तीन प्रतिवेदन पारित गर्दै नेकपा (एमाले) केन्द्रीय कमिटीको बैठक सकिएको छ ।
तीन दिनसम्म चलेको बैठकमा विधान महाधिवेशनमा प्रस्तुत गर्नका लागि अध्यक्ष केपी ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलद्वारा प्रस्तुत संगठनात्मक प्रस्ताव र उपमहासचिव विष्णु पौडेलद्वारा प्रस्तुत विधान संशोधनसम्बन्धी प्रस्ताव सुझावसहित सर्वसम्मत पारित भएको एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।
एमाले विधान महाधिवेशन असोज १५ गते बिहान ११ बजेदेखि गोदावारीस्थित सनराइज हलमा सुरु हुनेछ । तीन दिनसम्म चल्ने विधान महाधिवेशनमा करिव ५ हजार प्रतिनिधिले भाग लिने भट्टराईले जानकारी दिए ।
महाधिवेशनमा केन्द्रीय कमिटीका सबै पदाधिकारी र सदस्य, केन्द्रीय निकायका सबै पदाधिकारी र सदस्य, प्रदेश कमिटीका सम्पूर्ण सदस्य, केन्द्रीय विभागबाट सचिवसहित ५ जना, घोषित जनसंगठन केन्द्रीय पदाधिकारी र वरिष्ठ सदस्य गरी १० जना, जिल्ला कमिटीका पदाधिकारी, जिल्लाको निर्वाचन क्षेत्रबाट एक महिला, एक दलितसमेतका पदाधिकारी, प्रतिनिधि सभा, राष्ट्रिय सभा, प्रदेश सभा, एमाले पार्टी सदस्य रहेका जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख, एमाले पार्टी सदस्य रहेका पालिकाका प्रमुख उपप्रमुख तथा कतिपय प्रवास कमिटीबाट पनि प्रतिनिधित्व हुनेछ ।
एकीकरणमा सामेल भएकाहरुलाई सम्मानजनक सहभागी गराइने बताउँदै भट्टराईले त्यसबाहेक १० प्रतिशत केन्द्रीय कमिटीले मनोनयन गर्ने जानकारी दिए ।
एमालेले बजेटको प्रतिस्थापन विधेयकमा स्रोत नखुलेको सम्पत्ति लगानी गर्न दिने व्यवस्थाप्रति आपत्ति जनाएको छ भने बैतडीका एमाले नेता जयराज अवस्थीको निधनमा शोक व्यक्त गरेको छ ।