सरकारले गाईजात्रा र श्रीकृष्ण जन्माष्टमीको अवसरमा सार्वजनिक विदा दिने भएको छ ।
बिहीवार सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले यही भदौ ७ गते सोमवार गाईजात्राका अवसरमा काठमाडौँ उपत्यका तथा मुलुकभरका नेवार समुदायका लागि र भदौ १४ गते श्रीकृष्ण जन्माष्टमी पर्वका दिन मुलुकभर सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता एवम् कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका छन ।
यसैगरी आजको बैठकले डिल्लीराम शर्मालाई सचिव पदमा बढुवा गर्ने निर्णय गर्नुका साथै नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्मालाई महारथी दर्जामा पदोन्नती गरी प्रधानसेनापति पदमा नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको प्रवक्ता कार्कीले बताए ।
यस्तै नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष महेन्द्र बिष्टले दिएको राजीनामा गएको साउन २२ गतेबाट लागु हुने गरी स्वीकृत गरेकोसमेत प्रवक्ता कार्कीले जानकारी दिए ।