रङ्गीचङ्गी बुकी फूलले भरिएको मनमोहक ठाउँ, छिनछिनमै लुकामारी गर्ने बादल, त्यसमाथि सिरसिर चल्ने हावा पर्यटकलाई चौकीखर्कसम्म तान्न पर्याप्त छन् । स्थानीयहरु यो ठाउँलाई चुङ्री भन्छन् । यही चुङ्री केही समययता प्रकृतिप्रेमीका लागि गन्तव्य बन्दै गएको छ ।

हरिया डाँडामा सुस्ताउँदै प्राकृतिक सुन्दरतामै झुम्न रमाउनेका लागि यो अनुपम थलो हो भन्दा फरक पर्दैन । उत्तरतर्फ फैलिएका हिमशृङ्खला र भेडीगोट पर्यटकका लागि भुल्ने बाहना बनिदिन्छन् । बागलुङ र पूर्वीरुकुमको सीमा क्षेत्रका गोठला र भेडा डुल्ने समुन्द्री सतहदेखि करिब चार हजार मिटरको उचाइको चौकीखर्क गत वर्षसम्म धेरैका लागि अपरिचित जस्तै थियो । तर विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत प्रचारप्रसार हुन थालेपछि बाहिरी मानिसका लागि यो परिचित बन्दै गएको छ ।

राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत दुई जिल्लाको सिमाना पातीहाल्नेदेखि सहज रुपमा चौरीलेकमा पुग्न सकिने हुँदा पछिल्लो समय दैनिक पर्यटक आउने गरेका छन् । लेकाली हावापानी र पोषिलो घाँस पाइने हुँदा वर्षौँदेखि बागलुङ, पूर्वीरुकुम, रोल्पा र म्याग्दीका गोठालाहरु वर्खाको समयमा यहाँ आउने गर्छन् ।

पातीहाल्नेदेखि करिब आधा घण्टा गाडीको यात्रा र साढे दुई घण्टा पैदल यात्रापछि चौकीखर्क लेकमा पुग्न सकिन्छ । दुई जिल्लाको संगमस्थलका रुपमा रहेको चौरीखर्कमा पर्यटकको चहलपहल हुन थालेपछि गोठालाहरु अहिले दङ्ग छन् । पहिले सुनसान हुने उक्त ठाउँमा अहिले डाँडैभरी पर्यटक भरिने गरेको बागलुङको निसीखोला गाउँपालिका–६ का गोठाला भागवीर घर्ती मगरले बताए ।

‘गत वर्ष भदौमा हो जस्तो लाग्छ १२-१५ जनाको टोली चौरीखर्कमा आएको थियो, त्यसपछिका दिनमा यहाँ आउनेहरु बढ्दै गरेको देखिन्छ’, उनले भने । आफू जेठको अन्तिम साता गोठ लिएर चौरीखर्क आएको भन्दै असारमै महिनामै सयौँ पर्यटक लेकमा आइसकेको घर्ती मगरले बताए ।

‘यो लेक त गोठालाका लागि प्यारो थियो, तर अहिले त घुम्न आउने मान्छेहरुलाई पनि राम्रो लाग्न थालेछ, कोही बिहान आएर साँझ फर्किन्छन् त कोही एक-दुई दिन टेण्ट टाँगेरै बस्छन्’, घर्ती मगरले भने, ‘अहिले दैनिक एक सय मान्छे आउने गरेका छन्, बिदा हुँदा त यहाँको डाँडाहरु सबै मान्छेले भरिन्छन्, उनीहरुले भेडाका बथान, फूल, गोठ र हामी गोठलाहरुसँग फोटो खिच्न रुचाउँदा रैछन् ।’

पर्यटकलाई लक्षित गरी यहाँ अघिल्लो वर्ष पदमार्ग निर्माण भएको छ । वर्खाको समयमा चारैतिर हरियाली देखिने, वनफूल फूल्ने र भेडीगोठ भेटिने हुँदा पर्यटक बढ्न थालेको पूर्वीरुकुमको भूमे गाउँपालिका–१ गोठाला नमसिंह गुरुङले बताए ।

पर्यटन डिभिजन कार्यालय बाँकेका प्रमुख टङ्कनाथ खनालले अघिल्लो वर्ष रु १० लाखमा रुकुमपूर्वको रानीबास–पाइपा हुँदै चौरीखर्क जोड्ने गरी करिब पाँच किलोमिटर पदमार्ग निर्माण गरेको बताए । यस वर्ष पनि पदमार्गसहित थप पूर्वधार निर्माणका लागि लुम्बिनी प्रदेश सरकारले रु २५ लाख विनियोजन गरेको उनको भनाइ छ ।

प्रमुख खनालले भने, ‘गत वर्षदेखि यहाँ आउने पर्यटक बढेका छन्, यस क्षेत्रलाई प्रवर्द्धन गर्न लम्बिनी प्रदेश सरकारले पनि ध्यान दिएको छ, अघिल्लो वर्ष कोइपामा जलाकी निर्माण भएको छ, त्योसँगै पदमार्ग पनि बनेको छ, यसको प्रचारप्रसार गर्ने, पूर्वाधार थप्ने र चौरीखर्कलाई उत्कृष्ट गन्तव्य बनाउने गरी काम भइरहेको छ।’

तुल्सीपुर दाङबाट घुम्न आभएका पारस न्यौपानेले चौरीखर्क लेक निकै मनमोह रहेको प्रतिक्रिया दिए । दाङबाट बुटवल, गुल्मी, बागलुङको बुर्तिवाङ र निसीखोला हुँदै यहाँ आएको उनको भनाइ छ ।

यो याममा दाङमा निकै गर्मी रहेको भन्दै चौरीलेक आएपछि निकै आनन्द आएको न्यौपानेले अनुभव सुनाए । सरकारले पातीहाल्नेदेखि चौरीलेकसम्म पुग्ने विभिन्न ठाउँमा ठाउँ चिनाउने बोर्ड र ठाउँठाउँमा विश्रामस्थल बनाउन सके पर्यटकलाई सहज हुने उनको बुझाइ छ। रासस

बुधबार, ७ साउन, २०८२ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान