रघुगंगा गाउँपालिका-७ चिमखोलामा अवस्थित पर्यटकीयस्थल सोवाङधुरीमा आश्रयस्थल निर्माण भएपछि ओढारमा रात कटाउनुपर्ने अवस्थाको अन्त्य भएको छ।

चिमखोलाका तारा गर्बुजा पुन, लोकिन पुन, गोपिन पुन र हिरे पुनले काठ तथा जस्तापाताको प्रयोग गरेर समुद्री सतहदेखि तीन हजार ८४० मिटर उचाइमा रहेको सोवाङधुरीमा आश्रयस्थल भवन निर्माण गरेका हुन्। सोवाङधुरी घुम्न जाने पर्यटक र पाहुनालाई ओढारमा रात काट्नुपर्ने अवस्थाको अन्त्य गराउनका लागि २० जना क्षमताको आश्रयस्थल निर्माण गरिएको गर्बुजाले बताए।

‘तत्काललाई त्यहाँ जाने पाहुना र पर्यटकले उपभोग गर्न पाउने आश्रयस्थलको भवनमा दीर्घकालमा रेष्टुरेन्ट सञ्चालन गर्न वडा कार्यालयसँग सहमति भएको छ,’ गर्बुजाले भने, ‘सोवाङधुरीबाट प्याराग्लाडिङको परीक्षणको तयारीमा छौँ।’

म्याग्दी र मुस्ताङलाई जोड्ने धौलागिरि आइसफल पदमार्गमा समेटिएको सोवाङधुरीबाट संसारको सातौँ अग्लो आठ हजार १६७ मिटरको धवलागिरि हिमालको फेददेखि चुचुरोसम्मको दृश्यावलोकन गर्न पाइन्छ।

सूर्योदयका साथै गुर्जा, धवलागिरि, अन्नपूर्ण, नीलगिरि, मानापाथी, टुकुचे, माछापुच्छ्रे र मनास्लु हिमशृंखलाको अवलोकन गर्न सकिन्छ। बागलुङ बजार, ढोरपाटन सिकार आरक्ष, पुनहिल, मोहरेडाँडा, मुल्डे, खोपारा, टोड्केका साथै म्याग्दी र पर्वतका ग्रामीण बस्ती, पहाडी भूगोलको मनोरम दृश्य देखिन्छ।

सोवाङधुरी जाने पदमार्गमा पर्ने जंगलमा घोरल, मृगलगायत जनावर र पाँचऔँले, सेदक चिनीलगायत जडीबुटी अवलोकन गर्न सकिन्छ। चिमखोलाको मण्डली युवा क्लबले दुई वर्षअघि चिमखोलादेखि पात्लेखेत-जसलाङ-सिजिखोला-सिजिखर्क-थामखर्क-खोलाखर्क-सिसर्का-तल्लोमेला-उपल्लोमेला-आलेखर्क-नेपाने हुँदै सोवाङधुरी जोड्ने पदमार्ग पहिचान गरेको थियो।

सोवाङधुरीबाट रघुगंऊा गाउँपालिकाको बेगखोला, अन्नपूर्ण गाउँपालिकाको दोवा, भुरुङ तातोपानी, दाना र मुस्ताङको लेते जान सकिन्छ। चिमखोलादेखि हिँड्न सक्नेले एक दिन र बिस्तारै हिँडेर दुई दिनमा सोवाङ धुरी पुग्न सकिन्छ। अघिल्लो पुस्तासम्म चिमखोलावासी बर्खायाममा गाईभैँसी र भेडाबाख्राको गोठ लिएर सोवाङधुरी पुग्ने तथा हिउँदमा गाउँ नजिकैको बेँसीका फाँटमा झर्ने गर्दथे।

नयाँ पहिचान भएको पदमार्ग र सोवाङधुरीको प्रचारप्रसारका लागि ‘दृश्यावलोकन केन्द्र’ स्थापना गरिएको छ। चिमखोला घर भई हाल पोखरामा बसोबास गर्ने तारा गर्बुजा पुन र उनका भाई गोपिन पुनले सोवाङधुरीदेखि २०० मिटर तल क्याम्पिङ गर्ने ठाउँनजिकै पाँच-पाँच सय लिटर क्षमताका दुईवटा ड्रम राखेका छन्। वडा कार्यालयले पनि थप दुई ड्रम राखेको छ।

हिउँ पग्लिएर र आकाशको पानी ड्रममा संकलन हुने व्यवस्था मिलाइएपछि पर्यटकका साथै गोठालालाई सुविधा पुगेको छ। वडा कार्यालयको प्रस्तावमा गाउँपालिकाले गत वर्ष सोवाङधुरीमा सार्वजनिक शौचालय निर्माण गरेको थियो।

यहाँ होटल र रेष्टुरेष्ट नभएकाले बन्दोबस्तीका सामानसहित जानुपर्छ। टुरिजम एजेन्सिज अफ पश्चिमाञ्चल क्षेत्रीय च्याप्टर (टान) र तत्कालीन जिल्ला विकास समितिको अगुवाइमा २०६८ सालमा म्याग्दीको गलेश्वर-राखुभगवती हुँदै धौलागिरि आइसफल पदमार्गको अध्ययन गरिएको थियो।

‍यस पदमार्गले म्याग्दीको रघुगंगा गाउँपालिकाको पिप्ले, भगवती, बेगखोला, दग्नाम, चिमखोला, कुइनेमंगले, अन्नपूर्ण गाउँपालिकाको दोबा, भुरुङ तातोपानी, दानालगायत ठाउँको उच्च पहाडी डाँडाको धुरी हुँदै मुस्ताङको लेते जोडेको छ। रासस

आइतवार, १३ पुस, २०८२ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !