सरकारले आजदेखि सुरु गर्ने भनेको कोरोना विरुद्धको फाइजर खोप अभियान स्थगित गरेको छ । तयारी नपुगेको भन्दै केही दिनका लागि उक्त खोप अभियान स्थगित गरेको स्वास्थ्य सेवा विभागले जनाएको छ ।
विभागको खोप शाखाका अधिकृत भरत भण्डारीका अनुसार फाइजर खोपको लागि आवश्यक पर्ने एक किसिमको घोलक र खोप दिनका लागि चाहिने सुई (सिरिन्ज) आइपुगेको छैन । सो सबै सामग्री नआउन्जेलका लागि खोप अभियान स्थगित गरिएको हो । केही दिनमै घोलक र सिरिन्ज सबै आइपुग्ने र अनि खोप अभियान सुरु गर्ने भण्डारीको भनाइ छ ।
फाइजर खोप दिनका लागि फाइजर कम्पनीले बनाएको ०.३३ एमएमको सिरिन्ज आवश्यक पर्दछ । तर सो सिरिन्ज भित्रिन ढिलाइ भएकाले खोप अभियान पछि सार्नु परेको हो । अभियानका लागि ६ लाख ६४ हजारभन्दा बढी मात्रा फाइजर खोप भने नेपाल आइसकेको छ ।
उक्त फाइजर खोप १२ देखि १८ वर्षका विद्यार्थी तथा बालबालिकाहरुलाई दिइने बताइएको थियो । साथै दीर्घरोगीहरुलाई समेत उक्त खोप दिने बताइएको छ । यसअघि यही पुस २ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले, राष्ट्रिय स्वास्थ्य शिक्षा, सुचना तथा सञ्चार केन्द्रले पुस १३ देखि २२ गतेसम्म सुरुआती ८ जिल्लामा फाइजर खोप अभियान सञ्चालन गर्ने सूचना निकालेको थियो ।
गत कार्तिकमा नेपालले कोभ्याक्स सुविधामार्फत् प्राप्त गरेको फाइजर खोपको १ लाख ६०० मात्रा त्यसअघि खोप लगाउन छुटेका १२ वर्ष माथिका दीर्घ रोगी तथा १२ देखि १८ वर्षका केही बालबालिकाहरूलाई उपलब्ध गराइएको थियो ।