सुनसरीको इटहरी उपमहानगरपालिका-२ र ३ मा रहेको तालतलैया अहिले पर्यटकको आकर्षक केन्द्रका रूपमा विस्तार हुँदै गएको छ। करिब २१ दशमलव पाँच हेक्टर क्षेत्रफलमा फैलिएको तालतलैया विशेषगरी वनभोज स्थलका रूपमा लोकप्रिय बनेको हो।

मुख्य वनभोजको मौसममा दैनिक १२ देखि १५ हजार आन्तरिक तथा बाह्य पर्यटक तालतलैया आउने गरेका तालतलैया व्यवस्थापन समितिका अध्यक्ष गंगाबहादुर रायमाझीले जानकारी दिए। उनका अनुसार दिनमा ५ सयभन्दा बढी पर्यटक घुमघामका लागि आउने गरेका छन्। वनभोजका लागि यहाँ एकैपटक ७० भन्दाबढी समूहले वनभोज खानसक्ने क्षमता रहेकाले वनभोजमा आउनेले दुई-चार दिन अगाडि बुकिङ गराउनुपर्ने उनले बताए।

पर्यटकको आकर्षणलाई ध्यानमा राखी तालतलैया परिसरभित्र छ वटा पोखरी निर्माण गरिएको छ। साथै, पर्यटकको थप सुविधाका लागि दुई वटा मोटरबोट सञ्चालनमा ल्याइएको व्यवस्थापन समितिले जनाएको छ। मङ्सिरदेखि माघसम्म पर्यटकको चाप अत्यधिक हुने गरेको अध्यक्ष रायमाझीले बताए।

उनका अनुसार करिब ४० प्रतिशत पर्यटक भारतका विभिन्न सहर तथा सिरहा, सप्तरी क्षेत्रबाट आउने गरेका छन्। उनले भने, ‘यहाँ आउने पर्यटकका लागि अर्को आकर्षण चिडियाखाना हो, जहाँ दुम्सी, मयुर, गिद्ध, चित्तल, हाँस, घोडा, बाँदरलगायत विभिन्न वन्यजन्तु छन्, यिनै अवलोकन गर्न पर्यटकको सङ्ख्या यो समय बढ्दो छ।’

आर्थिक वर्ष २०८१/८२ मा सहरी विकास मन्त्रालयबाट विनियोजन भएको ८५ लाख बजेटले तालतलैयाभित्र पर्यटकीय संरचना थप निर्माण गरिएको अध्यक्ष रायमाझीले जानकारी दिए। उक्त बजेटबाट शौचालय, चिडियाखानाका थप संरचना, तथा अन्य पर्यटकमैत्री सुविधा निर्माण गरिएको छ।

तालतलैयाभित्र नर्सरी, वाटरफाउन्टेन, बालबालिकाका लागि चिल्ड्रेन पार्क निर्माण गरिएको जनाउँदै उनले स्कुल बिदाका समयमा अभिभावकले बालबालिकालाई खेलाउन ल्याउनेको सङ्ख्या उल्लेख्य रहेको बताए।

स्थानीय व्यापारी चन्द्रकला श्रेष्ठले भनिन्, ‘घर नजिकै पर्यटकीयस्थल रहेकाले साना व्यापारीलाई ठूलो फाइदा पुगेको छ।’

दैनिक रूपमा ५०० सम्म आन्तरिक तथा बाह्य पर्यटक आउने गरेकाले चटपटे, मःम, चाउमिनलगायत परिकार बढी बिक्री हुने भन्दै उनले व्यापार वृद्धि हुँदा आयस्तर सुधार भएको बताइन्।

मोरङको कानेपोखरीबाट साथीसहित घुम्न आएका निरोज थापाले तालतलैया छुट्टीको उपयुक्त गन्तव्य भएको बताए। उनले भने, ‘यहाँ फराकिलो खुला क्षेत्र, बोटिङ, आकर्षक फोटो स्पट, संरचना र फूलबारी भएकाले हामी छुट्टीको समयमा प्रायः यहाँ घुम्न आउने गर्छौं।’

पूर्वक्षेत्रका प्रमुख मनोरञ्जन र वनभोज गन्तव्यमध्ये एकका रूपमा विकसित हुँदै गएको तालतलैया स्थानीय पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याइरहेको छ।

यहाँ रहेका विभिन्न संरचनाको जीर्णोद्धार, जनावरको बासस्थान संरक्षण र पर्यटकीय पूर्वाधार निर्माण तथा प्रवर्द्धनका लागि प्रदेश र सङ्घीय सरकारबाट सहयोग प्राप्त भइरहेको अध्यक्ष रायमाझीले बताए।

तालतलैयाभित्र अहिले घुम्न आउने पर्यटक विश्राम गर्न दर्जनौँ चौतारा, बगैँचा साथै अवलोकनका लागि विभिन्न प्रकारका मूर्तिसमेत सरकारी सहयोगमा निर्माण गरिएको कार्यसमितिले जनाएको छ।

मङ्लबार, १६ मंसिर, २०८२ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान