्य नेपालीको अवस्था र गरिब जनतालाई भनेर छुट्याइएका राहत पहँुच हुनेका लागि मात्र रहेकोप्रति गुनासो पोख्दै मीनबहादुर राज्यले बनाएको नीति व्यवहारमा नल्याएकामा गुनासो गर्छन्।

लामो समयदेखि भूगोलपार्कको छेउमा काम गर्दै आइएकाले धेरैजसो चिनेजानेका मानिस नै आउने गरेको, दिनमा १०÷१२ जनाको कामले आफ्नो दिन बित्ने गरेको र त्यतिमै आफू सन्तुष्ट रहेको उनी बताउँछन्। विना सिप र लगानीमा मासिक प्राय रु ३० हजारभन्दा बढी आम्दानी हुनुलाई राम्रै आम्दानी मान्नुपर्नेमा मीनबहादुर जोड दिन्छन्।

राजेन्द्र र मीनबहादुरजस्तै आफ्नो जीविकोपार्जनका लागि जुत्ता सिलाउँदै आएका धादिङ निवासी ४२ वर्षीय लीलाबहादुर कार्की पनि विगत २० वर्षदेखि यही पेसामा सम्लग्न छन्। दस वर्षदेखि सुन्धारामा बसेर जुत्ता सिलाउँदै आएका उनी गाउँघरमा खेती गरेर जीविकोपार्जन गर्न र बालबच्चाको पढाइलाई खर्च जुटाउन नसक्दा राजधानी छिरेको बताउँछन्।

सुरुमा पसलमा सामान ओसारपसार गर्दै आएकामा पछि आफूले चिनेजानेको मान्छेले यही पेसाबाट मनग्य आम्दानी गरेको देखेर आफूले पनि यही पेसा रोजेको लीलाबहादुर बताउँछन्।

दिनमा १२÷१५ जनाको कामबाट दैनिक दुईदेखि तीन हजारसम्म आम्दानी गर्दै आएका उनी भन्छन्,“ठूलो लगानी जुटाउन नपर्ने, पढाइको प्रमाणपत्र नचाहिने, कसैको डरधम्कीमा चल्न नपर्ने, आम्दानी पनि राम्रै हुने गरेकाले यो पेसामा आफू र परिवार सन्तुष्ट छन्। यही पेसाबाट आएको आम्दानीले आफूलगायत परिवार, छोराछोरीको पढाइखर्च सहज ढङ्गले चल्दै आएको छ।”

आफूहरुले गरेको काम सानो भए पनि पेसा सबैको लागि अत्यावश्यक रहेको तर खुल्ला ठाउँमा व्यवसाय चलाउनाले घामपानी तथा धुवाँधुलो सहनुपर्ने बाध्यता रहेको उनहरुको गुनसो छ। यी त केवल काठमाडौँ उपत्यकाका केही उदारहण मात्र हुन्।

मुलुकभर जुत्ता सिलाउने पेसामा संलग्न भई मनग्य आम्दानी गर्ने मानिस धेरै छन्। पेसा सानो र ठूलो होइन, मानिसको हेर्ने नजर फरक हो। सबै पेसालाई सम्मान गर्न सकेमा मात्र समाजलाई परिवर्तन गर्न सकिनेमा सम्बद्ध व्यक्ति जोड दिन्छन्।

शुक्रबार, २९ पुस, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो