पाँचथर फालेलुङ– ८ की सुशीला केरुङका श्रीमान्‌लाई ५ वर्षअघि ‘ब्रेन ट्युमर’ भयो । श्रीमान् थला परेपछि परिवारको जिम्मेवारी सुशीलाको काँधमा पर्‍यो । परिवारको आर्थिक आम्दानीको मुख्य स्रोत अलैँची थियो ।

तर, अलैँची उत्पादन घटेपछि उनको परिवारमा अप्ठ्यारोमाथि अप्ठ्यारो थपियो । ३० रोपनीको अलैँची बगान थियो । राम्रै फल्थ्यो, मूल्य पनि सन्तोषजनक थियो । पहाडको ‘कालो सुन’ भनेर उपनाम पाएको अलैँचीको मूल्यमा गिरावट आयो । यति मात्र हैन, अलैँचीमा रोग कीराले गर्दा उत्पादन र मूल्य घट्न थालेको आठ वर्ष भइसकेको थियो ।

१२०० केजी अलैँची प्रतिमन ८२ हजारमा बेचेर श्रीमान्‌को उपचार गराएको उनी बताउँछिन् । श्रीमान्‌को अप्रेसनका लागि २५ लाख र दोस्रोपटक २१ लाख लागेको खर्च केही वर्षको अलैँचीले धानेको थियो । उपचार गराउँदा पैसा सकियो, ३ वर्षअगाडि श्रीमान् पनि गुमाउनुपर्‍यो ।

२०७६ सालयता अलैँची राम्रो उत्पादन भएको छैन । यस वर्ष त झन् ९ मन मात्र फल्यो । अलैँची फूल फुल्ने सिजनमा खडेरी लागेर राम्रो फल लाग्न सकेन । ‘सुक्खा लाग्यो, बोटमै फूल सुक्यो । कहाँबाट फल लाग्नु र रु,’ उनले भनिन् । नेपालको मुख्य निर्यातजन्य नगदे बालीको रूपमा अलैँची रहेको छ । झण्डै दुई शताब्दीको इतिहास बोकेको अलैँची ‘मसलाको रानी’ नामबाट परिचित छ ।

नेपालमा ४५ जिल्लामा १८ हजार ४०० हेक्टर जमिनमा अलैँचीको व्यावसायिक खेती हुन्छ । अलैँची खेतीमा १ लाख २५ हजार किसान आबद्ध छन् । उच्च गुणस्तरको अलैँची विश्व बजारमा नेपालले कमाएको साख हो तर पछिल्लो समय बेमौसमी वर्षा, उच्च तापक्रम र संक्रमणका कारण यो साख झर्दै गएको नेपाल अलैँची केन्द्रीय महासंघले जनाएको छ । विगतमा प्रतिमन १ लाख ४० हजार रुपैयाँसम्ममा बिक्री हुने गरेको अलैँची पछिल्लो समय २५ देखि २७ हजार रुपैयाँ प्रतिमन खरिदबिक्री भइरहेको छ । अहिलेको मूल्य १० वर्षयताकै कम भएको अलैँची व्यापारी बताउँछन् ।

अलैँचीको बगानमा २०७१ सालदेखि नै रोग तथा कीराको आक्रमण, खडेरी र बोट मर्ने कारणले गर्दा उत्पादन घटेको छ । जसको प्रत्यक्ष असर अलैँचीबाट आफ्नो घरखर्च धानिरहेका झण्डै १ लाख किसान परिवारमा परेको छ । अलैँची धेरै महिलाको आम्दानीको स्रोत हो । त्यसैले अलैँचीको उत्पादनमा आएको ह्रासले सबैभन्दा धेरै मारमा महिला परेका छन् ।

संखुवासभाको धर्मादेवी नगरपालिका– १ की गीता नेपाल बिहे गरेर आउँदा उनको परिवारको ठूलो अलैँची बगान भएको सम्झिन्छिन् । सात वर्षअघिसम्म गाउँमा पानीको अभाव भएको उनलाई थाहा छैन । ‘मेरो ससुराबुवाले २०४२ सालबाट शिक्षण पेसा छोडेर अलैँची व्यवसाय सुरु गर्नुभएको थियो । एउटा बोटबाट एक डोको अलैँचीको थुङ्गा हुन्थ्यो । तर, अहिले एउटा बोटबाट दुईरतीनवटा थुङ्गा मात्र फल्छ,’ उनी भन्छिन्, ‘पहिला रोग पनि थिएन, दुःख खासै थिएन । तर, अहिले अलैँची गोडमेलदेखि फल पाक्ने बेलासम्म निकै सास्ती हुन्छ, उत्पादन घट्दै गएको छ ।’

फल टिप्ने सिजनमा पानी दर्कियो । बेमौसमी पानी र लामो खडेरीले उत्पादन प्रभावित भएको उनी बताउँछिन् । ‘अलैँची लगाउँदा दुःख ज्यादा हुने तर लागत उठाउनै मुस्किल हुन थालेको छ । यस्तै भइरहे बाली फेर्नुपर्ने अवस्था नआऊला भन्न सकिन्न,’ नेपालले भनिन् । उनले अब अलैँची खेती मासेर सुन्तला खेती गर्ने योजना बनाइरहेकी छिन् ।

अलैँची छायाप्रिय तथा बढी पानी चाहिने बाली भए पनि बढी उचाइ, उत्तर मोहडा र छहारी भएको स्थानमा सिँचाइ बिना पनि खेती गर्न सकिने अलैँची विकास केन्द्र फिक्कलका प्रमुख राजन परियार बताउँछन् । उनका अनुसार समुन्द्री सतहबाट ७०० देखि २१०० मिटरसम्मको उचाइ र २००० देखि २५०० मिलिलिटर पानी पर्ने र तापक्रम ८ देखि २० डिग्री सेल्सियससम्म हुने ठाउँमा अलैँची खेती उपयुक्त हुन्छ । बेमौसमी पानी, तुषारो, कालो तुषारो, हिमपातले पनि अलैँचीको उत्पादन र बिरुवालाई असर गर्ने भएकाले यसले गर्दा पनि उत्पादन घटेको उनी बताउँछन् ।

नेपालको कृषि अधिकांश क्षेत्रमा आकाशे पानीमा निर्भर छ । पूर्वको पहाडी जिल्ला ताप्लेजुङको ३० वर्षयताको तथ्यांक हेर्दा ११.४ मिलिलिटरले वर्षा बढेको देखिन्छ । जल तथा मौसम विज्ञान विभाग जलवायु शाखा विश्लेषक डा इन्दिरा कँडेलका अनुसार, ०.०२ मिलिलिटरले पूर्वी जिल्लामा वर्षा बढ्दै गएको देखिएको छ । तर, सबै क्षेत्रमा स्टेसनको पहुँच नहुँदा यकिन गरेर यति नै बढेको भन्नचाहिँ मुस्किल हुने उनको भनाइ छ । संखुवासभा, इलाम र ताप्लेजुङमा जाडोअघिको सुक्खा सिजन मानिने असोज १५ देखि मंसिर १५ सम्म वर्षा बढदै गएको र जाडो मौसममा घटेको पाइएको कँडेल बताउँछिन् ।

अलैँची खेती गर्ने स्थानीय कृषकको अनुभव पनि यस्तै छ । ‘पहिला संखुवासभाको मुडे क्षेत्रमा सुन्तला खेती हुँदैनथ्यो,’ गीताका वृद्ध ससुरा यदुनाथ सुनाउँछन्, ‘अचम्म लाग्छ, अहिले घरको कोठेबारीमा सुन्तला फलेको छ । यस्तो कसरी भएको होला ?

मूल्यमा आएको गिरावट र अलैँचीको उत्पादन गुणस्तरीय नहुँदा खरिदबिक्रीमै समस्या हुन थालेको फिदिमका अलैँची व्यवसायी खगेश्वरी अधिकारी बताउँछिन् । यस्तो भन्ने व्यवसायी मात्र होइन, अलैँची बजार पुर्‍याउँदा लागत नै पो उठ्दैन कि भन्ने पीर रहेको ओयामकी चन्दा गुरुङ बताउँछिन् ।

अलैँचीमा छिर्केफुर्के रोग लाग्नु, पात सुक्नु, गुभो कुहिनु र अलैँचीको भाउ निरन्तर ओरालो लाग्दै जाँदा किसानहरू आर्थिक समस्यामा छन् । घर व्यवहार नचलेपछि कृषिसँगै होम स्टे सञ्चालन गर्न थालेको इलाम रोङ गाउँपालिकाकी कौशिला मोक्तानले बताइन् ।

जलवायुमा आएको परिवर्तनले अलैँची बगान नै प्रभावित बनाएसँगै वर्षौंदेखि अलैँची खेतीमा आश्रित कृषकहरू अब के गर्ने भन्ने अन्योलमा छन् । जलवायु परिवर्तनले कृषिमा पारेको प्रभाव आँखैले देख्न सक्ने गरी बढिरहेको बताउँछन्, नेपाल कृषि राष्ट्रिय बाली अनुसन्धान केन्द्रका वैज्ञानिक डा. ध्रुवराज भट्टराई । ‘अलैँचीकै मात्र उदाहरण हेर्दा पनि उत्पादन घट्नु, रोग बढ्नुको कारण वातावरणमा आएको फेरबदल नै हो ।

