Trending
पूर्वको चर्चित पर्यटकीय स्थल मुन्दुम ट्रेलसँग जोडिने ‘रेडपाण्डा तथा थार ट्रेल’ सुरु भएको छ । मुन्दुम ट्रेलको तीनथुम्कीमा पुगेर जोडिने गरी खोटाङको हुर्लुङबाट ‘रेडपाण्डा तथा थार ट्रेल’ अभिनेता दयाहाङ राईले उद्घाटन गरेर सुरु गरिएको हो ।
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ हुर्लुङबाट रुपाकोट हुँदै तीनथुम्कीमा पुगेर मुन्दुम ट्रेलसँग जोडिने ट्रेल अभिनेता राईले उद्घाटन गरेर पदयात्रा सुरु गरिएको छ । ‘रेडपाण्डा तथा थार ट्रेल’मार्फत रुपाकोटबाट बगरेभञ्ज्याङ–छाँगे–सिकुरीभञ्ज्याङ–लहरेमाने–साप्सुधाप–मेरुङ हुँदै तीनथुम्की पार गरेर मुन्धुम ट्रेलको यात्रामा निस्कन सकिने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले बताए । ‘रेडपाण्डा तथा थार ट्रेल’ उद्घाटनसँगै ट्रेलमा पदयात्रा गरेर एक दिन रुपाकोटबाट डाँडामा अभिनेता राईसहितको टिम बास बसेको छ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आयोजनामा वैशाख १ र २ गते दुई दिने रेडपाण्डा तथा थार महोत्सव आयोजना गरिएको थियो । हुर्लुङमा आयोजित महोत्सव वैशाख १ गते नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईले उद्घाटन गरेका थिए ।
गत माघ १ गतेदेखि सुरु गरिएको मुन्धुम ट्रेल भ्रमण वर्ष २०२५ को प्रवद्र्धनमा नगरपालिकाले बैसाख १ र २ गते रेडपाण्डा र थार महोत्सव आयोजना गरेको हो । मुन्धुम ट्रेल आसपासमा पर्ने खोटाङ र भोजपुरका स्थानीय तहले मुन्धुम ट्रेल भ्रमण वर्ष लक्षित विभिन्न कार्यक्रमहरु गरिरहेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले भने मुन्धुम ट्रेल भ्रमण वर्षलाई जोडेर रेडपाण्डा र थार महोत्सव आयोजना गरेको हो । रेडपाण्डा र थारको संरक्षण गर्दै आन्तरिक तथा वाह्य पर्यटकलाई मुन्धुम ट्रेल भ्रमण वर्षप्रति आकर्षित गर्नका लागि महोत्सव गर्ने निर्णय गरिएको मेयर भट्टराईले बताए ।
महोत्सव स्थलमा राई, मगर, ब्राह्मण, खस/क्षेत्री, शेर्पा, तामाङ, गुरुङ लगायतका जातजातीको परिकार, जातीय भेषभुषा, पहिचानजन्य सामग्री लगायत प्रदर्शनमा राखिएको थियो । महोत्सव अन्तरगत रुपाकोटडाँडामा एक रात गोठबास साथै गोठाले जुहारी कार्यक्रम राखिएको मेयर भट्टराईले बताए ।
अभिनेता दयाहाङ राई महोत्सवको प्रमुख आकर्षणको केन्द्र बनेका थिए । महोत्सवका कारण हुर्लुङमा करिब १० हजार मानिसको उपस्थिति रहेको थियो ।