Trending
काठमाडौँ – संखुवासभाको मादी नगरपालिका– ६ मा विहीबार विहान भएको बस दुर्घटनामा परि मृत्यु हुनेमध्ये १० जनाको पहिचान खुलेको छ । बस दुर्घटनामा मृत्यु हुने १० र घाइते पाँच जनाको पहिचान खुलेको प्रहरीले जानकारी दिएको छ।
मृत्यु हुनेमा सवारी चालक तेह्रथुमको औँशीडाँडाका ३० वर्षीय विपिन निरौला, मादी–४ का सहचालक ३५ वर्षीय उमेश भट्टराई, मादी–५ का ४५ वर्षीय दीपक दाहाल, ५२ वर्षीय श्याम शेर्पा र ५५ वर्षीय भवानी दाहाल रहेका छन् । त्यस्तै मादी–६ का ३८ वर्षीय इन्द्रबहादुर अधिकारी, ३८ वर्षीय आइतबहादुर तामाङ, ३५ वर्षीया सविता राउत कार्की, मादी– ६ की अञ्जना कटुवाल र मादी– ५ की दीक्षा कटुवाल रहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिनुभयो ।
बिहीबार बिहान साढे ७ बजे मादीको ओखरबोटे बजारबाट झापाको दमकतर्फ जाँदै गरेको बस दुर्घटनामा परेको थियो । बस मादी–६ को सातघुम्ती नजिकै दुर्घटनामा परेको हो। बस सडकबाट करिब ३०० मिटर तल खसेको प्रहरीले जनाएको छ।
बस दुर्घटनामा परेको पाँच जनाको जीवितै उद्धार गरिएको प्रहरीले जनाएको छ । घाइते हुनेमा मादी–५ का सुवाष गोले, युवा पोख्रेल र मादी–६ का तुलसा कटुवाल, अम्बिका विक, डम्बरबहादुर कार्की रहेका छन् । प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका पाँचैजनाको नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरेर काठमाडौं ल्याउने तयारी भइरहेको छ ।