अति वर्षा हुनु, पहाडी क्षेत्रमा कीरा बढेर बाली सखाप पार्नु, बेमौसममा उत्पादन हुनु, मौसमी वर्षा कम हुनु जलवायु परिवर्तनको असर भएको उनी बताउँछन् ।

जलवायु परिवर्तनले सबै बालीमा प्रभाव भने पारेको छैन । पहिले नफल्ने ठाउँमा अहिले फलफूल फल्न थालेका छन् । मौसममा आएको फेरबदलका कारण अनुकूलन उत्पादनले कृषकले आम्दानी छिटो लिन सक्ने स्थिति पनि छ । तर अलैँची, चिया, कफी, अदुवाजस्ता एकपटक लगाएर धेरै समय टिकिरहने बोटका लागि भने दीर्घकालीन उपाय सोच्नुपर्ने अवस्था आएको छ ।

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले हरेक स्थानीय तहमा कुन महिनामा कस्ता कृषिजन्य उत्पादन लगाउँदा ठीक हुन्छ भन्ने जानकारीसहितको बुलेटिन प्रकाशित गरेको छ । त्यसमा आगामी महिनाको मौसम कस्तो रहन्छ भन्ने पनि उल्लेख छ । त्यसबाट लाभ लिन सकिने कृषिविज्ञहरू बताउँछन् ।

केन्द्रीय तथ्यांक विभागले ६ वर्षअघि गरेको जलवायु परिवर्तनसम्बन्धी राष्ट्रिय सर्वेक्षणमा सहभागी ८६.१ प्रतिशतले पछिल्लो २५ वर्षमा सुक्खा बढेर गएको बताएका छन् । अधिकांशले तापमानमा बदली भएको र मनसुन तथा हिउँदे वर्षा घटिरहेको बताएका छन् ।

जलवायु परिवर्तनमा महिलाका मुद्दा पहिचान गरेर एकीकृत नीति बनाउन सरकारको भूमिका महत्त्वपूर्ण हुन्छ । तर, अहिलेको सन्दर्भमा न त स्थानीय तहमा महिलाको उपस्थिति उल्लेख्य हुन सक्यो, न त प्रदेश र संघीय सरकारमा । महिलाको अर्थपूर्ण सहभागिता कम हुँदा महिलाको नीति निर्माणमा हस्तक्षेप हुन सकेको छैन ।

नेपालमा जलवायु परिवर्तनसम्बन्धी सातवटा नीतिमध्ये तीनवटा नीतिले मात्र जलवायु परिवर्तनले महिलालाई प्रभावित बनाएको स्वीकारेको छ । अधिकार, स्रोत साधन र शक्तिको असमान वितरणका कारण आर्थिक–सामाजिक वर्गका महिलामा यसको प्रभाव फरक देखिएको तामाङ बताउँछिन् । उनी भन्छिन्, अलैँची कृषक महिलाहरूले आफ्नै रैथाने ज्ञानको प्रयोग गर्दै आएका छन् । नयाँ खालको क्षति भयो भने हामी महिलाहरूको परम्परागत पद्धतिलाई ध्यान दिँदैनौँ । जसका कारण उनीहरू आफू सीमान्तकृतमा परेको महसुस गर्छन् ।

महिला र पुरुष कृषकमा प्राविधिक ज्ञान प्राप्त गर्न पुरुष कृषकलाई जति सजिलो छ, हाम्रो सामाजिक संरचनाले महिला कृषकका लागि छैन । त्यसैले जलवायु परिवर्तनको असर महिलामा धेरै हुन्छ भन्ने तथ्य थुप्रै अनुसन्धानले देखाएको  छ।

कृषि क्षेत्रमा सबैभन्दा ठूलो योगदानकर्ता भए पनि थोरै महिला उद्यमशीलतामा संलग्न छन् । यस्तो ज्ञान, क्षमता र सीप विकास तालिमले थप महिला कृषकहरूलाई उद्यमीका रूपमा विकास गर्न मद्दत गर्नेछ । जब महिला उद्यमी बन्छन्, उनीहरू निर्णय लिने भूमिका र आयआर्जन गर्ने गतिविधिहरूमा स्वतन्त्र हुनेछन् । जसले पछि महिलाहरूलाई सामाजिक, धार्मिक, वातावरणीय र आर्थिक पक्षबाट सशक्त बनाउने छ।

सोमवार, २५ पुस, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो