Trending
कर्णाली करिडोर निर्माणका लागि हुम्लाको खार्पुनाथ गाउँपालिका–१ को लालिबगरमा खटिएका एक सैनिकको भिरबाट लडेर मृत्यु भएको छ। नेपाली सेनाको विकास कार्यदलमा कार्यरत सुर्खेत घर भएका प्राविधिक अमल्दार टीकाराम लामिछानेको मृत्यु भएको हो।
प्रमुख जिल्ला अधिकारी सीता परियारका अनुसार लामिछानेको भिरबाट झण्डै एक सय मिटर तल खसेर मृत्यु भएको हो।
भिरबाट लडेर एक जना घाइते भएका छन्। कर्णाली करिडोर निर्माणका क्रममा भिर छिचोल्नका लागि बम विस्फोट गराउने मेसिन जाँच गर्न जाँदा बिहीबार चिप्लिएर लामिछाने भिरबाट खसेका थिए।
सँगै रहेका हरिराम विष्टलाई बचाउन खोज्दा लामिछानेको मृत्यु भएको प्रजिअ परियारको भनाइ छ। घाइते विष्ट र लामिछानेको शव हेलिकप्टरमार्फत बिहीबार नै सुर्खेत लगिएको छ।
टाउकोमा चोट लागेका विष्टको नेपालगञ्जस्थित सैनिक अस्पतालमा उपचार भइरहेको बताइएको छ।
-रासस