Trending
काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि भारतीय अभिनेता सलमान खानलाई निमन्त्रणा दिएका छन् । ओडिसी इन्टरटेनमेन्ट परिवार लाजिम्पाटले बुधवार सोल्टी होटलमा आयोजना गरेको मन्त्री आले र अभिनेता सलमानबीचको भिडियो संवादमा मन्त्री आलेले सगरमाथा आरोहणका लागि निमन्त्रणा दिएका थिए ।
उक्त संवादका क्रममा मन्त्री आलेले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि आउन आफूले निमन्त्रणा दिएको बताएका थिए । उनले भने, “सलमानजी सगरमाथा विश्वमै सर्वोच्च शिखरका नामले चर्चित छ, सगरमाथा आरोहणसहित सगरमाथा क्षेत्रमा हवाई यात्रा गर्नका लागि म निमन्त्रणा गर्दछु ।”
सोही संवादका क्रममा मन्त्री आलेले नेपालमा तपाईँका धेरै प्रशंसक रहेका र नेपालमा आएर यहाँका विभिन्न पर्यटकीय क्षेत्रमा टिभी सो सुटिङ गर्न पनि खानलाई आग्रह गरे । पछिल्लो समय नेपालमा कोभिड१९ को सङ्क्रमण करिब करिब शून्य जस्तै बनेकाले नेपाल अहिले खुला भएकोसमेत जानकारी गराए ।
नेपाल कला, संस्कृति तथा पर्यटनका दृष्टिकोणले निकै धनी मुलुक भएकाले यहाँको पर्यटन प्रवर्द्धनका लागि भए पनि नेपालमा आएर आफ्ना टिभी सो तथा चलचित्र छायाङ्कन गरिदिन सलमानसहित अन्य कलाकारलाई मन्त्री आलेले आग्रह गरेका थिए । सोही क्रममा मन्त्री आलेले सलमान खानका ‘बिबी हो तो एैसी, तेरे नाम, दबङ, टाइगर अभी जिन्दा हे’ जस्ता चलचित्रका बारेमा प्रशंसा गरेका थिए ।
मन्त्री आलेले दिएको निमन्त्रणा स्वीकार गर्दै भारतीय अभिनेता खानले आफू नेपाल आउने र विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने बताए ।
उनले भने, “म केही समयमा नेपाल आउँछु, तपाईँले दिनु भएको निमन्त्रणाअनुसार सगरमाथा आरोहण गर्नेछु र भ्रमण गर्नेछु ।” यसै गरी अभिनेता खानले मन्त्री आलेको यो प्रस्तावलाई सकारात्मक रूपमा लिँदै नेपाल सुन्दर देश रहेको र यसको पर्यटन प्रवर्द्धनमा आफ्नो तर्फबाट सहयोग गर्ने वचनबद्धता दिए ।
अभिनेता खानले आफू काठमाडौँको दशरथ रङ्गशालामा हुने कार्यक्रमका लागि आगामी जेठ १४ गते नेपाल आउन लागेको जानकारीसमेत दिए । साथै उनले यसअघि पटक पटक नेपाल आउन आग्रह गरिएको भए पनि विभिन्न परिस्थितिका कारण समय नमिलेर आउन नसकेको र यस पटक आउन एकदमै उत्साहित रहेको बताए ।
करिब १० मिनेट भएको उक्त भिडियो संवाद ९भर्चुअल कुराकानी० मा मन्त्री आलेले आफू अभिनेता खानको ठूलो प्रशंसक रहेको र प्रायः अधिकांश चलचित्र हेरेको तथा खान विश्व चर्चित अभिनेता भएका कारण उनले नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुर्याउँदा देशलाई ठूलो फाइदा हुने बताएका थिए ।
आगामी जेठ १४ गते दशरथ रङ्गशालामा हुने ‘दबङ रिलोडेड टुर’का लागि ओडिसी इन्टरटेनमेन्टले भारतीय अभिनेता खानलाई नेपाल ल्याउन लागेको हो । रासस