Trending
पर्वतको कुस्मा र बागलुङको बलेवा बीचको कालीगण्डकी खोँचमा पहिलोपटक नेपालको इतिहासमै सबैभन्दा अग्लो हाइलाइन अभ्यास सम्पन्न गरिएको छ। जर्मनीमा बसोबास गरिरहेका धनकुटा हिलेका शंकर कोइरालाले आफ्नो ‘ड्रिम प्रोजेक्ट’का रूपमा यो साहसिक प्रयास गरेका हुन्।
साहसिक खेलकुद र पर्यटन प्रवर्द्धनको उद्देश्यले गरिएको यो हाइलाइन प्रदर्शन ‘द क्लिफ’ नामक लोकप्रिय एड्भेन्चर हबमा गरिएको हो। द क्लिफका अध्यक्ष राजु कार्कीका अनुसार पहिलोपटक नेपालमै यस्तो उचाइ र लम्बाइमा गरिएको हाइलाइन अभ्यास हो, जसले देशमा साहसिक पर्यटनका नयाँ सम्भावना खोल्नेछ।
शंकर कोइरालाले १५ वर्षदेखि युरोपका विभिन्न देशमा हाइलाइन गर्दै आएका छन्। उनका अनुसार यो परियोजना दुई वर्षको तयारी र समन्वयपछि सम्भव भएको हो। असोज २९ गतेदेखि सुरु भएको यो हाइलाइन अभ्यास कार्यक्रम कात्तिक १ गतेसम्म चलेको छ।
यस साहसिक प्रयासमा ६ सदस्यीय टोली संलग्न छ। तीन नेपाली (शंकर कोइराला, सुलभ चालिसे, सहन महर्जन), एक न्युजिल्यान्डका र दुई जर्मन खेलाडी। उनीहरूलाई नेपाल स्ल्याकलाइन कम्युनिटीले समन्वय र प्राविधिक सहयोग गरेको हो।
४०८ मिटर लम्बाइ र ठूलो गहिराइमा तानिएको हाइलाइनले कुस्मातर्फको हार्नेस जिपलाइन र बलेवातर्फको द क्लिफलाई जोडेको छ। यो परियोजना दक्षिण-पूर्व एसियामा दोस्रो लामो र नेपालकै सबैभन्दा लामो तथा अग्लो हाइलाइन मानिएको छ। पहिलो दिन न्यूजील्यान्डका बेनेट डायलन रेडले सफलतापूर्वक प्रदर्शन गरेका थिए।
खेल हेर्दा डरलाग्दो भएपनि यो पूर्णरूपमा सुरक्षा मापदण्डअनुसार सञ्चालन गरिएको कोइराला बताउँछन्। उनका अनुसार उद्देश्य हाइलाइन र स्ल्याकलाइनबारे जनचेतना बढाउँदै साहसिक पर्यटनमा नेपाललाई नयाँ उचाइमा पुर्याउने हो।
हाइलाइन अभ्यासले स्थानीय खेलाडी र युवाहरूमा आत्मबल, सन्तुलन र एकाग्रता विकासमा मद्दत पुर्याउने मात्र होइन, नेपालका प्राकृतिक दृश्य र भू-सौन्दर्यलाई विश्वसामु चिनाउने माध्यम पनि बन्ने अपेक्षा गरिएको छ। पोखरा र वरपरका क्षेत्रहरूमा यसले आन्तरिक तथा बाह्य पर्यटक आकर्षणमा उल्लेखनीय योगदान पुर्याउने विश्वास आयोजकहरूको छ।
नेपाल स्ल्याकलाइन कम्युनिटीले यस परियोजनाबाट प्राप्त अनुभवका आधारमा आगामी दिनमा देशका अन्य स्थानहरूमा पनि यस्ता एड्भेन्चर परियोजना विस्तार गर्ने योजना बनाएको जनाएको छ।
शंकर कोइरालाले भने, ‘नेपालमा हाइलाइनजस्ता खेलले मात्र होइन, योसँगै जोडिएका स्थानीय व्यवसाय र पर्यटनले पनि नयाँ उचाइ पाउन सक्छन्। यसको दीर्घकालीन प्रभावका लागि सरकारले अध्ययन र पूर्वाधार विकासमा जोड दिनुपर्छ।’
के हो स्ल्याकलाइन र हाइलाइन?
स्ल्याकलाइन भनेको जमिनदेखि ३० सेन्टिमिटरदेखि १ मिटर उचाइमा तानिएको पट्टीमा सन्तुलन मिलाउँदै हिँड्ने खेल हो। यो ध्यान, शरीर नियन्त्रण र लचकता विकास गर्ने लोकप्रिय गतिविधि हो।
हाइलाइन भने २० मिटरदेखि सयौँ मिटर उचाइमा तानिएको डोरीमा सेफ्टी हार्नेस र लिस प्रणालीसहित सन्तुलन गर्दै हिँड्ने अत्यन्त चुनौतीपूर्ण साहसिक खेल हो। पर्वत, पुल वा खोँचमा अभ्यास गरिने यो खेलले मानसिक एकाग्रता र शारीरिक शक्ति दुवैको परीक्षण गर्छ।