यमुना र गंगा नदी मिसिएको दोभानमा स्नान गर्न पाउँदाको खुसी भक्तजनको मुहारमा प्रष्ट देखिन्छ । टाढाटाढाबाट आएका उनीहरूको शरीर थकित भए पनि यहाँ आइपुग्दाको खुसी उनीहरूको मुहारमा झल्किन्थ्यो ।

एक सय ४४ वर्षपछि भएको महाकुम्भमा पुण्य प्राप्त गर्न आएका लाखौँ भक्त नदीको एक किनारमा बनाइएका स्नानस्थलमा भगवानको नाम जप्दै डुबुल्की मारिरहेका भेटिन्छन् । प्रयागराजमा गंगा र यमुनासँगै सरस्वती नदीको संगम भएको विश्वासले धार्मिक रूपमा यो स्थानलाई विशेष मानिन्छ । यद्यपि हाल सरस्वती नदीको भने अस्तित्व देखिन्न ।

भारतको उत्तराखण्ड राज्यको प्रयागराजमा गत महिनादेखि सुरु महाकुम्भमा आउनेहरूको संख्या दिन प्रतिदिन बढिरहेको महाकुम्भ मेलाका सूचना अधिकारी गगन यादवले जानकारी दिए। दैनिक एक करोडदेखि तीन करोडसम्म भक्तजन आइरहेका छन् । ‘महाकुम्भमा आउनेहरूको गणनाका लागि चोकचोकमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मा आधारित क्यामेरा जडान गरिएको छ । त्यसैका आधारमा आगन्तुकको आकडा अनुमान गरिएको हो । एक दिनमा सबैभन्दा बढी तीन करोडभन्दा बढी भक्तजन महाकुम्भमा आएका छन्’, उनले भने ।

प्रधानमन्त्री नरेन्द्र मोदीले महाकुम्भमा स्नान गरेपछिका दिनमा यहाँ आइपुग्ने भक्तजनको संख्या उल्लेख्य बढेको छ । ‘पछिल्लो पाँच दिनमा भक्तजनको संख्या बढ्दो छ, हामीलाई व्यवस्थापन गर्न कठिन भएको छ’, उनले सुनाए।हालसम्म ४५ करोडभन्दा बढीले महाकुम्भ मेला भरेका छन् । नेपाललगायत विभिन्न देशबाट श्रद्धालु भक्तजन पुगेको उनको भनाइ छ । मेला समापनका दिनसम्ममा ५५ करोड भक्त आउने अनुमान छ ।

महाकुम्भ मेलाबाट नेपालले पनि धार्मिक पर्यटन प्रवद्र्धन गरी लाभ लिन सक्ने सूचना अधिकारी यादवको तर्क छ । महाकुम्भमा आउने अधिकांश भक्तजन अयोध्यास्थित भगवान् रामको मन्दिर र वाराणसीस्थित विश्वनाथबाबाको मन्दिरमा पुगिरहेका छन् । त्यसैगरी, उनीहरूलाई नेपालका प्रसिद्ध तीर्थस्थल पशुपतिनाथ, मुक्तिनाथ र लुम्बिनीलगायत स्थानमा लैजान सकिने जानकारी उनले दिए ।

चुस्त व्यवस्थापन
विश्वका विभिन्न देशबाट महाकुम्भमा सहभागी हुन आउनेको सङ्ख्या अनपेक्षित रूपमा बढे पनि मेला व्यवस्थापन भने चुस्त छ । सबै भक्तजनलाई स्नान गर्न मिल्नेगरी नदी किनारमा व्यवस्थापन गरिएको छ । स्थानीय, राष्ट्रिय, अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका लागि आवासीय सुविधासहितको ‘पडकास्टिङ’ सञ्चालन गर्नेका लागि पनि स्थल बनाइएको छ । साथै आगन्तुकका लागि अस्थायी आवास निर्माण गरिएको छ । सूचना अधिकारी यादवका अनुसार मेला सञ्चालनका लागि हालसम्म भारत सरकारले ७५ अर्ब रुपैयाँ खर्च गरिसकेको छ ।

के हो महाकुम्भ ?
आजभन्दा आठ सय ५० वर्षअघि पहिलो महाकुम्भ मेला आयोजना भएको मानिन्छ। आदिशङ्कराचार्यले महाकुम्भको सुरुआत गरेको विश्वास छ । केही पौराणिक कथाहरूमा कुम्भको आयोजना समुद्र मन्थनपछि हुन थालेको वर्णन पनि पाइन्छ । प्रसिद्ध चिनियाँ यात्री हेनसाङले आफ्नो भारत यात्राका क्रममा कुम्भमेला आयोजना भएको उल्लेख गरेका थिए। हेनसाङका अनुसार राजा हर्षवर्धनले प्रत्येक पाँच वर्षमा नदीहरूको सङ्गममा ठूला कार्यक्रम आयोजना गर्दथे । ती कार्यक्रममार्फत राज्यको सम्पत्तिबाट केही हिस्सा धार्मिक व्यक्तिहरूलाई दान दिन्थे ।

त्यसबाहेक कुम्भको महिमा शिव पुराण, मत्स्य पुराण, पद्म पुराण र भविष्य पुराणमा उल्लेख भएको पाइन्छ । समुद्र मन्थनका क्रममा जब अमृतको कलश निस्कियो तब देवता र राक्षसबीच अमृतको कशल तानातान भयो। सोही सङ्घर्ष कम गर्नका लागि भगवान् विष्णुले मोहिनी रूप लिएका थिए । त्यसपछि जब देवता र राक्षसहरूबीच सङ्घर्ष बढ्न थाल्यो तब इन्द्रदेवका पुत्र जयन्तलाई अमृतको कलश जिम्मा लगाइयो । जयन्त कौवाको रूप धारण गरी राक्षसहरूबाट अमृतकलश खोसेर उड्न थाले । उड्ने क्रममा अमृतका केही थोपा प्रयागराज, उज्जैन, हरिद्वार र नासिकमा खसेको विश्वास गरिन्छ । अमृत खसेका स्थानमा कुम्भमेला हुन थालेको हो । रासस

बुधबार, ३० माघ, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा