Trending
पर्यापर्यटनको क्षेत्रमा विश्वलाई चिनाएको चितवन राष्ट्रिय निकुञ्जको एक सिङ्गे गैँडा अहिले क्रिकेटको माध्यमबाट पनि चर्चामा छ ।
त्यही गैँडाको नामबाट स्थापित क्रिकेट क्लब ‘चितवन राईनोज’ ले खेलमार्फत् चितवन र एक सिङ्गे गैँडालाई विश्वसामु चिनाइरहेको छ ।
नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संस्करणबाट खेल्दै आएको चितवन राईनोज दोस्रो संस्करणमा पनि मैदानमा उत्रेको छ । हालसम्म तीन वटा खेल खेलेको राईनोजले दुई जित हासिल गर्दै अग्रस्थानमा छ । पहिलो संस्करणमा चौथो स्थान पाएको राईनोजले यस पटक पहिलो बन्ने दाउमा छ।
चितवन मेडिकल कलेजको भगिनी संस्थाको रुपमा स्थापित चितवन राईनोजले यहाँ बन्दै गरेको गौतमबुद्ध क्रिकेट रङ्गशाला, भरतपुर महानगरसहित समग्र चितवनलाई राष्ट्रिय र अन्तरराष्ट्रिय रुपमा परिचित गराएको महानगर प्रमुख रेनु दाहाल बताउँछिन्।
खेल क्षेत्रमा महानगरले प्राथमिकता दिँदै आएको भन्दै उनले चितवन राईनोज महानगर र चितवनको आफ्नै क्लब भएको बताए । जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले देशका आठ वटा क्लबमध्येको एक क्लब चितवनको रहनु आफैमा गर्वको विषय भएको बताए।
चितवन राईनोज खेल्दै गर्दा यहाँका होटल, रेष्टुरेन्ट र सार्वजनिकस्थलमा खेलप्रेमी रमाइरहेको देख्न सकिन्छ। सडक किनारका पोलमा मात्रै होटल, रेष्टुरेन्ट र सार्वजनिकस्थलमा पनि चितवन राईनोजको लोगो अङ्कित झण्डा फहराएको देखिन्छ। जिल्ला सर्वत्र खेलमय बने जस्तो प्रतित हुन्छ।
होटल सङ्घ नेपालका केन्द्रीय सदस्य सुमन घिमिरे क्लबको नामका कारण जिल्ला र पर्यटनलाई अन्तरराष्ट्रिय रुपमा परिचित गराएको बताए।
टेलिभिजन र सामाजिक सञ्जालमार्फत् चितवन राईनोजको नाम फैलिँदै गर्दा त्यसको प्रत्यक्ष फाईदा पर्यटन क्षेत्रमासमेत पुग्ने उनको भनाइ छ। अरु विषयमा मतभेद देखिएपनि चितवन राईनोजलाई प्रेरणा दिने कुरामा सबै एक ठाउँ उभिएका छन्।
बुधबारको खेलमा प्रत्यक्ष दर्शक बनेका नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनाल जिल्लाको ईज्जत चितवन राईनोजले बढाएको बताए।
अन्य क्लबहरु प्रादेशिकस्तरका भए पनि जिल्लाको नामबाट चितवन राईनोज भएको भन्दै उनले यहाँको खेल क्षेत्रलाई चलायमान बनाउन र राष्ट्रिय तथा अन्तरराष्ट्रिय रुपमा चितवनलाई चिनाउन क्लब सहयोगी भएको बताए।
राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य राजन गौतमले चितवन राईनोजले चितवन जिल्ला र यहाँको एक सिंगे गैंडालाई विश्व जगतमा चिनाएको बताए।
चितवन मेडिकल कलेजले आर्थिक हिसाबले उच्च जोखिम मोल्दै क्लब स्थापना गरेको बताउँदै उनले यसले आम नागरिकसँग मेडिकल कलेजलाई जोड्न समेत सहयोग पुगेको बताए।
चितवन राईनोज क्लब चितवन मेडिकल कलेजको भगिनी संस्था हो। क्लबका अध्यक्ष आयुष न्यौपाने हुनुहुन्छ, भने निर्देशक प्रताप देवकोटा र अरुण कोईराला हुनुहुन्छ। खेल भएका दिन ६ वटा बसले यहाँका प्रशंसक खेल मैदानसम्म लैजाने र ल्याउने गरेको छ । निर्देशक देवकोटा स्वास्थ्यसँगै खेल क्षेत्रलाई प्रवद्र्धन गर्न क्लब स्थापना गरिएको बताए।
भरतपुर महानगरपालिकाले अन्तरराष्ट्रियस्तरको रङ्गशाला बनाइरहेको अवस्थामा चितवन राईनोजको चर्चाले क्रिकेटप्रति यहाँका जनसमुदायलाई आकर्षित गरिरहेको छ। रासस