Trending
पाँचथर फालेलुङ– ८ की सुशीला केरुङका श्रीमान्लाई ५ वर्षअघि ‘ब्रेन ट्युमर’ भयो । श्रीमान् थला परेपछि परिवारको जिम्मेवारी सुशीलाको काँधमा पर्यो । परिवारको आर्थिक आम्दानीको मुख्य स्रोत अलैँची थियो ।
तर, अलैँची उत्पादन घटेपछि उनको परिवारमा अप्ठ्यारोमाथि अप्ठ्यारो थपियो । ३० रोपनीको अलैँची बगान थियो । राम्रै फल्थ्यो, मूल्य पनि सन्तोषजनक थियो । पहाडको ‘कालो सुन’ भनेर उपनाम पाएको अलैँचीको मूल्यमा गिरावट आयो । यति मात्र हैन, अलैँचीमा रोग कीराले गर्दा उत्पादन र मूल्य घट्न थालेको आठ वर्ष भइसकेको थियो ।
१२०० केजी अलैँची प्रतिमन ८२ हजारमा बेचेर श्रीमान्को उपचार गराएको उनी बताउँछिन् । श्रीमान्को अप्रेसनका लागि २५ लाख र दोस्रोपटक २१ लाख लागेको खर्च केही वर्षको अलैँचीले धानेको थियो । उपचार गराउँदा पैसा सकियो, ३ वर्षअगाडि श्रीमान् पनि गुमाउनुपर्यो ।
२०७६ सालयता अलैँची राम्रो उत्पादन भएको छैन । यस वर्ष त झन् ९ मन मात्र फल्यो । अलैँची फूल फुल्ने सिजनमा खडेरी लागेर राम्रो फल लाग्न सकेन । ‘सुक्खा लाग्यो, बोटमै फूल सुक्यो । कहाँबाट फल लाग्नु र रु,’ उनले भनिन् । नेपालको मुख्य निर्यातजन्य नगदे बालीको रूपमा अलैँची रहेको छ । झण्डै दुई शताब्दीको इतिहास बोकेको अलैँची ‘मसलाको रानी’ नामबाट परिचित छ ।
नेपालमा ४५ जिल्लामा १८ हजार ४०० हेक्टर जमिनमा अलैँचीको व्यावसायिक खेती हुन्छ । अलैँची खेतीमा १ लाख २५ हजार किसान आबद्ध छन् । उच्च गुणस्तरको अलैँची विश्व बजारमा नेपालले कमाएको साख हो तर पछिल्लो समय बेमौसमी वर्षा, उच्च तापक्रम र संक्रमणका कारण यो साख झर्दै गएको नेपाल अलैँची केन्द्रीय महासंघले जनाएको छ । विगतमा प्रतिमन १ लाख ४० हजार रुपैयाँसम्ममा बिक्री हुने गरेको अलैँची पछिल्लो समय २५ देखि २७ हजार रुपैयाँ प्रतिमन खरिदबिक्री भइरहेको छ । अहिलेको मूल्य १० वर्षयताकै कम भएको अलैँची व्यापारी बताउँछन् ।
अलैँचीको बगानमा २०७१ सालदेखि नै रोग तथा कीराको आक्रमण, खडेरी र बोट मर्ने कारणले गर्दा उत्पादन घटेको छ । जसको प्रत्यक्ष असर अलैँचीबाट आफ्नो घरखर्च धानिरहेका झण्डै १ लाख किसान परिवारमा परेको छ । अलैँची धेरै महिलाको आम्दानीको स्रोत हो । त्यसैले अलैँचीको उत्पादनमा आएको ह्रासले सबैभन्दा धेरै मारमा महिला परेका छन् ।
संखुवासभाको धर्मादेवी नगरपालिका– १ की गीता नेपाल बिहे गरेर आउँदा उनको परिवारको ठूलो अलैँची बगान भएको सम्झिन्छिन् । सात वर्षअघिसम्म गाउँमा पानीको अभाव भएको उनलाई थाहा छैन । ‘मेरो ससुराबुवाले २०४२ सालबाट शिक्षण पेसा छोडेर अलैँची व्यवसाय सुरु गर्नुभएको थियो । एउटा बोटबाट एक डोको अलैँचीको थुङ्गा हुन्थ्यो । तर, अहिले एउटा बोटबाट दुईरतीनवटा थुङ्गा मात्र फल्छ,’ उनी भन्छिन्, ‘पहिला रोग पनि थिएन, दुःख खासै थिएन । तर, अहिले अलैँची गोडमेलदेखि फल पाक्ने बेलासम्म निकै सास्ती हुन्छ, उत्पादन घट्दै गएको छ ।’
