ट्राफिक प्रहरीले ‘तपाईँको मास्क खोइ ?’ अभियान फेरि सुरु गरेको छ । यतिबेला काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीहरू मास्क खोइ लेखिएका सचेतनामूलक प्ले कार्ड बोकी सडकमा खटिन थालेका छन् ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले कोभिड–१९ को सम्भावित जोखिमलाई ध्यान दिँदै नागरिकलाई सचेत गराउन ठाउँठाउँमा प्लेकार्ड र सचेतनामूलक काम पुनः सञ्चालन गरेको बताउनुभयो ।
“अहिले धेरै जनाले मास्क लगाउन छाडिसक्नुभएको छ । छिमेकी मुलुकमा देखिएको कोभिड–१९ को महामारीको जोखिममा हामी पनि छौँ”, उहाँले भन्नुभयो, “त्यसैले मास्क प्रयोग गर्न नबिर्सौँ भन्ने चेतनाका लागि प्ले कार्डको प्रयोग गर्ने र उहाँहरूलाई सुझाव दिने काम भइरहेको छ ।”
मङ्गलबार काठमाडौँ जिल्ला कार्यालय जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा स्थानीय तहले सार्वजनिक स्थान र सवारी साधनमा हिँड्नेलाई सुसूचित गर्ने र जनचेतना फैलाउनेसम्बन्धी छलफल भएको थियो । ट्राफिक प्रहरीले सोही छलफलपछि मास्क प्रयोग भन्ने सन्देश दिइरहेको उहाँले बताउनुभयो ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँका सूचना अधिकारी देवी पाण्डे खत्रीले अहिले नयाँ भेरियन्टको सङ्क्रमण नदेखिए पनि उच्च सतर्कता अपनाउनका लागि मास्कको प्रयोग बढाउन र रोगको रोकथामका लागि सचेतना बढाउन आग्रह गरिएको बताउनुभयो ।
छिमेकी राष्ट्र चीन र भारतमा फैलिएको कोभिड–१९ को नयाँ भेरियन्ट बीएफ डट सेभेन (बीएफ डट ७) हालसम्म नेपालमा पुष्टि नभए पनि जोखिम उच्च भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. सञ्जयकुमार ठाकुरले बताउनुभयो ।
सिँगान बग्ने, हाँच्छ्युँ धेरै आउने, ज्वरो, खोकी लाग्नुका साथै घाँटी टाउको दुख्ने, र श्वासप्रश्वासमा समस्या आउने तथा स्वाद हराउने कोभिड–१९ का मुख्य लक्षण हुन् । तर कतिपय अवस्थामा लक्षणका आधारमा सामान्य रुघाखोकी, फ्ल्यु र कोभिड–१९ बीचको भिन्नता छुट्टाउन नसकिने डा. ठाकुर बताउनुहुन्छ ।
उहाँले चाडपर्व मनाउँदा भीडभाड नगर्ने, भौतिक दूरी, मास्कको प्रयोग साबुन पानीले हात धुने, हाच्छ्युँ गर्दा कुइनाले मुख छोप्ने र स्यानिटाइजरको प्रयोग गर्न चिकित्सकले सुझाव दिनुभएको छ । कोभिड १९ विरुद्धको दुवै डोज खोप प्रयोग गरिसकेकाले अतिरिक्त मात्रा वा बुस्टर खोप लगाउन उहाँको सुझाव छ ।
तथ्याङ्क अनुसार हालसम्म दुई करोड २३ लाख २४ हजार नौ सय ३३ जनाले पूर्ण मात्रा खोप लगाएका छन् । साथै ७९ लाख ७२ हजार सात सय ९१ जनाले मात्र अतिरिक्त मात्राको खोप लगाएका छन् । मन्त्रालयले सबैमा खोपको पहुँच, एकीकृत र सुदृढ रोग निगरानी र महामारी प्रतिकार्यका लागि निरन्तर प्रयास गर्दै आएको प्रवक्ता डा. ठाकुरको भनाइ छ ।

























