Trending
नेपाल विद्युत प्राधिकरणले औद्योगिक क्षेत्रमा लोडसेडिङको शुरुवात गरेको छ । विद्युत उत्पादन घटेको र भारतबाट विद्युत आपूर्तिमा समस्या भएपछि प्राधिकरणले औद्योगिक क्षेत्रमा दैनिक ९ घण्टा लोडसेडिङ शुरुवात गरेको बताएको हो ।
प्राधिकरणका प्रवक्ता सुरेश बहादुर भट्टराईका अनुसार प्राधिकरणले मंगलबारदेखि बिहान र साँझको समयमा औद्योगिक क्षेत्रमा ९ घण्टा लोडसेडिङ सुरु गरेको हो । भारतको बिहारबाट आपूर्ति हुने विद्युत प्रणालीमा जोडिएको जेनेरटरमा समस्या भएको भन्दै आयात कम हुन पुगेको उहाँले बताउनुभयो ।
‘बिहारबाट नेपाल आयात हुने विद्युतमा १३३० मेगावाटको जेनेरेटरमा समस्या भएको भन्दै आपूर्ति कटौति भएपछि लोडसेडिङ गर्नुपरेको हो, बिहान र बेलुकाको समयमा औद्योगिक क्षेत्रमा प्रयाप्त विद्युत आउन नसक्ने जानकारी गराएका छौं’, उहाँले भन्नुभयो।
प्रवक्ता भट्टराईका अनुसार नेपाललाई अहिले १० हजार २०० मेगावाटरप्रतिघण्टा (एमडब्लुएच) विद्युतको आवश्यकता पर्छ तर त्यसमध्ये २७ देखि २८ प्रतिशत आयातमा निर्भर रहेको छ । भारतमा हुने विद्युतको आयातमा समस्या देखिएपछि सोमबार १ हजार र आज मंगलबार २७ सय एमडब्लुएच विद्युत नपुगेको उहाँले बताउनुभयो । आपुर्तिकर्ताले २र३ दिनमा नै बिग्रिएको जेनेरेटर मर्मतको काम सम्पन्न हुने र आपूर्तिमा समस्या नहुने जानकारी दिएको उहाँले बताउनुभयो ।
भारतको स्वतन्त्र विद्युत बजारबाट प्रतिस्पर्धात्मक रुपमा उच्च मूल्यमा विद्युत खरिद गर्न खोज्दा पनि अभावका कारण पाउने अवस्था नरहेको उहाँले बताउनुभयो । ‘भारतको स्वतन्त्र बजारमा विद्युतको क्याप मूल्य १२ रुपैयाँ रहेको छ, त्यो मूल्यमा खरिद गर्न खोज्दा पनि पाउन सकिएको छैन’, उहाँले भन्नुभयो ।
अचानक लोडसेडिङको शुरुवात भएपछि उद्योगीहरुले भने चिन्ता व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष पशुपति मुरारकाले बजारमा सुधार देखिन लागेको बेलामा विद्युत प्राधिकरणले औद्योगिक क्षेत्रमा ९ घण्टा लोडसेडिङ शुरुवात गरेकोप्रति चिन्ता व्यक्त गर्नुभएको छ ।
अलिकति मात्र भए पनि बजारमा सुधार देखिएको के थियो, नेपाल विद्युत प्राधिकरणले औद्योगिक क्षेत्रमा दैनिक ९ घण्टा लोडशेडिंग शुरू गरेको छ, औद्योगिक क्षेत्र कसरी उभो लाग्ने होला रु उहाँले भन्नुभयो । यसअघि पनि प्राधिकरणले औद्योगिक क्षेत्रमा लोडसेडिङ गरेको थियो ।