फल टिप्ने सिजनमा पानी दर्कियो । बेमौसमी पानी र लामो खडेरीले उत्पादन प्रभावित भएको उनी बताउँछिन् । ‘अलैँची लगाउँदा दुःख ज्यादा हुने तर लागत उठाउनै मुस्किल हुन थालेको छ । यस्तै भइरहे बाली फेर्नुपर्ने अवस्था नआऊला भन्न सकिन्न,’ नेपालले भनिन् । उनले अब अलैँची खेती मासेर सुन्तला खेती गर्ने योजना बनाइरहेकी छिन् ।
अलैँची छायाप्रिय तथा बढी पानी चाहिने बाली भए पनि बढी उचाइ, उत्तर मोहडा र छहारी भएको स्थानमा सिँचाइ बिना पनि खेती गर्न सकिने अलैँची विकास केन्द्र फिक्कलका प्रमुख राजन परियार बताउँछन् । उनका अनुसार समुन्द्री सतहबाट ७०० देखि २१०० मिटरसम्मको उचाइ र २००० देखि २५०० मिलिलिटर पानी पर्ने र तापक्रम ८ देखि २० डिग्री सेल्सियससम्म हुने ठाउँमा अलैँची खेती उपयुक्त हुन्छ । बेमौसमी पानी, तुषारो, कालो तुषारो, हिमपातले पनि अलैँचीको उत्पादन र बिरुवालाई असर गर्ने भएकाले यसले गर्दा पनि उत्पादन घटेको उनी बताउँछन् ।
नेपालको कृषि अधिकांश क्षेत्रमा आकाशे पानीमा निर्भर छ । पूर्वको पहाडी जिल्ला ताप्लेजुङको ३० वर्षयताको तथ्यांक हेर्दा ११.४ मिलिलिटरले वर्षा बढेको देखिन्छ । जल तथा मौसम विज्ञान विभाग जलवायु शाखा विश्लेषक डा इन्दिरा कँडेलका अनुसार, ०.०२ मिलिलिटरले पूर्वी जिल्लामा वर्षा बढ्दै गएको देखिएको छ । तर, सबै क्षेत्रमा स्टेसनको पहुँच नहुँदा यकिन गरेर यति नै बढेको भन्नचाहिँ मुस्किल हुने उनको भनाइ छ । संखुवासभा, इलाम र ताप्लेजुङमा जाडोअघिको सुक्खा सिजन मानिने असोज १५ देखि मंसिर १५ सम्म वर्षा बढदै गएको र जाडो मौसममा घटेको पाइएको कँडेल बताउँछिन् ।
अलैँची खेती गर्ने स्थानीय कृषकको अनुभव पनि यस्तै छ । ‘पहिला संखुवासभाको मुडे क्षेत्रमा सुन्तला खेती हुँदैनथ्यो,’ गीताका वृद्ध ससुरा यदुनाथ सुनाउँछन्, ‘अचम्म लाग्छ, अहिले घरको कोठेबारीमा सुन्तला फलेको छ । यस्तो कसरी भएको होला ?
मूल्यमा आएको गिरावट र अलैँचीको उत्पादन गुणस्तरीय नहुँदा खरिदबिक्रीमै समस्या हुन थालेको फिदिमका अलैँची व्यवसायी खगेश्वरी अधिकारी बताउँछिन् । यस्तो भन्ने व्यवसायी मात्र होइन, अलैँची बजार पुर्याउँदा लागत नै पो उठ्दैन कि भन्ने पीर रहेको ओयामकी चन्दा गुरुङ बताउँछिन् ।
अलैँचीमा छिर्केफुर्के रोग लाग्नु, पात सुक्नु, गुभो कुहिनु र अलैँचीको भाउ निरन्तर ओरालो लाग्दै जाँदा किसानहरू आर्थिक समस्यामा छन् । घर व्यवहार नचलेपछि कृषिसँगै होम स्टे सञ्चालन गर्न थालेको इलाम रोङ गाउँपालिकाकी कौशिला मोक्तानले बताइन् ।
जलवायुमा आएको परिवर्तनले अलैँची बगान नै प्रभावित बनाएसँगै वर्षौंदेखि अलैँची खेतीमा आश्रित कृषकहरू अब के गर्ने भन्ने अन्योलमा छन् । जलवायु परिवर्तनले कृषिमा पारेको प्रभाव आँखैले देख्न सक्ने गरी बढिरहेको बताउँछन्, नेपाल कृषि राष्ट्रिय बाली अनुसन्धान केन्द्रका वैज्ञानिक डा. ध्रुवराज भट्टराई । ‘अलैँचीकै मात्र उदाहरण हेर्दा पनि उत्पादन घट्नु, रोग बढ्नुको कारण वातावरणमा आएको फेरबदल नै हो ।
