Trending
कैलालीको जानकी गाउँपालिका सुवर्णपुरका उमेश चौधरी बिहानै खाद्य व्यवस्था तथा व्यापार कम्पनीको टीकापुर गोदाममा धान बिक्रीका लागि पुगे ।
सरकारले धानको समर्थन मूल्य तोकेको लामो समयपछि धान खरिद सुरु गरेपछि १६ बिघामा लगाएको धान बिक्रीका लागि चौधरी टीकापुर गोदाम पुगेका हुन् । धान बिक्रीका लागि गएका उनी रातभर त्यहीँ बसे । लाइनमा बसेका उन्को पालो आएन । उनी दुईवटा गोरु गाडामा धान ल्याएर आएको थिए । लाइन धेरै लामो रहेछ,उनले भने । असोजमा भित्र्याएको धान बिक्री गर्न निकै सास्ती छ उनीहरुलाई । जानकी गाउँपालिकाका हिक्मतबहादुर चौधरी पनि धान बिक्री गर्नका लागि दुई रात बिक्री केन्द्रमै बस्नुपरेको बताउछन् ।
बाह्र बिघा १० कट्टा क्षेत्रफलमा धान खेती गरेका उन्ले १० क्विन्टल धान अन्यत्र लगेर बिक्री गरिसकेका छन् । घर खर्च टार्न र हिउँदे खेती गर्न मल खरिदका लागि सस्तोमा धान बिक्री गरेको उनले बताए ।
बजारमा प्रती क्विन्टल दुई हजार चार सय रुपैया दरले धान बेचेर घरको खर्च जोहो गर्नुपर्यो । बाँकी धान बिक्रीका लागि खाद्यको बिक्री केन्द्रमा ल्याएर आएको छु उनेले भने । घरबाटै खाना ल्याएर यतै खाँदै बसेको छु । खुला आकाशमुनि चिसोमा पालो कुरेर बस्नुपरेको उन्को गुनासो छ ।
टीकापुर नगरपालिकाका हरिशरण चौधरी बुधबार मात्रै ट्र्याक्टरमा धान ल्याएर टीकापुर गोदाम पुगेका थिए । उनको पालो एक सय ७९औँ स्थानमा पुग्यो । उनलाई धान बिक्री गर्न तीन दिन यहीँ बस्नुपर्ने बाध्यता छ । चिसो मौसममा खुला आकाशमुनि रात बिताउनुपर्ने बाध्यता छ उनले भने । भजनी नगरपालिकाका बीरेन्द्र चौधरीलेपनि टीकापुर नगरपालिकास्थित धान खरिद केन्द्र पुगेको दुई दिनपछि मात्र धान बिक्री गर्न पाए ।
कम्पनीले धान खरिद गर्न थालेपछि खरिद केन्द्रमा किसानको अत्यधिक भीड छ । दुई महिनासम्म खाद्यलाई पर्खेर बस्नुपर्यो । अहिले पनि धान बिक्री गर्न सकस छ चौधरीले भने। दुईचार रुपैयाँ बढी पाइने आशाले बसेका किसानको धान बिक्री गर्नका लागि अहिले तछाडमछाड भएको छ ।
भजनी नगरपालिका–८ का हरिकुमार चौधरी धान बिक्री गर्न खाद्यको खरिद केन्द्रमा गोरु गाडामा धान भरेर पुगे पनि बेच्न पाएनन् । बर्सातको समयमा आएको बाढीले क्षति पु¥याएको र धान सफा नभएको भन्दै उनको धान खरिद गर्न खाद्यले मानेन । राम्रो नभएको भन्दै मेरो धान खरिद गर्न खाद्यले मानेन । फिर्ता लिएर जाँदैछु, उनले भने । आजसम्म खाद्यको आशामा धान बजारमा बिक्री नगरेर बसे, अब बजारमा लिएर बिक्री गरेर घर जान्छु पालो कुर्नु परेकोमा उन्को दुखेसो छ ।
धान बिक्रीका लागि खाद्यको खरिद केन्द्र पुगेका चौधरीजस्तै धेरै किसान खाद्यले धान खरिद गर्न नमानेपछि निरास भएर फर्किएका छन् । खाद्यले गुणस्तर हेरेर मात्रै धान खरिद गर्ने गरेको छ । पानीले नभिजेको, परालको टुक्रा, पोकटा नमिसिएको ताजा मोटा धान मात्र खरिद गर्न थालिएको छ ।
कम्पनीले जिल्लामा पाँच क्षेत्रबाट धान खरिद सुरु गरेको छ । टीकापुर नगरपालिकामा खाद्यको नगरपालिकाको वडा नम्बर १ टीकापुर शाखा, वडा नं ७ सत्ती, धनगढी उपमहानगरपालिकाको मोहनपुर गोदाम, भजनी नगरपालिका र जोशीपुर गाउँपालिकाबाट धान खरिद थालिएको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले मोटा धानको न्यूनतम मूल्य प्रती क्विन्टल दुई हजार नौ सय ६७ र मध्यम धानको मूल्य तीन हजार एक सय २८ कायम गरेको छ । कात्तिकमै धानको समर्थन मूल्य निर्धारण गरिएको भए पनि धान खरिदको अधिकार नदिँदा खरिद प्रक्रिया सुरु हुन सकेको थिएन ।
कैलालीमा यस वर्षका लागि ४० हजार क्विन्टल धान खरिद गर्न केन्द्रबाट अनुमति प्राप्त भएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडकी सुदूरपश्चिम कार्यालय प्रमुख इन्जिला बस्नेतले जानकारी दिए ।