Trending
सुर्खेतको भेरीगंगा नगरपालिका(२, बाँसघारीकी मनकली खड्का दुई वर्षअघिसम्म खेतबारीमा रासायनिक मल प्रयोग गर्थिन् । रासायनिक मलको प्रयोगले उब्जनी ठीकै हुन्थ्यो, भलै सोचेजस्तो फल्दैन थियो ।
खड्काको भनाइमा युरियाको मात्रा प्रयोग गर्न नजान्दा हलक्क बढ्ने अनि पछि हुसुक्क जल्ने हुन्थ्यो । खड्का भन्छिन्, ‘माटोको गुणस्तर बिग्रिएर डल्ला फुटाउनै गाह्रो त्यसमाथि अनाजमा पनि विषादी हुन्थ्यो ।’ खेतीबारीमा रासायनिक मल र विषादी प्रयोग गर्नु पर्दाका दुःख सम्झिन्छिन् खड्का ।

खासमा खड्काले त्यतिबेला छरछिमेकमा बढ्दो रासायनिक मलको मोहले मात्र होइन, घरको मल प्रयोग गर्ने तरिका नजानेर पनि प्रयोग गर्थिन् । खड्का भन्छिन्, ‘घरको मल प्रयोग गर्न नजानेर सधैँ बजार जाने, युरोया किन्ने अनि खेतबारीमा हालिहाल्ने गर्थ्यौं ।’
वस्तुभाउको मल खेतबारीमा प्रयोग हुन्थेन । जब खड्काले युरिया छोडेर पारङ्गारिक मल प्रयोग गर्न थालिन्, त्यसपछि न खेतबारीको माटो बिग्रियो न बिरुवा हलक्क बढेर मर्ने समस्या नै आयो । खड्का भन्छिन्, ‘अहिले हामीले एक डोको मल हाल्ने ठाउँमा ४ डोको हाले पनि खेती मर्दैन, फस्टाउँदै जान्छ ।’
खड्काको जस्तै दुःख थियो -सिर्जना विकको पनि । खेतीकिसानीबाटै जीविकोपार्जन गरिरहेको विकको परिवार पनि त्यही रासायनिक मलको पीडामा थियो । विकको परिवारले अपनाएको परम्परागत कृषि खेती, प्रयोग गर्दै आएको युरिया मल र रासायनिक विषादीका कारण अपेक्षित उत्पादन लिन सक्दैनथे ।
विकको परिवारलाई रासायनिक मलको विकल्पमा पारङ्गारिक कृषि खेतीप्रति बेखरमात्र होइन, प्रयोगले निम्तिने घातक रोगबाट जोगिन सकिन्छ भन्ने जानकारी नै थिएन । वर्षमा जति उत्पादन भए पनि खान नपुग्ने उनको परिवारलाई खाद्यान्न मात्रै होइन, तरकारीमा समेत बजारको भर पर्नुपर्ने अवस्था थियो । विक भन्छिन्, ‘वर्षौदेखि पुरानै तरिकाले खेती गर्ने अनि खेतीमा बजारको मल प्रयोग गर्ने गरेका थियौं, तरकारी पनि बजारकै खान्थ्यौं ।’

विकको परिवारले खेतीमा रासायनिक मल प्रयोग गर्न छोड्यो । अनि, विकको परिवार अर्गानिक तरकारीमा आत्मनिर्भर मात्रै होइन, भान्सामा खपत भएर बाँकी रहेको मौसम अनुसारको तरकारी छिमेकीको भान्सादेखि नजिकको छिन्चु बजारसम्म पुग्ने गरेको छ ।
बाँसघारी कृषक समूहकी अध्यक्ष खड्का र सचिव विक मात्रै होइन, यो क्षेत्रका महिलाहरूले खेतबारीमा युरिया र विभिन्न विषादी प्रयोग गर्दै आएका थिए । अहिले उनीहरूले खेतबारीमा रासायनिक मल प्रयोग छोडेका छन् । र, विकल्पमा पारङ्गारिक खेती प्रणालीको अभ्यास थालेका छन् ।
थोरै जग्गामा धेरै लाभ लिने गरी बहुबाली खेती प्रणालीमा अग्रसर यी महिलाहरू अहिले तरकारीको जोहो गर्न बाहिर जानु पर्दैन । अर्थात्, आफ्नै घरको करेसाबारीमा उत्पादित तरकारी प्रयोग गरिरहेका छन् । मौसमी तथा बेमौसमी तरकारीसहित सुन्तला, कागती, केरा, आँप, बेसार, अदुवालगायतका बहुबालीहरू लगाएका छन् ।

२५ जना सदस्य रहेको बाँसघारी कृषक समूहका यी महिलाहरूले पारङ्गारिक मलको प्रयोगसहितको कृषि अभ्यासका लागि भिएसओ, राष्ट्रिय कृषक समूह महासंघ, नेपाल युवा संस्था सञ्जाल ९आयोन०, सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) र फ्रेन्ड सर्भिस काउन्सिलको संयुक्त पहलमा कार्यान्वयनमा आएको हो ।
उनीहरूको समावेशी उत्थानशीलता र जवाफदेहिता प्रवर्द्धनका लागि युवा सञ्जाल सुदृढीकरण प्रयास परियोजनाद्वारा सञ्चालित पर्यावरणीय कृषि अभ्यास नमूना स्थलबाट सिकेका हुन् । यसका लागि प्रयास परियोजनाले महिलाहरूलाई आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराएको छ । बाँसघारीमा कृषक नमूना स्थलको स्थापना गरिदिएको छ ।
यी महिला कृषकहरूले कृषि नमूना स्थलमा सिकेका ज्ञान सिपलाई आफ्ना खेतबारीमा पनि लागू गरेका छन् । यसबाट उनीहरूले स्वस्थ र ताजा तरकारी तथा फलफूल उपभोग मात्रै नभई धेरै भएको तरकारी तथा फलफूल बिक्रीबाट आर्थिक उपार्जनसमेत गरिरहेका छन् ।
समूहका सदस्यले विभिन्न प्रजातिका बीउ, कृषि औजार, सिंचाइका लागि पोखरी तथा प्राङ्गगारिक मलका लागि भकारो सुधारमा सहयोग पाइरहेका छन् । नमूनास्थलमा विभिन्न प्रकारका मौसमी, बेमौसमी तरकारी तथा बहुबालीहरू सुन्तला, कागती, केरा, आँप, बेसार, अदुवा खेती र प्राङ्गगारिक खेती गर्ने तरिका, जैविक विषादी, कम्पोष्ट मल र गोठ सुधार स्थलका साथै बनाउने विधिका बारेमा अभ्यास गर्न पाइन्छ ।

बढ्दै गएको जलवायु परिवर्तनले कृषिमा पार्दै गएको असरको न्यूनीकरणका लागि कृषकलाई पारङ्गारिक कृषितर्फ उन्मुख गराउन साझेदार संस्थाको सहकार्यमा राष्ट्रिय कृषक समूह महासंघले सुर्खेतका तीनवटा पालिका वीरेन्द्रनगर, भेरीगंगा र लेकबेँसी नगरपालिकामा विभिन्न कार्यक्रम गरिरहेको महासंघका केन्द्रीय उपाध्यक्ष शशीराम आचार्य बताउँछन् ।
महासंघले किसानलाई अर्गानिक खेतीतर्फ उन्मुख गराउन जलवायु अनुकूल बीउ वितरण, अर्गानिक मौसमी तथा बेमौसमी तरकारी खेती, बहुबाली खेती, पशुपन्छी तथा माछापालन, बजारीकरण, रासायनिक मल र विषादीको न्यूनीकरणका लागि भकारो सुधार तथा जैविक विषादी उत्पादनलगायतका क्षेत्रमा आर्थिक तथा प्राविधिक सहयोग गर्दै आएको छ । चालु आर्थिक वर्षमा २० जना किसानलाई व्यावसायिक कृषिमा लगाउन महासंघका तर्फबाट प्रयास भइरहेको उपाध्यक्ष आर्चायको भनाइ छ ।