अति वर्षा हुनु, पहाडी क्षेत्रमा कीरा बढेर बाली सखाप पार्नु, बेमौसममा उत्पादन हुनु, मौसमी वर्षा कम हुनु जलवायु परिवर्तनको असर भएको उनी बताउँछन् ।
जलवायु परिवर्तनले सबै बालीमा प्रभाव भने पारेको छैन । पहिले नफल्ने ठाउँमा अहिले फलफूल फल्न थालेका छन् । मौसममा आएको फेरबदलका कारण अनुकूलन उत्पादनले कृषकले आम्दानी छिटो लिन सक्ने स्थिति पनि छ । तर अलैँची, चिया, कफी, अदुवाजस्ता एकपटक लगाएर धेरै समय टिकिरहने बोटका लागि भने दीर्घकालीन उपाय सोच्नुपर्ने अवस्था आएको छ ।
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले हरेक स्थानीय तहमा कुन महिनामा कस्ता कृषिजन्य उत्पादन लगाउँदा ठीक हुन्छ भन्ने जानकारीसहितको बुलेटिन प्रकाशित गरेको छ । त्यसमा आगामी महिनाको मौसम कस्तो रहन्छ भन्ने पनि उल्लेख छ । त्यसबाट लाभ लिन सकिने कृषिविज्ञहरू बताउँछन् ।
केन्द्रीय तथ्यांक विभागले ६ वर्षअघि गरेको जलवायु परिवर्तनसम्बन्धी राष्ट्रिय सर्वेक्षणमा सहभागी ८६.१ प्रतिशतले पछिल्लो २५ वर्षमा सुक्खा बढेर गएको बताएका छन् । अधिकांशले तापमानमा बदली भएको र मनसुन तथा हिउँदे वर्षा घटिरहेको बताएका छन् ।
जलवायु परिवर्तनमा महिलाका मुद्दा पहिचान गरेर एकीकृत नीति बनाउन सरकारको भूमिका महत्त्वपूर्ण हुन्छ । तर, अहिलेको सन्दर्भमा न त स्थानीय तहमा महिलाको उपस्थिति उल्लेख्य हुन सक्यो, न त प्रदेश र संघीय सरकारमा । महिलाको अर्थपूर्ण सहभागिता कम हुँदा महिलाको नीति निर्माणमा हस्तक्षेप हुन सकेको छैन ।
नेपालमा जलवायु परिवर्तनसम्बन्धी सातवटा नीतिमध्ये तीनवटा नीतिले मात्र जलवायु परिवर्तनले महिलालाई प्रभावित बनाएको स्वीकारेको छ । अधिकार, स्रोत साधन र शक्तिको असमान वितरणका कारण आर्थिक–सामाजिक वर्गका महिलामा यसको प्रभाव फरक देखिएको तामाङ बताउँछिन् । उनी भन्छिन्, अलैँची कृषक महिलाहरूले आफ्नै रैथाने ज्ञानको प्रयोग गर्दै आएका छन् । नयाँ खालको क्षति भयो भने हामी महिलाहरूको परम्परागत पद्धतिलाई ध्यान दिँदैनौँ । जसका कारण उनीहरू आफू सीमान्तकृतमा परेको महसुस गर्छन् ।
महिला र पुरुष कृषकमा प्राविधिक ज्ञान प्राप्त गर्न पुरुष कृषकलाई जति सजिलो छ, हाम्रो सामाजिक संरचनाले महिला कृषकका लागि छैन । त्यसैले जलवायु परिवर्तनको असर महिलामा धेरै हुन्छ भन्ने तथ्य थुप्रै अनुसन्धानले देखाएको छ।
कृषि क्षेत्रमा सबैभन्दा ठूलो योगदानकर्ता भए पनि थोरै महिला उद्यमशीलतामा संलग्न छन् । यस्तो ज्ञान, क्षमता र सीप विकास तालिमले थप महिला कृषकहरूलाई उद्यमीका रूपमा विकास गर्न मद्दत गर्नेछ । जब महिला उद्यमी बन्छन्, उनीहरू निर्णय लिने भूमिका र आयआर्जन गर्ने गतिविधिहरूमा स्वतन्त्र हुनेछन् । जसले पछि महिलाहरूलाई सामाजिक, धार्मिक, वातावरणीय र आर्थिक पक्षबाट सशक्त बनाउने छ।