पर्यटकीय नगरी पोखराको गहनाको रूपमा लिइन्छ फेवाताललाई । फेवाताललाई लिएर निकै सुन्दर गीत साहित्य सृजना भएका छन् । आन्तरिक तथा बाह्य पर्यटकको उत्कृष्ट गन्तव्यको रूपमा रहेको फेवातालमा डुङ्गा सयर गरेर पर्यटकले निकै आनन्द लिने गर्दछन् । जति हेरे पनि नथाकिने फेवातालको सुन्दरतामा माछापुच्छ्रेको छाँया प्रकृति प्रेमीका लागि निकै लोभलाग्दो दृश्य हो । फेवातालमा डुङ्गामा सयर गर्दै माछापुच्छ्रे लगायतका हिमशृङ्खलाको सुन्दर दृश्य तालमा हेरेर फर्कन पर्यटक निकै लालयित हुने गरेको पाइन्छ ।

यद्यपि पछिल्लो समय भने यही सुन्दर ताल छेउमा अस्तव्यस्त पुराना डुङ्गाले फेवातालको सुन्दरतालाई घटाइरहेको छ । लामो समय भएका काठका डुङ्गा ताल किनारमा बेवारिसे अवस्थामा रहँदा तालको सुन्दरतामा असर पारिरहेको बताउछन् लेकसाइड निवासी साहित्यकार लक्ष्मण थापा । “फेवातालको सुन्दरता बेचेर धेरै बाँचेका छन्, पोखराको गहना फेवातालको छेउछाउमा पुराना डुङगालाई बेवारिसे छोडिनु गैरजिम्मेवारपन हो ।

यसले फेवातालको सुन्दरतासँगै ताल पुरिने जोखिम पनि बढाउँदै लगेको छ”, उहाँले भन्नुभयो, “यसरी नै पुराना डुङगा अस्तव्यस्त छोड्ने हो भने कालान्तरमा फेवातालले आफ्नो अस्तित्व जोगाउन सक्दैन ।” फेवाताल किनारमा रहेका डुङ्गा वर्षायाममा पानीको सतह बढ्दा तालभित्र हराउने हुँदा ताल पुरिने जोखिम पनि बढ्दै गएको उहाँको भनाइ छ ।

योसँगै थापाले फेवातालसँगै जोडिएको भक्कल भन्ने ठाउँमा सिमपानीको चिसा खोलाले बगाएर ल्याएको माटो फेवातालमा मिसिँदा पनि ताल पुरिने जोखिम बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्नुभयो ।

फेवा डुङगा व्यवसायी सङ्गठनका अध्यक्ष बलराम गिरीले बेवारिसे अवस्थामा ताल किनारमा रहेका डुङ्गालाई वैशाख महिनाभित्र व्यवस्थापन गरिने जानकारी दिनुभयो ।“हामीले हालै बैठकबाट यही विषयमा निर्णय गरेका छौँ, चैत २० गतेबाट अनुगमन गर्छौं र वैशाख महिनाभित्र ताल किनार र तालभित्र रहेका डुङगाको व्यवस्थापन गर्नेछौँ उहाँले भन्नुभयो,।” उहाँका अनुसार अहिले फेवा तालमा आठ घाटबाट (बाराही घाट, स्वीमिङ घाट, गौरीघाट, अम्मटघाट, फिस्टेलघाट, फेवाघाट, बङ्लादी घाट, पारिघाट) डुङगा सञ्चालन हुँदै आएको छ ।

फेवातालका लागि सातसय ६७ डुङ्गा सञ्चालित छन् । बाराही घाटबाट धेरै डुङ्गा सञ्चालन हुने गर्दछ । फेवाताल किनारमा बेवारिसे अवस्थामा रहेका करिब एक सय पचासदेखि दुई सयसम्म डुङ्गा हुन सक्ने उहाँको अनुमान छ । अनुगमनबाट सम्बन्धित डुङ्गा धनीलाई त्यसको उचित व्यवस्थापनका लागि पहल गर्न लगाउने तयारी भएको उहाँले जानकारी दिनुभयो । “हामीले डुबाएर राखेका डुङ्गालाई निकाल्ने मर्मतपछि प्रयोगमा ल्याउन मिल्नेलाई त्यहीअनुसार र नमिल्नेलाई तालबाहिर सम्बन्धित डुङ्गा धनीलाई नै व्यवस्थापन गर्न लगाउने गरी निर्णय गरेका छौँ । अब केही महिनामा ताल छेउमा बेवारिसे डुङ्गा देख्नुहुन्न”, गिरीले भन्नुभयो ।

पोखरा महानगरपालिका–६ का वडाध्यक्ष विष्णुप्रसाद भट्टराईले फेवाताल किनारमा देखिएका पुराना डुङ्गा व्यवस्थापनका लागि सम्बन्धित डुङ्गा व्यवसायीलाई एक महिनाको समय दिइएको बताए । “फेवाताल किनारका बेवारिसे डुङ्गाको विषयलाई लिएर कुरा आएको छ, हामीले त्यसको व्यवस्थापनका लागि एक महिनाको समय दिएका छौँ, त्यो समयभित्र उनीहरूले त्यसको व्यवस्थापन गर्नुभएन भने वडाले नै त्यस्ता डुङ्गाको व्यवस्थापन गर्नेछ ।”

उहाँले डुङ्गा व्यवसायीले आफ्नो डुङ्गा प्रयोगविहीन भएपछि ताल छेउमा राख्दा तालको सुन्दरतामा असर परेकोप्रति वडाले चासो दिएको बताउनुभयो । अध्यक्ष भट्टराईले फेवातालको मुख्य स्थानमा सरसफाइका लागि दुई कर्मचारी राखेर नियमित सफाइ कार्य गरेको र ताल छेउका व्यवसायीलाई पनि ताल र आसपास क्षेत्रमा फोहर नफाल्न सचेत गराइरहेको जानकारी दिनुभयो ।

योसँगै वडा सदस्य पवित्र थापाको संयोजकत्वमा ‘हाम्रो सफा वैदाम’ अभियान सुुरु गरेको उहाँले बताउनुभयो । साथै ताल सरसफाइ र संरक्षणका लागि स्थानीय जलारीलाई पनि सक्रिय बनाएर कार्य गर्ने सम्बन्धमा वडाले निर्णय गरेको उहाँको भनाइ छ ।रासस

सोमवार, ६ चैत्र, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो