हरिया अजंगका पहाड। त्यही पहाडका काखमा समथर मैदान। समुद्री सतहबाट चार हजार मिटरभन्दा अग्ला पहाडमा हिजोआज पदयात्राका लागि जाने पर्यटकको सङ्ख्या बढ्दै गएको छ। यो याममा दैनिकजसो पर्यटक पदयात्रा गर्दै पहातडर्फ उक्लिरहेका देखिन्छन्।

अहिले बागलुङको ‘बुकीपाटन’ पनि पदयात्राका लागि उत्कृष्ट गन्तव्य बन्दै गएको छ। पाँच वर्ष अगाडिसम्म गोठाला र वस्तुभाउ मात्रै बस्ने बुकीपाटनमा अहिले आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको हो।

उच्च पहाडी हावापानी, शान्त वातावरण र मनमोहक दृश्यले पर्यटकलाई आकर्षित गरेको छ। गाउँबाट होस् वा सहरबाट युवाहरूको जमातले बुकीपाटन उक्लिने पदमार्गमा चहलपहल देखिन थालेको स्थानीय बताउँछन्। बुकीपाटनमा पुग्ने पर्यटकले नजिकैबाट दर्जनौँ हिमशृङ्खला, गोठाले जीवन देख्न र अनुभूति गर्न पाउने, गर्मीयाममा शीतलता हुने भएकाले युवाहरूमा पदयात्रा (ट्रेकिङ) मोह बढेको स्थानीयको भनाइ छ।

नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा पर्ने बुकीपाटन गत वर्षदेखि बढी चर्चामा आएको हो। ढोरपाटन उपत्यकाबाट करिब साढे चार घण्टाको पैदल यात्रापछि पुग्न सकिने बुकीपाटन तीन हजारदेखि चार हजार ५०० मिटरको उचाइसम्म पर्दछ।

स्थानीयका अनुसार बुकीपाटन चढ्ने याम असारदेखि असोजसम्म मानिन्छ। यो याम बढी मनमोहक हुने भएकाले पदयात्रमा आउने पर्यटक धेरै हुन्छन्। यसअघि ढोरपाटन आउने पर्यटक उपत्यकाबाटै फर्किने गरेकामा हिजोआज बुकीपाटनसम्म उक्लिने गरेका छन्।

आफूहरू बर्खामा वस्तुभाउ लिएर बुकीपाटन उक्लिने र हिउँदमा बेँसी झर्ने गरेको स्मरण गर्दै ढोरपाटन नगरपालिका-९ का गुनबहादुर बुढामगरले पहिले बाहिरी मान्छे खासै नजाने गरेकामा पछिल्लो समय यो याममा दैनिक ५० जना युवा बुकीपाटनसम्म जाने गरेका उल्लेख गरे।

उनले भने, ‘अहिले घुमफिर गर्ने चलन आयो, युवाहरू खुब रमाइलो गर्दै बुकी चढ्छन्। स्टिलका लौरा समातेका, झोला बोकेका, फोटो खिच्दै हिँड्छन्। हामीलाई देखे भने पुराना पुराना कुरा सोध्छन्, जिज्ञासा राख्छन्। कोहीले हाम्रो फोटो खिच्छन् र सञ्चारमाध्यममा देखाउँछु भन्छन्। घुम्न आउनेहरूलाई रमाइलो नै हुन्छ होला, हामीलाई पनि रमाइलो लाग्छ।’

ढोरपाटन उपत्यकाका होटल व्यवसायी धीरेन्द्र घर्ती मगरले पछिल्लो समय बुकीपाटन चर्चामा आएको बताए। पहिले गुमनाम रहेको बुकीपाटनमा अहिले दैनिकजसो पर्यटक ‘ट्रेकिङ’ जाने गरेका उनको भनाइ छ। पोखरा, काठमाडौं, बुटवल, चितवनलगायत ठाउँबाट युवाहरू पदयात्रा गर्न आउने गरेका घर्तीले बताए।

‘बुकीपाटन मनमोहक र आकर्षित छ, यतिका समयसम्म ओझेलमा थियो, अहिले सामाजिक सञ्जाल र सञ्चारमाध्यममा प्रचार हुँदा धेरै पर्यटकको आगमन भएको छ। पहिले उपत्यकाबाट फर्किने पर्यटकहरू अहिले बुकीपाटन उक्लिने गरेका छन्’, उनले भने, ‘ढोरपाटन आउने धेरैजसोले बुकीपाटन जाने तयारी गर्नुहुन्छ।’

तराईमा गर्मी हुँदा शीतलताका लागि बुकीपाटन पदयात्रामा पुग्नेहरु पनि बढ्दै छन्। स्थानीय सरकारले बुकीपाटन पुग्ने पदमार्गलाई थप व्यवस्थित र आकर्षित बनाउनुपर्नेमा पर्यटकहरु जोड दिन्छन्।

पछिल्लो समय बुकीपाटन जाने पर्यटकको सङ्ख्या बढ्दै गएपछि गण्डकी प्रदेश सरकारले चालु आवमा विनियोजन गरेको २० लाख रूपैयाँमा पदमार्गलगायत पूर्वाधार निर्माण छ।

ढोरपाटन नगरपालिका-९ पाखाथरबाट गर्पाछेडासम्मको पाँच किलोमिटर पदमार्ग निर्माण गरिएको पर्यटन तथा उद्योग कार्यालय बागलुङका प्रमुख पारसिंह थापाले जानकारी दिए। पदमार्गसँग विभिन्न ठाउँमा काठेपुल निर्माण गरिएको बताउँदै आगामी दिनमा अन्य संरचना थप्दै जाने योजना रहेको उनको भनाइ छ। रासस

मङ्लबार, १४ अशोज, २०८२ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !