नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरमा रहेको ऐतिहासिकस्थल रुद्रपुर गढी पदयात्राको नयाँ गन्तव्यका रूपमा विकास हुँदै गएको छ । हुप्सेकोट गाउँपालिका–५, अन्तर्गत धौवादी क्षेत्रमा पर्ने रुद्रपुर गढी पदयात्राको नयाँ गन्तव्यका रूपमा विकास हुँदै गएको हो ।

पूर्व पश्चिम राजमार्गको दलदलेदेखि करिब २५ किलोमिटरको उत्तरतर्फ रहेको रुद्रपुर गढी पुग्नेको सङ्ख्या अहिले दिनहुँ बढ्न थालेको हुप्सेकोट गाउँपालिका–५, का अध्यक्ष पदमबहादुर रानाले बताए । छोटो दूरीको पदयात्रा गर्न चाहनेको रोजाइमा हिजोआज रुद्रपुर गढी पर्ने गरेको अध्यक्ष रानाले बताए । एक हजार नौ सय ३६ मिटरको उचाइमा रहेको जिल्लाकै अग्लो डाँडा देवचुली जान नसक्नेहरू धेरै जसो रुद्रपुर गढी पुग्ने गरेको उनको भनाइ छ ।

देवचुलीको यात्रा केही लामो हुने गरेपछि छोटो दूरीको पदयात्रामा रमाउन चाहनेहरूको रोजाइमा रुद्रपुर गढी पर्ने गरेको हो । धौवादीको हुरहुरेबाट करिब एक घण्टाको पैदल यात्रा गरी रुद्रपुर गढी पुग्न सकिन्छ । छोटो दूरीको यात्रा भएपछि यहाँबाट जिल्लाको रमणीय पहाडी फाँट, उत्तरतर्फ हिमाली शृङ्खला र दक्षिणतर्फका बस्तीहरूको समेत अवलोकन गर्न सकिने उनले बताए । यति मात्र नभएर रुद्रपुर डाँडाको टुप्पोमा रहेको ऐतिहासिकस्थल रुद्रपुर गढीको अवलोकनसमेत गर्न सकिने हुँदा पदयात्रामा निस्कनेहरूको रोजाइमा रुद्रपुर गढी पर्ने गरेको अध्यक्ष रानाले बताए।

“रुद्रपुरको यात्रामा निस्कनेहरूले रमणीय दृश्य त देख्न पाउँछन् नै, सँगै ऐतिहासिकस्थलको समेत अवलोकन गर्न पाउने हुँदा यहाँ आउनेहरू अहिले बढ्न थालेका छन्,” अध्यक्ष रानाले भने । समुन्द्र सतहदेखि एक हजार आठ सय मिटर उचाइमा रहेको सेन वंशीय राजा रुद्र सेनको गढी आफैँमा ऐतिहासिक महत्व बोकेको स्थानका रूपमा समेत रहेको छ ।

सेन वंशीय राजा रुद्र सेनले विसं १५५० मा पाल्पालाई आफ्नो राज्यको केन्द्र बनाउँदै अघि बढ्ने क्रममा यस गढीको निर्माण भएको इतिहास छ । तर अहिले गढी भएको स्थान झारपातले भरिएको भने संरक्षण अभावमा यहाँको संरचना नष्ट हुँदै गएको छ । यहाँ रहेको दरबारको भग्नावशेषलगायतका संरक्षणको अभाव देखिएको छ ।

रुद्रपुर गढीसम्म पुग्नका लागि धेरैजसो ढलानसहितको पदमार्ग निर्माण गरिएको छ । हुप्सेकोट गाउँपालिकाले पदमार्ग र केही स्थानमा विश्रामस्थलहरू निर्माण गरेको छ । तर पूर्ण रूपमा पदमार्ग निर्माण हुन अझै बाँकी रहेको छ । पदमार्गसहित थप विश्रामस्थल, खानेपानीको व्यवस्थापन र रुद्रपुर गढीको संरक्षण, गढी क्षेत्रमा गढीको इतिहाससहितका परिचय सामग्री राख्ने हो भने यस क्षेत्रको आकर्षण थप बढ्ने पदयात्रामा पुग्नुभएका कावासोतीका वीरेन्द्र पराजुलीले बताए ।

“रुद्रपुर गढी रमणीय लाग्यो, तर थप यसको व्यवस्थापन गर्नुपर्ने देखिन्छ, गढी क्षेत्रको परिचय सामग्री राख्ने र यसको सरसफाइ मात्र गर्ने हो भने थप राम्रो हुने थियो,” पदयात्रामा आउनेको सङ्ख्या बढ्ने थियो,” पराजुलीले भने । रासस

बिहिबार, १८ पुस, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !