Trending
पदयात्राका लागि आकर्षक गन्तव्य शुरु हुने जिल्ला हो कास्की। पर्वत र कास्कीको सिमानामा रहेको नयाँ पुलबाट कास्कीदेखि म्याग्दी र पर्वतका विभिन्न ‘ट्रेकिङ रुट’ मा जाने गरिएको छ।
पर्वतको भूकदेउरालीदेखि कास्कीको घान्द्रुकसम्म नयाँ पुलबाट ‘ट्रेकिङ’ सुरु हुन्छ। सोही नयाँ पुल, पर्वतको डिमुवा, बनौँ, तारे, कास्कीका अन्य स्थान तथा म्याग्दीबाट पनि जान सकिने लामो दूरीको आकर्षक ‘ट्रेकिङ रुट’ हो पर्वतको हम्पाल क्षेत्र। समुन्द्र सतहबाट करिब तीन हजार मिटरको उचाइमा रहेको हम्पाल र माटे लेकको क्षेत्र पदयात्रामा जाने तथा उच्च भागसम्म सवारीमै पुगेर पनि प्राकृतिक सुन्दरताको अनुभूति लिन सकिने प्रख्यात क्षेत्र हो।
लेकाली क्षेत्रमा मगर बस्तीहरू हुँदै जान सकिने यो क्षेत्रमा पुग्नको लागि आकर्षक मानिएको एउटा ‘रुट’ कुश्मा नगरपालिका-१ पाङबाट जलजला गाउँपालिकाको बनौँ हुँदै मोदी गाउँपालिकाको क्याङमा जोडिएर जाने पदमार्ग हो। बनौँबाट केही मिनेटको दूरीमा रहेको क्याङको ठूली देउरालीमा पुगेर सवारी राखेपछि करिब तीन घण्टाको पैदल यात्राबाट हम्पाल क्षेत्रमा पुग्न सकिन्छ। केही विदेशी पर्यटक समेत पदयात्रा गरिरहेको देखिने सिर्फु र आसपासका क्षेत्रबाट पनि ढुङ्गाले चिनेर बनाइएको सहज पदमार्ग हुँदै उक्त गन्तव्यमा पुग्न सकिन्छ।
दशैँमा करिब पाँच घण्टा लामो पदयात्रा गरी फर्किएका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अनिल भट्टराईले धेरै लामो दूरी नभएको सानो, समूहमा पनि जान सकिने, प्राकृतिक सुन्दरताले भरिपूर्ण भएकोले पनि हम्पाल क्षेत्र सबैको रोजाइमा पर्न सक्ने बताए। दसैँ मनाउन काठमाडौँबाट गृह जिल्ला पर्वत आएको बेलामा ‘ट्रेक’ मा निस्किएका उनले दूरी धेरै टाढा नभएकोले हम्पाल क्षेत्रमा प्रचुर सम्भावनाले भरिएको बताए।
‘मध्य पहाडी राजमार्गबाट केही किलोमिटरको यात्रा गरेपछि सहजै आउन सकिनुले पनि धेरैलाई आकर्षण गर्न सक्छ। सवारी सडकको पहुँच कठिन रहेको भए पनि पदयात्राका लागि त यो ठाउँ गज्जब रहेछ’, उनले भने, ‘पर्यटकलाई आकर्षण गर्न प्रचारप्रसार चाहिएको छ। जैविक विविधता राम्रो छ। डाँफे, घोरल, भालु, चितुवा लगायतका वन्यजन्तु तथा औषधिजन्य जडीबुटी हेर्न पाउँदा गज्जब लाग्यो। यहाँको सम्भावनाका बारेमा स्थानीय सरकारले अध्ययन गर्नुपर्छ र राज्यले प्राथमिकतामा राख्नुपर्छ।’ पर्वत सदरमुकाम कुश्मा हुँदै मुस्ताङ जाने पर्यटकहरूलाई उक्त ‘रुट’ मा घुसाउन सक्नुपर्ने डा. भट्टराईले बताए। व्यस्त जीवनलाई छलेर आनन्दले प्रकृतिमा रमाउन हम्पाल क्षेत्र लोकप्रिय रहेको उनको बुझाइ छ।
राष्ट्रिय सभाका पूर्व अध्यक्ष गणेशप्रसाद तिमिल्सिनादेखि उच्च ओहदामा रहेका धेरै व्यक्तिहरूले पदयात्रामार्फत उक्त क्षेत्रको सम्भावनाका बारेमा उजागर भएको जलजला गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्य बताउँछन्। पर्वतबाट विभिन्न ठाउँमा नेतृत्व गर्ने व्यक्तिहरू तथा जलजला र मोदी गाउँपालिकाको प्रयासमा भौतिक पूर्वाधार निर्माणका केही कामहरू भएका भन्दै उनले एक पटक गएर आएकाहरूलाई पटक पटक पदमार्गले तान्ने गरेको बताए।
‘हम्पालको मोदीतर्फको क्षेत्रलाई पर्यटकीय र जलजलातर्फको क्षेत्रलाई धार्मिक गन्तव्य बनाउन खोजिएको छ। यो कालान्जार क्षेत्रमा भारतीय पर्यटक पनि आउने गरेका छन्। मोटर बाटो, विद्युत् लगायतका सुविधा बढाउँदै छौँ’, उपाध्यक्ष आचार्य भन्छन्, ‘पर्यटकलाई खान बस्न समस्या नहोस् भनेर माथिल्लो क्षेत्रमा निःशुल्क रूपमा बस्न पाइने सत्तल निर्माण गरिएको छ। तल्लो क्षेत्रमा प्राकृतिक स्वाद लिन पाउने होटेल छ। कालान्जार क्षेत्र कास्की र म्याग्दीको गाउँपालिकामा पनि जोडिने भएकोले उहाँहरूसँग पनि सहकार्य भइरहेको छ।’
जङ्गलको एक समथर भागमा पानीले भरिएको चाक्लो गरोलाई जलजला भनिन्छ। सोही नामबाट नै जलजला गाउँपालिका नामकरण भएको हो। उक्त स्थानमा गुराँसको एकै रुखमा फरक फरक सात रङका गुँरासहरु फुल्ने, जमिनमा आकर्षक फूलहरूले लहराउने, पदमार्गबाट विभिन्न वन्यजन्तु नियाल्न सकिने, नजिकैबाट हिमशृङ्खला नियाल्न सकिने लगायत विशेषता हम्पाल क्षेत्रमा रहेको स्थानीय समाजसेवी तथा होटेल व्यवसायी टीका पुनले बताए। यो क्षेत्र हुँदै पुनहिल र घोडेपानी जान सकिने भएकोले पनि धेरैको रोजाइमा पर्ने सम्भावना रहेको तथा माथिल्लो क्षेत्रमा निर्माण हुँदै गरेका भौतिक पूर्वाधार ले सम्भावनाको उजागर गर्दै लगेको उनको भनाइ छ।