Trending
नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सभापति पदका लागि ६ जनाले उम्मदवारी दर्ता गराएका छन् । निवर्तमान सभापति शेरबहादुर देउवाले भर्खरै उम्मेदवारी दर्ता गराएसँगै सभापतिमा उम्मेदवारी गर्नेको संख्या ६ पुगेको हो।
नेपाली कांग्रेसका नेताहरु डा शेखर कोइराला विमलेन्द्र निधि, प्रकाशमान सिंह, कल्याण गुरुङ र युवराज न्यौपानेले उम्मेदवारी दर्ता गराइसकेका छन्। महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि उम्मेदवारी मनोनयन गर्ने क्रममा नेताहरूले आ-आफ्नै टिम र प्यानल बनाएका छन्।
देउवाको प्यानलबाट उपसभापतिमा विजय गच्छदार र पूर्णबहादुर खड्का तथा महामन्त्रीमा डा। प्रकाशशरण महत र प्रदीप पौडेल उम्मेदवार भएका छन् ।
कोइरालाको टिममा उपसभापति धनराज गुरुङ र चन्द्र भण्डारीले उम्मेदवारी दर्ता गरेका छन भने महामन्त्रीको रुपमा गगन थापा र डा मिनेन्द्र रिजालले उम्मेदवारी दर्ता गराएका छन ।
यस्तै सिंहको प्यानलबाट उपसभापतिमा सुजाता कोइराला र महामन्त्रीमा विश्वप्रकाश शर्माले उम्मेदवारी दर्ता गराएका छन् ।
निधिको प्यानलबाट उपसभापतिमा दिव्येश्वरी शाह र महामन्त्रीमा राजाराम कार्कीले उम्मेदवारी दर्ता गराएका छन् ।
बिहान १० बजेदेखि साँझ ५ बजेसम्म राष्ट्रियसभागृहमा सभापतिदेखि केन्द्रीय सदस्यसम्मको उम्मेदवारी मनोनयन दर्ता भएको हो। मनोनयनमाथिको दाबी विरोध र नाम फिर्ताका लागि आइतबार दिउँसो १ बजे सम्मको समय तोकिएको छ। आइतबार अन्तिम नामावली प्रकाशन गरेपछि २७ गते सोमबार बिहान ८ बजे देखि मतदान सुरु हुनेछ।
नेपाली कांग्रेसको विधानअनुसार १६७ सदस्यीय केन्द्रीय कार्यसमिति हुन्छ, जसमा १४औँ महाधिवेशनले १३४ जनालाई निर्वाचित गर्नेछ।
सभापति एक, उपसभापति दुई, महामन्त्री दुई र सहमहामन्त्री आठ पदका लागि निर्वाचन हुनेछ। केन्द्रीय कार्यसमितिमा निर्वाचित एक सदस्यलाई सभापतिको प्रस्तावमा कोषाध्यक्षमा मनोनीत गर्ने व्यवस्था कांग्रेसको विधानमा छ। सभापतिले ३३ जना केन्द्रीय सदस्य मनोनीत गर्न पाउने व्यवस्था छ।
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि चार हजार ७४३ जना महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन्। कांग्रेस केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्माका अनुसार ७७ जिल्ला, भ्रातृ सङ्गठन, शुभेच्छुक संस्था र विदेशस्थित नेपाली जनसम्पर्क समितिहरूबाट महाधिवेशन प्रतिनिधि छानिएर आएका हुन्।