Trending
तनहुँको भिमाद नगरपालिका-६ शीतलचौतारीकी धनु राना सीप सिकेर आत्मनिर्भर हुनुभएको छ । । उहाँले अचार उद्योग सञ्चालन गरी सीपको सदुपयोग मात्र गर्नुभएको छैन स्वरोजगार पनि बन्नु भएको छ ।
रानाले तत्कालीन घरेलु तथा साना उद्योग (पर्यटन तथा उद्योग) तनहुँबाट अचार बनाउने तालिम लिएपछि उद्यमशील र आत्मनिर्भर बन्ने लक्ष्यका साथ उद्योग सञ्चालन गर्नुभएको हो ।
विसं २०७२ देखि राना ‘धनु आचार उद्योग’ सञ्चालन गरी सीप र जागर भए थोरै लगानीमा स्वदेशमै मनग्य आम्दानी गर्न सकिने बताइन् । उहाँले अहिले अचार बेचेर नाम र दाम दुवै कमाउन सफल हुनु भएको छ ।
उनले वार्षिक करिब ५० लाखको अचार बिक्री गरी १० लाख नाफा कमाउने गरेको बताउनुभयो । मासिक चार लाखको हाराहारीमा आचार बिक्री हुने र ८० हजारदेखि ९० हजार मासिक नाफा हुने गरेको उहाँको भनाइ छ ।
आर्थिकरूपमा सबल बन्नका लागि आफैँले सीप सिकेर आत्मनिर्भर हुन सिक्नुपर्ने उनी बताउँछिन् । यही दृढ लक्ष्यले अहिले अचार उद्योगबाट मनग्य आम्दानी गर्न सफल भएको उहाँले जानकारी दिनुभयो ।
रानाले आफ्नै घरमा सञ्चालन गरेको उद्योगबाट विभिन्न ४२ भन्दाबढी परिकारका अचार उत्पादन गर्दै आउनुभएको छ । । ती परिकारमध्ये १० प्रकारका अचार बिक्रीका लागि राखिएको उहाँले बताउनुभयो ।
सुरुमा दुई लाख लगानी गरेर उद्योग सञ्चालन गरेकी उहाँले अचारबाट आएको मुनाफाबाट लगानी वृद्धि गरी २० लाख पुर्याउनु भएको हो । उहाँले गाउँमै उत्पादित कच्चापदार्थबाट प्राङ्गारिक अचार उत्पादन गर्दै आउनुभएको छ ।
उद्योग सञ्चालन गरिएसँगै आफैँ निरन्तररूपमा सवारी चलाएर अचार बेच्न विभिन्न ठाउँ पुग्ने गरेको उहाँले सुनाउनुभयो। तनहुँलगायत कास्की, स्याङ्जा र कहिलेकाहीँ काठमाडौँसम्म अचारको माग आएपछि उहाँ सबै स्थान आफैँ सवारीमा अचार ढुवानी गर्न पुग्ने गरेकी छिन् ।
उद्योगबाट दैनिक कम्तीमा चार सय ग्रामका एक सय ५० भन्दाबढी डिब्बा अचार उत्पादन हुँदै आएको छ । जैविक भएकाले अचारको बजारमा माग पनि उत्तिकै हुन थालेको छ ।
यस व्यवसायले आफूलाई आत्मसन्तुष्टि र कमाइ दुवै मिलेको उनले भनाइ छ । रानाको उद्योगबाट उत्पादित अचार एक सय ३० देखि दुई सय ५० सम्म रहेको छ ।
उद्योगमा आलु, आँप, अकबरे खुर्सानी, अमला, कागती, मेथी, गाँजर, कर्कलो, कोइरालो, काउरो, लप्सी, टमाटर, तामा, सिप्लीगान, पिँडालु, बङ्गुर, चिकेन, भुरा माछा, खसी, काँक्रो, करेला, टिमुर, लसुन, मग्राते, मिक्स, मुला, सुकुटी, रुखकटहर, निउरो, स्कुस, फर्सी, गुन्द्रुक, भट्टमासलगायतका विभिन्न स्वाद ९फ्लेवर० का अचार उत्पादन गर्दै आएको रानाले जानकारी दिनुभयो ।
उद्योगमा उत्पादित अचारको माग स्थानीय बजारमा मात्र नभएर पोखरा, स्याङ्जा, लमजुङ, गोरखालगायतका बजारमा समेत माग बढ्दै गएको रानाले बताउनुभयो । अचार बनाउन धेरै लगानी नचाहिने र बजारमा सजिलै बिक्री हुने गरेको छ ।
सरकारले मेसिन खरिदमा अनुदान दिने र सीप प्रदान गर्ने हो भने भारतीय बजारबाट आउने आचार विस्थापित गर्न सकिने रानाको बुझाइ छ ।
साविक घरेलु तथा साना उद्योगबाट ८० प्रतिशत अनुदानमा एक लाखको मेसिन प्राप्त गरेको उहाँले बताउनुभयो । राना जिल्लाकै नमुना घरेलु उद्यमी भएकाले उनको व्यवसायको सबैले प्रशंसा गर्ने गरेको घरेलु तथा साना उद्योगी महासंघ महिला उद्यमी समिति तनहुँका अध्यक्ष कल्पना गौलीले बताउनुभयो ।
नमुना उद्यमी भएकोले उनको उद्योगलाई गण्डकी प्रदेश सरकारले विनाब्याज पाँच लाख ऋण उपलब्ध गराएको गौलीले जानकारी दिनुभयो। महिला उद्यमी बन्न चाहे पनि रकम अभावले गर्दा व्यावसायिकतातर्फ पाइला चाल्न कठिन हुने गरेको अध्यक्ष गौलीको भनाइ छ ।
उद्योगको प्रचारप्रसार बढेसँगै अत्यधिक माग आउने गरेकाले मागअनुसार उत्पादन बढाउन नसकेको रानाले सुनाइन् । कहिलेकाहीँ कच्चापदार्थको अभावमा मागअनुसार अचार उत्पादन गर्न नसकेको उहाँले बताउनुभयो ।
अहिले उहाँले सात महिलालाई रोजगारी दिनुभएको छ र यसलाई वृद्धि गर्दै २० देखि २५ महिलालाई रोजगारी दिने योजना बनाएको समेत रानाले सुनाउनुभयो ।