नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रस्ताव गरेको दल नेकपा एमाले (समाजवादी)को नाम फेरिने भएको छ । नेकपा एमाले (समाजवादी)को नाम फेरेर नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का नाममा निर्वाचन आयोगमा शुक्रबार दिउँसो १ बजे निवेदन दर्ता भएको आयोगका प्रवक्ता राजेन्द्र श्रेष्ठले जानकारी दिए ।
आयोगले एमाले राख्दा मूल पार्टीसँग जुध्ने सुझाब दिएपछि नेपाल समूहले फरक नाम प्रस्ताव गरेको हो । गत फागुन २३ गतेको सर्वोच्चको फैसलाले तत्कालीन नेकपा (एमाले) र नेकपा ९माओवादी केन्द्र० व्यूँताएपछि सोही नाममा अर्को दल दर्ता हुन नसक्ने निर्वाचन आयोगले जनाएको छ ।
एमालेबाट अलग भएका नेता माधवकुमार नेपाल पक्षले भदौ २ गते बुधबार नेकपा एमाले (समाजवादी) नाममा अलग दल दर्ताको आवेदन आयोगमा दिएको थियो । आयोगले विहीबार मात्र दल दर्तासम्बन्धी नियमावली संशाधन गरेको थियो ।
नियमावली र ऐन अनुसार नाम, झण्डा र चुनाव चिन्ह दोहोरिएर राख्न नमिल्ने व्यवस्था भएकाले एउटै नाममा दल दर्ता गर्न नमिल्नेगरी आयोगले निर्णय लिने आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए । नेता नेपाल अध्यक्ष रहेको पक्षले एमालेसँग मिल्नेगरी नेकपा एमाले (समाजवादी) नाम दर्ताको लागि आवेदन दिएपछि आयोगले त्यसमा पुनरविचार गर्न सो पक्षलाई आग्रह गरेको थियो ।
आयोगको आग्रहअनुसार माधव पक्षले नाम परिवर्तन गरी पुन आवेदन दिएको हो । महन्थ पक्षको नयाँ दलको नाम पनि उपेन्द्र यादव अध्यक्ष रहेको दलसँग नाम मिल्न गएकाले सो पक्षलाई पनि अर्को नाम प्रस्तावसहित आवेदन दिन आयोगले आग्रह गरेको छ ।