कञ्चनपुरको लालझाडी गाउँपालिका–६ चान्देउका सुदराम चौधरीले दोदा नदीको बगरमा तरकारी खेती गर्न लागेको १४ वर्ष भयो । भारतको दिल्लीदेखि मुलुकका धेरै ठाउँमा ज्यालादारी गर्दै हिँड्नुभएका चौधरीले अहिले भने दोदा नदी बगरको कमाइले धनगढीमा घडेरी खरिद गर्नुभएको छ ।
पौने दुई बिघा बगरमा लौकी, काँक्रा, पर्सीलगायतका तरकारी उत्पादन गरी गाउँमै बिक्रीवितरण गरिरहनुभएका चौधरीले वार्षिक रू. साढे तीन लाख बचत गर्नुभएको छ । “सबै खर्च कटाएर आम्दानी रू. साढे तीन लाख जति हुन्छ, बगरको कमाइले छोराछोरी पढाउन, घर खर्च चलाउन पुगेको छ”, उहाँले भन्नुभयो ।
चान्देउका सुदराम जस्तै यहाँका २० जना राना र चौधरी थारु समुदायका स्थानीयले ‘एकजुट बगरखेती किसान समूह’ नै बनाएर बगरमा व्यावसायिक रुपमा तरकारी खेती गरिरहेका छन् ।
“समूहमा मासिक रू. ५० का दरले बचत पनि गछौँं ।” चौधरीले भन्नुभयो, “मलखाद खरिद गर्नेदेखि आयमूलक कामका लागि लगानी गरिन्छ ।” बगरमा तरकारी खेती गर्न थालेपछि मजदूरीका लागि भारतलगायत अन्यत्र जाने बाध्यता हटेको किसानहरु बताउँछन् । बजारीकरणका लागि सरोकारवाला निकायबाट सहयोग भएको अवस्थामा उत्पादनमा समेत वृद्धि हुने उनीहरुको भनाइ छ ।
स्थानीय रामदयाल रानाले पनि एक बिघामा बगरखेती गरेर घरखर्च चलाउन थालेको चारवर्ष भइसकेको छ । “कृषि ज्ञान केन्द्र, पालिका र दातृ निकायबाट बिउबीजन सहयोग भएको छ तर बजारीकरणमा भने समस्या छ”, रानाले भन्नुभयो ।
महेन्द्रनगर, धनगढी, अत्तरियालगायतका बजारमा उत्पादित तरकारी लैजान सवारीसाधनको समस्या रहेको उहाँले बताउनुभयो । बजारसम्म तरकारी पु¥याउने साधन कहीँबाट अनुदानमा पाए उत्पादन अझ वृद्धि गर्न सकिने उहाँको भनाइ छ ।
कृषि ज्ञान केन्द्र कञ्चनपुरले बगर खेती गर्ने किसानलाई बीउबीजन लगायतको सहयोग गर्दै आएकामा यसवर्ष भने अनुदान सहयोग कार्यक्रम नभएको जनाएको छ ।
महेन्द्रनगरस्थित नेपाल राष्ट्रिय समाज कल्याण सङ्घ (एनएनएसडब्लुए)ले भने बगरमा खेती गर्ने किसानलाई बिउबीजन एवं प्राविधिक सहयोग गर्दै आएको छ ।
एनएनएसडब्लुए उत्थान परियोजनाका संयोजक विनोद विक्रम जैरुले न्यून आयस्रोत समुदायलाई सहयोग गर्दै आएको बताउनुभयो । उहाँले यसपटक सोलारबाट सिँचाइका लागि पनि व्यवस्था गरिने बताउनुभयो ।रासस