विसं २०४५ मा बाग्लुङ जिल्लाको जैमिनी नगरपालिका-७ जैदी धुल्लुका मोहराज शर्माले तीन सय तिरेर काठमाडौंमा मौरीपालन तालिम लिएका उहाँले मौरीपालनमै आफ्नो जीवन बित्छ भनेर सोच्नु पनि भएको थिएन।

वैदेशिक रोजगारीमा पुगेर मनग्य पैसा कमाउने सोचमा काठमाडौं पुगेका उहाँको विदेश जाने सपना त पूरा नभए पनि मनग्य आम्दानी गर्ने सपना भने पूरा भएको छ ।

वैदेशिक रोजगारीको सिलसिलामा काठमाडौंमा बस्ने क्रममा मौरीपालन तालिम सिकेका मोहराज विगत २५ वर्षदेखि गाउँमै मौरीपालन गरेर मनग्य आम्दानी गर्न सफल हुनुभएको छ ।

मोहराजको नाम मौरीपालन व्यवसायकै कारण परिवर्तन भइ हिजोआज उहाँलाई गाउँलेले ‘महराज’ अर्थात् महको राजा भनेर बोलाउने गर्छन् । उहाँको घर र आगन मौरीका आधुनिक घारले ढपक्कै ढाकिएको छ ।

झट्ट हेर्दा सङ्ग्रहालय जस्तै देखिने मौरीका घरबाटै उहाँले वार्षिक १० लाख बराबरको आम्दानी गर्दै आउनु भएको छ । मोहराज अहिले मौरीपालनबाट जिल्लास्तरमा निकै चर्चितसमेत बन्नाका साथै मौरीपालन किसानका लागि अगुवासमेत बन्दै आउनु भएको छ ।

विसं २०४५ मा मुढेघारबाट मौरिपालन गर्दै आएका उहाँले २०५२ सालयता आधुनिक घारमा मौरीपालन गर्दै आउनुभएको छ । मोहराजको घरमा अहिले एक सय ५० मौरीका घार छन् भने बाग्लुङ बजारको क्याम्पस रोडमा ५० घार छन् ।

‘मौरीपालनमै जीवन ब्यथित गरियो अहिले ७० वर्ष काटियो, धेरैलाई मौरीपालनमा अग्रसर पनि गराइयो, अहिले धुल्लु र क्याम्पसगेटमा गरी दुई सय मौरीका घारमा मह उत्पादन भइरहेको छ, मह र मौरीसहितको घार बिक्रीबाट वार्षिक १० लाख आम्दानी हुँदै आएको छ,’ मेहराजले भन्नुभयो, ‘वार्षिक १० क्विन्टल मह, उत्पादन र बिक्री भइरहेको छ, मौसम अनुकुल रहे अझै धेरै उत्पादन हुन्छ, मह बिक्रीका लागि आफूले बजार पुर्‍याउनै पर्दैन, अहिलेसम्म मागअनुसार मह पुर्‍याउनै सकिएको छैन ।’

मौरीसहितको घारलाई नौ हजारमा बिक्री गरिँदै आइएको उहाँको भनाइ छ । यहाँ प्रतिकिलो मह एक हजार दुई सय पर्छ । मह उत्पादनभन्दा पनि घारसहितको मौरी बिक्रीबाट बढी आम्दानी गर्न सकिने मोहराजको अनुभव छ ।

‘कहिले त एक वर्षमै मौरीसहित १०० घारसम्म बिक्री हुन्छ, अहिले त्यति राम्रोसँग घार बिक्री भइसकेका छैनन्, विभिन्न जिल्लामा अनुदानमा घारसहितको मौरी बिक्रीका लागि यहाँबाट कृषि ज्ञान केन्द्रले खरिद गरेर लैजान्छ,’ उहाँले भन्नुभयो, ‘आफ्नो घरमा उत्पादन भएको घारसहितको मौरी गुल्मी, स्याङ्गा, काठमाडौं, चितवनलगायतको स्थानमा बिक्री हुने गरेको छ, मह भने बाग्लुङ बजारमा बिक्री हुन्छ ।’

उपयुक्त याममा एउटै घारबाट एक पटकमा सात देखि आठ केजीसम्म मह काढ्न सकिने बताउँदै मह प्राय कात्तिक, मंसिर, फागुन र जेठमा राम्रो हुने मोहराजले जानकारी दिनुभयो।

स्थानीय सेरेना जातको मौरीबाट उत्पादित मह केही घरबाटै र केही बाग्लुङ बजारबाट बिक्री हुने गरेको छ । बाग्लुङ बजारमा शर्माको बुहारी राधा र धुल्लुमा शर्मिलाले मौरीपालनमा सहयोग गरिरहेका छन् ।

उत्पादन भएको मह उपहारस्वरुप जापान, अमेरिका, अष्ट्रेलिया बेलायतलगायत मुलुकमासमेत पुग्ने गरेको उनको भनाइ छ । यहाँ रहेका विभिन्न वनस्पति र फलफूलका रसबाट बनेको प्राङ्गारिक मह भएकाले धेरैले रुचाउने गरेको बुहारी शर्मिला जानकारीले बताउनुभयो । धुल्लु गाउँमा मोहराजको मौरीपालन देखेर अन्य स्थानीयवासीले समेत घरमै खानका लागि भए पनि मौरीपालन गर्न थालेका छन् । मौरीपालनमा उहाँको पच्चीस लाख लगानी भइसकेको छ ।

मोहराजले व्यवसायको सुरक्षाका लागि घर वरपरको जग्गालाई पर्खालसहित तारबार पनि गरेका छन् । यो व्यवसाय जिल्लाका अन्य मौरीपालन व्यवसायीलाई समेत प्रेरणाको स्रोत बनेको छ ।

सोमवार, २५ पुस, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो