स्थानीय बजारमा आज छापावाल सुनको मूल्य एक लाख २ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा आज सुनको मूल्य प्रतितोला ९०० रुपैयाँ वृद्धि भएको हो ।
सोमबार छापावाल सुन प्रतितोला एक लाख एक हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, गत वर्षको फागुन २५ गते हालसम्मकै उच्च मूल्यमा कारोबार भएको थियो । उक्त दिन प्रतितोला एक लाख पाँच हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
यसै वर्षको वैशाख ५ गते एक लाख दुई हजार ५०० रुपैयाँ पुगेको थियो । त्यसयताका दिनहरूमा सुनको मूल्यमा उतरचढाव देखिएको भएपनि पछिल्ला दिनहरूमा भने लगातार मूल्य बढ्दै गएको छ । पुस महिनाको १ गतेदेखि १९ गतेसम्म सुनको मूल्य दुई हजार ७०० रुपैयाँले वृद्धि भएको छ ।
पुस १ गते प्रतितोला ९९ हजार ९०० रुपैयाँमा कारोबार भएको सुन पुस १९ गते प्रतितोला एक लाख दुई हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै तेजाबी सुनको मूल्य पनि लगातार बढ्दै गएको छ । आज तेजाबी सुन प्रतितोला एक लाख दुई हजार १०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
आज चाँदीको मूल्य १० रुपैयाँ वृद्धि भएर एक हजार ४१० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला एक हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । पुस १ देखि १९ गतेको अन्तरालमा चाँदीको मूल्य ४० रुपैयाँले वृद्धि भएको छ ।
पुस १ गते चाँदी प्रतितोला एक हजार ३७० रुपैयाँमा कारोबार भएको थियो ।