भरतपुर महानगरपालिका-५ समिचोकस्थित नेपाल एग्रोभाइन प्रालिको फर्ममा फलेको स्ट्रबेरीले यतिबेला पर्यटकको ध्यान तानेको छ।

विगत पाँच वर्षदेखि व्यावसायिक रूपमा सञ्चालन हुँदै आएको यस फर्मले स्ट्रबेरीखेतीसँगै एग्रो-टुरिजम प्रवद्र्धनलाई प्राथमिकता दिँदै आएको छ।

फर्मका सञ्चालकमध्येका प्रमुख ससन देवकोटा नौ वर्षअघि अमेरिका बसाइबाट नेपाल फर्किएका हुन्। अमेरिकामा उच्च शिक्षा हासिल गरी उनले एग्रो-टुरिजम मोडलमा आधारित कृषि व्यवसाय सुरु गरेका हुन्। ‘हामीले एग्रो-टुरिजम मोडलमा स्ट्रबेरी फर्म सञ्चालन गरेका छौँ। यहाँ आउने आगन्तुकले आफैँ स्ट्रबेरी टिपेर लैजान सक्छन्’, उनले भने।

स्ट्रबेरीखेती एक बिघा क्षेत्रफलमा फैलिएको छ भने समग्र फर्म पाँच बिघामा विस्तार गरिएको छ। फर्ममा चार जना स्थायी कर्मचारी कार्यरत छन् भने दैनिक ज्यालादारीमा आठदेखि १० जनासम्म कामदार खटिने गरेका छन्। यस वर्षदेखि आधुनिक तरीकाबाट स्ट्रबेरीसँगै टमाटर, क्याप्सिकम र खोर्सानी खेतीसमेत सुरु गरिएको छ।

देवकोटाका अनुसार यहाँ स्ट्रबेरी उत्पादनको मुख्य समय करिब ५० दिनसम्म रहन्छ। सुरुवाती वर्षमा अनुसन्धान गर्दै उपयुक्त जात छनोट गरिएको उनी बताउँछन्। विशेषगरी अमेरिकन भेराइटीका स्ट्रबेरी तराई क्षेत्रमा राम्रो हुने भएकाले सोही जात लगाइएको छ।

उक्त बिरुवा मूलतः अमेरिकामा विकास गरिएको र हाल इजिप्टस्थित नर्सरीबाट आयात हुने गरेको उनको भनाइ छ। आगामी वर्षदेखि बिरुवा स्वदेशमै उत्पादन गर्ने योजना रहेको पनि उनले जानकारी दिए।

‘स्ट्रबेरीले अहिले एग्रो-टुरिजमलाई राम्रोसँग प्रवद्र्धन गरेको छ’, उनले भने।

एग्रो-टुरिजममार्फत कृषिसँग प्रत्यक्ष जोडिने अवसर मिल्ने भएकाले बालबालिका तथा विद्यार्थीका लागि यो उपयोगी माध्यम बनेको उनको अनुभव छ। विभिन्न कृषि कलेजका विद्यार्थीले फर्ममा अध्ययन तथा अनुसन्धानसमेत गर्दै आएका छन्। व्यावहारिक शिक्षामा यसले टेवा पुर्‍याएको देवकोटाको भनाइ छ।

देवकोटाका अनुसार पहाडी भेगमा पाइने भुइँ ऐँसेलु जातका स्ट्रबेरी समुद्री सतहबाट करिब १७ सयदेखि १९ सय मिटर उचाइमा राम्रो फल्ने गर्छन्।

‘एग्रो-टुरिजमको सम्भावना नेपालमा धेरै छ’, देवकोटाले भने, ‘अहिले मानिस कृषिसँग जोडिने रहर राख्छन्। केहीले भने पैसा कमाएर खेती छोड्ने अवस्था पनि देखिन्छ। तर जति कमाए पनि अन्ततः खानैपर्छ भन्ने कुरा बिर्सेर खेती छोडेका छन्। हाम्रो टिमको उद्देश्य भने कृषि पढेर कृषिमै रमाउन सकिन्छ भन्ने सोचको विकास गर्नु हो।’

उनले आगामी दिनमा अन्य स्थानमा पनि एग्रो-टुरिजम विस्तार गर्ने योजना रहेको बताए। रासस

आइतवार, २४ फाल्गुन, २०८२ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !